१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्। 'यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु', प्रधानमन्त्री ओलीले भनेका छन्।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीको निधनले आफुलाई दुखी बनाएको बताएका छन्। 'पूर्व प्रधानमन्त्री तुलसी गिरीजीको निधनको खवरले दुखी भएको छु। स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु', उनले ट्वीट गरेका छन्।

यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि डा. गिरीको निधनमा दु:ख व्यक्त गरेका छन्। 'पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा वहाँप्रति हार्दिक श्रद्धान्जली र आफन्तजनमा गहीरो समवेदना! फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो! संसार विपरितहरूको एकत्व हो! विपरित प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो! सबैले मनन गरौं!', उनले भनेका छन्।

राप्रपा अध्यक्ष कमल थापाले एक विज्ञप्ति मार्फत गिरी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 'नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु। निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा.गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन। उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु । कमल थापा अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी', विज्ञप्तिमा भनिएको छ।

गिरीको मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा निधन भएको हो। ९३ वर्षीय गिरी कलेजोको समस्याबाट पीडित थिए। मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनी केही दिन अघि मात्र 'डिस्चार्ज' भएर घर गएका थिए।

 

 

 

प्रकाशित: ३ पुस २०७५ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App