१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो। भैरहवाले अब उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग यही शनिबार प्रतिस्पर्धा गर्नेछ। 

भैरहवा गत वर्ष फाइनलमा विराटनगर वारियर्ससँग पराजित हुँदै उपविजेतामा समेटिन बाध्य भएको थियो। पहिलो क्वालिफायरमा मंगलबार काठमाडौं किङ्सलाई नै पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो। ललितपुरसँग पराजित भएपनि काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। तर, त्यसलाई काठमाडौंले सदुपयोग गर्न सकेन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०१ रनको सामान्य लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। भैरहवाका लागि रेन टेन डस्केटले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ३८ बलको सामना गर्दै ५ चौंका प्रहार गरे।

त्यस्तै रविइन्दर सिंहले १९ बलको सामना गर्दै ३ चौंका र १ छक्काको मद्दतमा ३१ रन बनाए। रोहितकुमार पौडेल ९ बलमा ९ र कप्तान शरद भेषावकर १२ बलमा ६ रनमा नटआउट रहे। काठमाडौंका लागि शम्साद शेखले २ तथा प्रदिप साहुले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं किङ्स इलाभेनले २० ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे। उनले २६ बलमा १ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै प्रदिप साहुले २२ बलमा २५ तथा अमित श्रेष्ठले ३२ बलमा १३ रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो रनको आकडा छुन सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले ३, मोहमद नाभिदले २ तथा शरद भेषावकर र अभिनाश बोहोराले एक–एक विकेट लिए।

प्रकाशित: ५ पुस २०७५ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App