२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘अब भर्टिकल ग्रोथ हुनुपर्छ’

डेढ दशकदेखि रियल इस्टेट व्यवसायमा संलग्न दीपक कुँवर सफल युवा उद्यमी हुन्। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका कुँवर डेढ दशकदेखि हाउजिङ, ट्रेडिङ, अस्पताल लगायतका व्यवसायमा संलग्न छन्। 

आधा दर्जन बढी कम्पनीका सञ्चालक कुँवरले काठमाडौंको बसपार्कलाई सरकारसँगको साझेदारीमा व्यवस्थित बनाउने अभियानमा छन्। ग्राण्डी अस्पताल, हाउजिङ लगायतका ठूला परियोजना र करिब सात सय घर निर्माण गरेर बिक्री गरेका व्यवसायी कुँवरसँग व्यवस्थित शहरीकरण, मुुलुकमा लगानीको अवस्था, व्यवसायिक वातावरण लगायतका विषयमा नागरिक परिवारका लागि विश्वमणि पोखरेल र दिलिप पौडेलले गरेको कर्पोरेट कुराकानी :

तपाईं इन्टप्रेनर कि इन्जिनियर ? हामीले कसरी चिन्ने ? 

म काम गर्न रुचाउँछु। देश बनाउनु पर्छ भन्ने मान्यता राख्छु ।

कसरी व्यवसायमा आउनु भयो ?

नेपालमा योजनाबद्ध विकास होस् भन्ने चाहने भएकाले इन्जिनियरिङ पढाइ सकाएर स्वदेश फर्किएको हुँ । स्कुल र आइएस्सीसम्मको पढाइ सिद्धार्थ वनस्थलीमा गरेको हुँ । त्यसपछि कोलम्बो प्लान पाएर भारतको इलाहाबादबाट इन्जिनियरिङ पढें । पढाइ सकिनुअघि नै लण्डनमा काम गर्ने अफर आयो तर मैले हामीजस्ता पढेको जनशक्ति विदेश गएर काम गर्ने विषयले मलाई आकर्षित गरेन । ठूलो साहस र आँटले त्यो अफर छाडेर नेपाल फर्कें । लोकसेवाको परीक्षाबाट सरकारी सेवामा प्रवेश गरेँ । सरकारी जागिरमा प्रवेश गरे पनि मेरो भिजनअनुसार अपेक्षित रुपमा काम हुने नदेखेपछि राजिनामा दिएर व्यवसायमा अघि बढाएँ।

किन सरकारी सेवाबाट राजीनामा दिएर व्यवसायमा प्रवेश गर्नुभयो ?

शहरी विकासमा काम गर्ने मेरो रुचि थियो । सरकारी सेवामा परम्परागत मान्यता, आफ्नै रीतिरिवाज, संस्कार, मूल्य, मान्यतामा मेरो सोचअनुसार ‘एडप्ट’ हुन सकिनँ । सरकारी सेवाभन्दा आफ्नै कम्पनीमार्फत् अघि बढाउँ भन्ने लाग्यो । सरकारी कम्पनी भए पनि प्राफिटेबल बनाएर बोनस खाउँ भन्ने योजना थियो । एक्लैको प्रयासले सम्भव हुँदो रहेनछ । दुई वर्ष स्थायी जागिर खाएपछि त्यहाँ भविष्य देखिनँ । एक्टिभ लाइफ नहुने, आफूले जानेको ज्ञान–सीप प्रयोग गर्न नपाउँदा खुशी हुन सकिनँ । सरकारी सेवाप्रति सम्मान हुँदाहुँदै पनि छाड्ने निर्णय गरेँ । 

यहाँको पहिलो व्यवसायिक परियोजना के थियो ?

सरकारी सेवामा जागिर खाँदा नै मैले पढेको विषयअनुसार गाडीको रिपेयरिङ् गर्ने मेसिन राखेको थिएँ । सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने, बनाउने र बेच्ने काम पनि गरेँ । सरकारी सेवाबाट राजिनामा दिएपछि मेरो भित्रदेखिकै काम गर्ने इच्छा रियल इस्टेटमा थियो । त्यहाँबाट बिस्तारै साइड बिजनेसको रुपमा अन्य क्षेत्रमा काम गर्दै ०५६–५७ सालमा घरजग्गा कारोबार (रियल इस्टेट) व्यवसाय सुरु गरेँ । त्यो बेला डाउन भएको घरजग्गा कारोबार ग्रोथ हुँदै थियो । त्यो बेला गोंगबुतिर जग्गा लिएर प्लानिङ गरेर विकास गर्दै यो अवस्थामा आएको हुँ । 

अहिले के-के व्यवसायमा आबद्ध हुनुहुन्छ ?

