१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो। साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एकरदुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ।

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ। ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ। उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ। आज काठमाडौँको न्यूनतम २।५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ। हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो।

साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो। पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो। न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ। रासस

 

प्रकाशित: २ पुस २०७५ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App