१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रणनीति तयारीमा अर्थ मन्त्रालय जुट्यो

काठमाडौं - चुलिँदो व्यापार घाटाबाट आत्तिएको अर्थ मन्त्रालयले यसलाई कसरी कम गर्ने भन्ने रणनीति तयार गर्न सरोकारवाला मन्त्रालयलाई छलफलमा डाकेको छ।

गत आर्थिक वर्षमा १२ खर्बभन्दा बढी व्यापार घाटा बेहोरेको मुलुकले चालु आवको पहिलो चार महिना मै यस्तो घाटा साढे चार खर्ब नाघेपछि सरकार वित्तीय संकटमा पर्न सक्ने आशंकासहित अर्थ मन्त्रालय व्यापार घाटा कम गर्ने रणनीति तयारीमा जुटेको हो। 

हरेक महिना व्यापार घाटा तीव्र बढ्न थालेपछि अर्थले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतको सहभागितामा व्यापार घाटा न्यूनीकरणका विषयमा छलफल गरेको थियो। सरोकारवालासँग छलफल गरे पनि अहिलेसम्म व्यापार घाटा न्यूनीकरणको विषयमा कुनै पनि कार्यदल गठन नभएको अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले बताए।  

विभागीय मन्त्रीहरु, अर्थ राजस्व सचिव, उद्योग सचिव, वाणिज्य सचिव सहितको बैठकमा व्यापार घाटा न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा तयार गरेको रणनीतिक कार्ययोजनाबारे छलफल भएको थियो। छलफलमा आ–आफ्नो क्षेत्रको विषयमा जानकारी गराइएको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन्। ‘सेक्टरवाइज के गर्न सकिन्छ भनेर आ–आफ्नो तर्फबाट जानकारी गराइएको छ,’ खतिवडाले भनिन्।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको थियो। उक्त रणनीतिबारे त्यस अन्र्तगतको समितिमा पनि छलफल भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ।

कार्यदल गठन गरेर समाधानको उपाय खोज्ने विषयमा छलफल भएको थियो। साथै, विषयगत रुपमा छुट्टाछुट्टै समिति पनि गठन गर्न सकिने विषय उठेको थियो।

निर्यातको तुलनामा आयातको दर उच्च भएपछि चालु आर्थिक वर्षमा बजेटभन्दा व्यापार घाटाको आकार ठूलो हुने देखिएको छ। पछिल्लो तथ्यांकअनुसार चालु आवको चार महिनामा व्यापार घाटा चार खर्ब ५४ अर्ब पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४० प्रतिशतले बढेको छ। यही हिसाबमा आयात–निर्यातको अनुपात कायम रहने हो भने यो वर्षको बजेटभन्दा व्यापार घाटा ठूलो हुने देखिएको हो। मुलुकको चालु आवको बजेट १३ खर्ब १५ अर्बको रहेको छ।

तथ्यांकअनुसार चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३६.१ प्रतिशतले वृद्धि हुँदै पाँच खर्ब १३ अर्ब पुगेको छ। कुल व्यापारमा निकासीको ५.७ प्रतिशत र आयातको ९४.३ प्रतिशत योगदान छ। यस अवधिमा कुल निर्यात १०.७ प्रतिशतले बढेर २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने आयात ३८.१ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

निकासी सामान्य वृद्धि भए पनि आयात उच्च हुँदा मुलुकको व्यापार घाटा बढ्दै गएको छ। पछिल्लो समयमा पुनर्निर्माणको काम भइरहेको बेला फलामका उत्पादन, मेसिनरी पार्टसको आयात वृद्धि भएको छ। त्यस्तै, धागो, ऊनी गलैँचा, तयारी पोसाक, फलाम तथा फलामका उत्पादन लगायत सामानले निर्यातमा उच्च योगदान गरेका छन्।

प्रकाशित: ४ पुस २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App