व्यवस्थित बसोबासका लागि विभिन्न हाउजिङ कम्पनीमार्फत् काम गरिरहेको छु । बसपार्कलाई व्यवस्थित बनाउने काम, ट्रेडिङ, पर्यटन लगायतका क्षेत्रमा आबद्ध छु । सिडी डेभलपर्स प्रालि, आकृति हाउजिङ प्रालि, कृति हाउजिङ प्रालि, लोत्से मल्टिपर्पोज प्रालि, ग्रान्डी इन्टरनेशनल हस्पिटल, बीएस ट्रेडिङ प्रालि, डिएसएस होल्डिङ प्रालि, आभास होटल एन्ड रिसोर्ट लगायतका कम्पनीमार्फत् काम गरिरहेको छु ।

कसरी बसपार्कलाई व्यवस्थित बनाउने काम गर्ने सोच आयो ? 

अस्तव्यस्त गोंगबुको राष्ट्रिय बसपार्कलाई व्यवस्थित बनाउने काममा अग्रसरता लिएको हुँ । ६/७ सय वटा टहरा थिए । १६ वर्षसम्म घाटामा गएको कम्पनी लोत्सेलाई लिएर काम अघि बढाएको हुँ । मैले बसपार्कलाई व्यवस्थित गर्न कामलाई राष्ट्रिय महङ्खवको परियोजना भन्ने ठानेको छु । पैसा कमाउन भन्दा पनि सेवाको भावले बसपार्कलाई व्यवस्थित गर्ने अभियानमा लागेको हुँ । ६ सय वटा टहरा विभिन्न राजनीतिक दल लगायतका विभिन्न समूहसँग गाँसिएको अवस्था थियो । त्यहाँ जाँदा फोहोर, लुटपाट, गुण्डागर्दी, दलाली चल्थ्यो । राज्यको नियम, कानुन, परिधिभित्र रहेर पूर्वाधार निर्माण गरिएको छ । जसरी हामी पेरिसमा जाँदा आइफल टावरमा फोटो खिचाउँछौं, त्यसैगरी बसपार्कको घण्टाघरमा फोटो खिचाउँदा काठमाडौंको बसपार्क हो भन्ने पहिचान दिने सोच हो । बसपार्क धेरै सुधार भएको छ । अब एक वर्षभित्रमा पूरा गर्ने लक्ष्यसाथ काम भैरहेको छ ।

यो कुन मोडलमा निर्माण गर्नुभएको हो ?

बसपार्कमा डेढ अर्ब रुपैयाँको परियोजना हो । सबै पूर्वाधार हामीले निर्माण गर्ने र प्रयोगमा ल्याउने हो । बसपार्कलाई ह्लोत्से भन्ने कम्पनीले ४६ वर्षका लागि लिजमा लिएको हो । यो नगरपालिकाको सम्पत्ति हो । यसमा अहिले निजी क्षेत्रको लगानी छ । यसलाई बनाएर सञ्चालनमा ल्याउँछौँ । अब २७ वर्ष बाँकी छ । वार्षिक ९६÷९७ लाख रुपैयाँ नगरपालिकालाई बुझाएका छौँ । यो परियोजना सम्पन्न हुँदासम्म ७६ करोड रुपैयाँ र अहिले निर्माण गरेका सबै पूर्वाधार बुझाउँछौँ । यसलाई व्यवस्थित बसपार्क बनाएर नगरपालिकालाई हस्तान्तरण गर्छौं । 

बसपार्क निर्माण र सञ्चालनबाट सन्तुष्ट हुनुहुन्छ ?

अहिले प्रोफिट कमाउने बेला होइन । यसलाई व्यवस्थित बनाउने नै हाम्रो योजना हो । २७ वर्षपछि राज्यलाई हस्तान्तरण गर्दा व्यवस्थित बसपार्क नै दिनेछौँ । टहरा हटाएर गुणस्तरीय पूर्वाधार निर्माण गरेका छौँ । धेरै ठाउँमा लिज लिएर निर्माण गरेका पूर्वाधार कमजोर बनाएर हस्तान्तरण गर्ने बेला निकै कमजोर दिने प्रचलन छ । त्यो गलत हो । भवन, मल, पार्किङ बनाएका छौं । भूकम्पीय दृष्टिकोणले समेत मजबुत छन् । कम्पनीको नाफाभन्दा पनि भोलि सन्ततिलाई नाम दिने हो । रुपैयाँ कमाउन सजिलो छ तर नाम कमाउन कठिन छ । 

यहाँले पूर्वाधार निर्माण र व्यवस्थित शहरीकरणका लागि किन उत्तरी क्षेत्र (अहिलेको ग्रान्डी अस्पताल) लाई रोज्नुभयो ?

