२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कमला नदीको भन्दै चुरेबाट ढुंगा निकाल्दै

कमला(सिरहा) - पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको चुरे पहाड १ सय ६४ वटा नदी/खोलाको मुहान हो। जसमध्ये सिरहाका कमला, घुर्मी, गागन, खुट्टी, बलान खोला पनि पर्छन्। अन्य खोला/नदीका तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुन्छन्।

नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग चुरे पहाडले ओगटेको छ। हिमालय उत्पतिका क्रममा करिब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरू त्यत्ति नै बलियो। निरन्तर चुरे दोहनका कारण खोलाहरूले धार परिवर्तन गर्दा बाढी–पहिरोको जोखिम बढ्दो छ।

कमला नदीमा ढुंगा छैन। तर दैनिक करिब सय ट्याक्टर ढुंगा बन्दिपुरस्थित क्रसर उद्योगमा पु-याउने गरिएको छ। ती ढुंगा कमला नदीको नभएर चुरे क्षेत्रबाट उत्खनन गरिएको स्थानीय बासिन्दा बताउँछन्।

चुरे पहाडबाट बगेर आउने भेललाई दुई दशक अगाडिसम्म तराईमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराई–मधेसलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन, बालुवा र गेग्रान लिएर आउँछ। जसले तराई–मधेसमा उब्जनी होइन, बबण्डर मच्चाउने गरेको छ।

एक दशक अघिसम्म धनुषाको चिसापानी तर्फबाट बग्ने कमला नदी धार परिवर्तन गरी अहिले दक्षिणतर्फ कर्जन्हा नगरपालिका–१, बागचौरा र उत्तरायणीतर्फ हानिएको छ। उत्तरायणीस्थित नन्दबाबा सामुदायिक वन क्षेत्र कटान गर्दै कमलाको भंगालो दक्षिण रहेको पूर्व–पश्चिम राजमार्गतर्फ बढिरहेको छ। कर्जन्हा–१ का वडाध्यक्ष मोहन केसीले भने, ‘पछिल्लो समय बढेको चुरे दोहनले कटान पनि तीव्र बनेको छ।’ उनले थपे, ‘मुहानमा(चुरे) दोहन नरोकिए छिट्टै कमला नदीको भंगालो राजमार्गसम्मै पुग्छ।’

सरकारले २०७१ सालमै संरक्षण क्षेत्र घोषणा गरेको गोलबजार–१०, चन्द्रोदयपुरबाट ढुंगा निकाल्ने क्रम नरोकिँदा बस्ती जोखिममा परेको छ। ‘उत्खननले खोला बस्तीतर्फ मोडिएर खेतबारी निलिसक्यो,’ स्थानीय शुक्रबहादुर खुलाल मगरले आँगनको डिलमा उभिएर अगाडिको खोला देखाउँदै भने, ‘त्यो परसम्म मेरो खेत थियो, खोलाले निलिसक्यो। कतिखेर घर निल्ने हो, ठेगान छैन।’

घुर्मी खोला बस्तीतर्फ सोझिँदा उनीसहित यो वडाका ७० घरपरिवार जोखिममा छन्। ‘चुरे फेदीमा रहेको यो बस्ती कसले जोगाइदिने हो,’ स्थानीय पदमबहादुर सुनुवार भन्छन्, ‘प्रहरी, प्रसाशनदेखि स्थानीय सरकार कोही गम्भीर नबन्दा हामीलाई जोखिम बढेको छ।’ मुक्सार–१ पनि चुरे संरक्षित क्षेत्रमै पर्छ। यहाँ पर्ने गागन खोलाबाट ट्याक्टरमार्फत् ढुंगा ओसार्ने क्रम तीव भएपछि स्थानीय बासिन्दा चिन्तित भएका छन्।
ठेक्का कमला नदीको ढुंगा चुरेको

कमला नदी उत्खननका लागि सिरहाको कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले संयुतm रूपमा ठेक्का लगाएका छन्। विकास निर्माण सेवा (मिर्चैया)लाई ६० लाख रुपैयाँमा यस वर्षका लागि ठेक्का दिइएको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले बताए।

