१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा परिचयपत्र

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात परिचयपत्र वितरण गर्दै गाउँपालिका प्रमुख भूपेन्द्र राई। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ। ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँपालिकाले बुधबारदेखि निःशुल्क यातायात सेवा परिचयपत्र वितरण सुरु गरेको हो। 

वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रकै सडक यात्राका क्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। 

ज्येष्ठ नागरिकको सहज यात्राका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रा.ली.बीच मंसिर २२ गते सम्झौता भएको छ। सोही सम्झौता अनुसार निःशुल्क यातायात सेवाका लागि परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजार सडक खण्डमा २०७४ साल पुस ३० गतेदेखि यात्रुबाहक सवारीसाधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको हो। गाउँपालिकाभित्रका वृद्धवृद्धालाई निशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको हो।

‘निशुल्क यातायात सेवा गाउँपालिकाभित्रका वृद्धवृद्धाका लागि मात्र हो। ‘यो सेवा गाउँपालिकाभित्रका सडक यात्राकाक्रममा मात्र लागू हुन्छ’गाउँपालिका प्रमुख राईले भने, ‘वृद्धवृद्धाको साथमा भएको टिकटको आधारमा सवारी साधनमा टिकट काट्ने र सोही टिकको ओसी गाउँपालिकामा पेश गरेपछि भाडा भुक्तानी गर्ने यातायात व्यवसायीसँग सहमती भएको छ।’ 

यातायात प्रा.लि. र गाउँपालिकाबीच भएको सम्झौतामा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुबिधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तान दिने, सम्झौता बार्षिकरुपमा नवीकरण गर्ने लगायतका बुँदा उल्लेख गरिएको छ। 

प्रकाशित: ५ पुस २०७५ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App