हामी नेपाली भएर नेपालभर नै राम्रो होस् भन्ने चाहना हुन्छ । सबैको आ–आफ्नो लिमिटेसन हुन्छ । सबै ठाउँमा काम गर्न सकिँदैन । सुरुमा काम गर्न सहजता होला भनेर यो क्षेत्र रोजेको हो । यहाँ काम गरेर देखाइसकेपछि अरु ठाउँमा जान सजिलो भयो । बसपार्कको काम गर्दैछु । पोखराबाट पनि प्रस्ताव आएको छ । अहिले हाम्रो काममा पब्लिकको विश्वास जागेकोे छ । काम गरेर देखाउनु पर्छ भन्ने मेरो मान्यता हो । सुरुमा ग्रान्डीको परियोजना ल्याउँदा त्यो क्षेत्रका मान्छेले भूमाफिया आयो भन्थे । १५ वर्षअघि स्याल कराउने ठाउँ अहिले कायापलट भएको छ । त्यो बेला दुई हजारमा घरको सटर बिक्री हुँदैनथ्यो । फ्ल्याट भाडामा नगएर १५ सय/दुुई हजार रुपैयाँमा भाडा दिने मान्छे खोज्दिनुु भन्थे । अहिले ग्रान्डी क्षेत्रमा साग बेच्नेले पनि महिनामै २५/३० हजार रुपैयाँ कमाउँछन् । अहिले त्यो क्षेत्रमा एउटा सटरको भाडा २५/३० हजार रुपैयाँ पुगेको छ । जग्गा आनाको ४०/५० लाख पर्छ ।

सरकारी निकायबाट सहयोग कत्तिको पाउनु भएको छ ?

व्यवसायीले पाउनुपर्ने सहयोग सबैतिरबाट कम छ । असहज परिस्थितिमा काम गर्दै आएका छौँ । सरकारले नीति, नियम राम्रो बनायो भने धेरै काम गर्न सक्छौँ । राज्यमा नियमपूर्वक काम हुनुप-यो । कर तिर्नुप-यो । त्यसमा विश्वासको वातावरण हुनुप-यो । राज्यले कानुनी अप्ठेरा हटाएर काम गर्ने वातावरण सृजना गर्ने हो भने भविष्य निकै उज्ज्वल छ ।

मेकानिकल इन्जिनियरिङ पढेको व्यक्ति कसरी यस क्षेत्रमा आउनु भयो ?

हामी इन्जिनियरिङ पढ्दा सिभिल, कम्प्युटर, आर्किटेक्ट, मेकानिकल सबै पढ्नुपर्छ । दोस्रो वर्षमा गएपछि मात्र आफ्नो फिल्डको पढाइ हो । म विभिन्न विधामा रुचि राख्ने भएकाले स्वअध्ययनलाई प्राथमिकता दिन्छु । मेकानिकलका साथसाथै व्यक्तिगत रुपमा सिभिलको अध्ययन गर्दै आएको थिएँ । व्यवस्थित शहरीकरण मेरो रुचिको क्षेत्र भएकाले यसलाई प्राथमिकता दिएको हुँ । मेनकानिकल क्षेत्रमा पनि काम गरिरहेको छु । विभिन्न क्षेत्र काम गर्दै आएको छु ।

हाउजिङ र अपार्टमेन्टको व्यवसाय अहिले कस्तो छ ?