कमला नदीमा ढुंगा छैन। तर दैनिक करिब सय ट्याक्टर ढुंगा बन्दिपुरस्थित क्रसर उद्योगमा पु-याउने गरिएको छ। ती ढुंगा कमला नदीको नभएर उत्तर चुरे क्षेत्रबाट उत्खनन गरिएको स्थानीय बासिन्दा बताउँछन्। ढुंगा निकासीबापत नगरपालिकाले लिने कर काट्ने रसिदको ठेली आफूलाई विनोद साहले दिएको कर संकलक हरिलाल माझीले बताए। उनका अनुसार साहले कर्जन्हामा क्रसर उद्योग सञ्चालन गर्छन्। ‘मलाई उहाँले नै यो रसिदको ठेली दिएर कर काट्न जिम्मा दिनुभएको हो,’ माझीले भने, ‘म त अह्राएको काम गर्ने कामदार हुँ, धेरै कुरा खोल्न मिल्दैन।’

चुरे संरक्षित क्षेत्रबाट उत्खनन गरिएका ढुंगा यस भेगका क्रसर उद्योगमा ल्याउने गरिएको स्थानीय बासिन्दा बताउँछन्। जनगुनासो बढेपछि शनिबार अनुगमनमा गएका गणेशमान चारनाथ नगरपालिकाका प्रमुख यादवले ठेकेदारले स्थानीय तहको पुर्जी बनाएर ढुंगाको व्यापार गर्ने गरेको पाइएको बताए। प्रमुख यादवले नागरिकसँग भने, ‘चुरे क्षेत्रका ढुंगा ल्याएर स्थनीय तहको पुर्जी बनाई कमला नदीको ढुंगा भन्दै आएको रहस्य खुलेको छ।’ अनुगमनका क्रममा ६ वटा ट्याक्टर नियन्त्रणमा लिएर ढुंगा झार्न लगाइएको उनले जानकारी दिए।

तर एक स्थानीय भने ठेकेदार, स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा तीन महिनादेखि यस्तो अवैध धन्दा चलिरहेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘अहिले यो धन्दा छताछुल्ल भएको छ।’ चुरेबाट निरन्तर ढुंगा निकासी हुँदा पनि प्रहरी प्रशासनले कुनै रोकटोक नगर्नुले मिलोमतो रहेको प्रष्ट भएको ती स्थानीयको दाबी छ।

बन्दीपुरमै ट्राफिक प्रहरी पोस्ट छ। बन्दीपुर क्षेत्रका सडकमा चौबिसै घण्टा ट्राफिक प्रहरी हुन्छन्। तर ट्याक्टरमा ओभरलोड गरेर ढुंगा ओसारपसार भइरहँदा पनि ट्राफिक प्रहरी चुपचाप बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन्।
कर्जन्हा–१ का वडाध्यक्ष मोहन केसीका अनुसार नदीमा ढुंगा सकिएपछि पनि ढुंगा निकासी भइरहेको छ जुन चुरे क्षेत्रको हो। ‘चुरे क्षेत्रको धनुषा–५ बाट ढुंगा उत्खनन भइरहेको सुनेको छु,’ उनले भने। चुरेमा भइरहेको यो अनियन्त्रित दोहन आफू एउटाको प्रयासले रोक्न सम्भव नभएको उनी बताउँछन्। सम्बन्धित निकायहरूले चासो नदिँदासम्म ‘विनाशलीला’ नरोकिने उनको भनाइ छ।

दुई दशकपछि चुनिएका जनप्रतिनिधिले विकासको लहर ल्याउने जनअपेक्षा थियो। तर उनीहरूले वन र नदीलाई ‘खाने भाँडो’ बनाएको स्थानीय बासिन्दा बताउँछन्। चुरे क्षेत्र दोहन गर्न जनप्रतिनिधिहरू नै संलग्न हुने गरेको उनीहरूको आरोप छ।

 

प्रकाशित: २ पुस २०७५ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App