यो १२/१३ वर्षको अवधिमा ग्रान्डी अपार्टमेन्ट, ग्रान्डी हस्पिटल निर्माण ग-यौं । त्यसपछि सात/आठ सय वटा घरहरु निर्माण ग-यौँ । अहिले पनि चोभार, सानो भ-याङ लगायतका क्षेत्रमा नयाँ परियोजना निर्माण गरिरहेका छौँ । गत वर्षदेखि जग्गामा कित्ताकाट रोक्ने सरकारको नीतिले केही असहज भएको छ । गास, बास, कपास आधारभूत आवश्यकता हुन् । जुनसुकै विकसित मुलुकमा पनि शहरीकरण हरेक वर्ष निश्चित डायमिटरमा बढिरहेको हुन्छ । अहिले न्युयोर्कमा जानुभयो भने पनि शहरको रेडियस बढिरहेको छ । हामीले काम गरे वा नगरे पनि घर निर्माण रोकिएको छैन । डेभलपर कम्पनीले काम गर्दा गुणस्तर र सस्तोमा बन्छ । कुनै अप्राविधिक व्यक्तिले घर बनाउँदा इलेक्ट्रिकल इन्जिनियर, आर्किटेक, सिभिल इन्जिनियर, प्लम्बिङलगायत सबै क्षेत्रका विज्ञ जुटाउन कठिन हुन्छ । त्यसले लागत बढ्छ । भूकम्पमा डेभलपरले बनाएको कुनै पनि हाउजिङ ड्यामेज भएन किनभने यो प्राविधिक रुपमा फिट थियो । 

काठमाडौंको शहरीकरणलाई कसरी हेर्नुभएको छ ?

अहिले अन्धाधुन्ध, अस्तव्यस्त, डरलाग्दो अवस्थामा शहरीकरण भइरहेको छ । शहर कुरुप भएको छ । व्यवस्थित शहरीकरण गर्न ढिला भयो । सरकारले सडक पूर्वाधार निर्माण गरेर । खाली जग्गा उपलब्ध गराएर व्यवस्थित गर्नुपर्छ । आगो लाग्दा दमकल जाने, बिरामी हुँदा एम्बुलेसन्स, भूकम्प नै आयो भने बस्ने खाली ठाउँको प्रबन्ध, ढल, पानी, बत्तीको व्यवस्था । सुविधाजनक बसोबासको प्रबन्ध गर्नुपर्छ । अहिले डेभलपरले आफ्नै लगानीमा निर्माण गरिरहेका छन् । विदेशमा डेभलपरमा रेड–कार्पेट ओछ्याएर स्वागत गर्ने प्रचलन छ । सडक, ढल, बिजुली लगायतका पूर्वाधार सबै सरकारी क्षेत्रबाट लगानी गरिदिन्छ । हाम्रो मुलुकमा दुर्भाग्य भनुँ, सबै निजी क्षेत्रले गर्नुपर्छ जस भने पाइँदैन । उल्टै ठग्यो, लुट्यो भन्ने आरोप लगाइन्छ । 

काम गरेपछि बेनिफिट खोज्नु अस्वभाविक होइन । हामीले नोमिनल प्रोफिटमा काम गरिरहेका हुन्छौँ । हाम्रो औद्योगिक अवधारणा हो । थोरै नाफा खाने । धेरै बनाउने योजना हो ।

भूकम्पले हाउजिङ र अपार्टमेन्टमा ठूलो क्षति पु-याएको देखिएन तर अहिले पनि अग्ला अपार्टमेन्टमा बस्न हिच्किचाएको देखिन्छ । यहाँहरुले विश्वास दिलाउन नसकेको हो ?

धेरै बनेका अपार्टमेन्ट बिक्री भैसकेका छन् । रिङ रोडबाहिर टाढाका केही अपार्टमेन्ट मात्र बाँकी छन् । यसका लागि व्यवस्थित प्लान नै जरुरी छ । तपाईंले हेर्नुहोस् त, आज जापानमा पनि भूकम्प जान्छ । त्यहाँको प्रविधिले सुरक्षित बनाएको छ । आठ रेक्टरको भूकम्पले पनि केही गर्दैन । अहिले दोहा, दुबईमा गएर हेर्नुहोस् त, समुन्द्रमाथि घर बनाएका छन् ! हामीकहाँ राम्रो प्रविधि प्रयोग भएको छ । करिब आठ रेक्टर स्केलको भूकम्पले हामीले नै बनाएको ग्रान्डी हस्पिटल, ग्रान्डी अपार्टमेन्टमा कुनै असर गरेन । भूकम्पपछि पनि अमेरिकी दूतावासका कर्मचारीले हाम्रा अपार्टमेन्टको परीक्षण गरेर बसे । अमेरिकी दूतावासको टोलीले पिल्लरको एक्सरे गरेर हेरेपछि हाम्रा अपार्टमेन्ट बस्नयोग्य भनेपछि त्यहाँबाट सर्ने मुडमा रहेका नेपाली पनि त्यहीँ बसे । यसले हामीले गुणस्तरीय पूर्वाधार निर्माण गरेका छौं भन्ने प्रमाणित भयो । हामीले बनाएको बलियो छ भन्नेमा ढुक्क थियौं । अमेरिकनले पनि परीक्षण गरेर पुष्टि गरे । हामीले आफूले बनाएको गुणस्तरीय भएकोमा आत्मबल बढ्यो । इन्जिनियरिङ राम्रो भयो भने भूकम्पले केही असर गर्दैन ।

व्यवस्थित शहरीकरण कसरी गर्ने त ? 

काठमाडौं जस्तो ठाउँमा जग्गा तन्किँदैन । होरिजेन्टल ग्रोथमा जाँदा जग्गा सकिन्छ । अब भर्टिकल ग्रोथनै हुनुपर्छ । चार/पाँच रोपनीको जग्गामा ५०/६० वटा अपार्टमेन्ट बन्न सक्छ । ५०/६० घरमा बस्ने मान्छे चार/पाँच रोपनीमा अटाउन सक्छन् । ५०/६० घर निर्माण गर्ने हो भने ३०/४० रोपनी जग्गा आवश्यक पर्छ । सहरभन्दा टाढा ठीक होला तर शहरी क्षेत्रमा यो सम्भव नै छैन । 

हाउजिङ कम्पनीले कस्ता नीतिगत समस्या झेलिरहेका छन् ?

अब शहरभित्र अपार्टमेन्ट खोज्ने जमात ठूलो छ । सरकारको नीति नियम यति कडा छ कि अब कुनै पनि डेभलपरले १०÷१५ वर्ष अपार्टमेन्टको नयाँ प्रोजेक्ट ल्याउँदैन । बनाउन तथा बिक्री गर्न झन्झट । नियमले यति जाँगेको छ कि काम गर्न नै निकै कठिन छ । सरकार हाम्रो समस्यामा संवेदनशील छैन । डेभलपर डुब्नु भनेको बैंक डुब्नु हो । बैंक डुब्नु भनेको जनता डुब्नु हो । यो परियोजना सकेपछि अर्कोमा लगानी गर्छन् । अर्थतन्त्र चलायमान हुन्छ । अन्य मुलुकमा पनि यो समस्या आएको थियो । 

समस्या समाधानका लागि उपाय के हुनसक्छ त ?

जस्तै मलेसियामा हाइराइजको समस्या आएपछि त्यहाँका प्र्रधानमन्त्रीले अग्रसरता लिएका थिए । विदेशीलाई अपार्टमेन्ट बेच्ने नीति ल्याए । विदेशीलाई एउटा गाडी भन्सार फ्री, आउने जाने फ्री गर्दिए । पाँच वर्ष बेच्न नपाइने बनाए । त्यसले विदेशी आकर्षित भए । सम्पन्न मान्छे भएपछि वर्षमा एक दुई पटक त्यहाँ जान्छ । त्यहाँ बस्दा ड्राइभर, काम गर्ने मान्छे राख्छ । केही दिन बस्छ । डलर खर्च गर्छ । यी अवधारणालाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ । यो क्षेत्रलाई अझै पनि उद्योग होइन भन्ने बुझाइ छ । यो उद्योग हो । विदेशीलाई अपार्टमेन्ट किन्न नीतिगत सुधार गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो । कुनै पनि अपार्टमेन्टमा विदेशीलाई ४९ प्रतिशत विदेशी ५१ प्रतिशत नेपालीलाई दिँदा के बिग्रिन्छ ? जग्गा बेच्नु पर्दैन । यसले डलर आउने परियोजना हुन्छ । रोजगारी सृजना हुन्छ । यो उद्योगले रड, इँट्टा, रोडा, सिमेन्ट, काठ, रड, लेबर लगायतका उद्योग प्रत्यक्ष जोडिएको हुन्छ । यसले मुलुकको अर्थतन्त्र नै चलायमान बनाउँछ । अन्य उद्योगलाई सघाउँछ । सरकारलाई राजस्व तिर्छ । व्यवस्थित शहरीकण हुन्छ ।

यहाँहरुले यी विषय उठाएको धेरै भो । समस्या राजनीति नेतृत्वमा कि प्रशासनिक संरचनामा छ ?

दुई पटक बजेट भाषणमा पनि विदेशीलाई अपार्टमेन्ट किन्न दिने भन्ने आयो । विभिन्न निकायले बहाना बनाएर रोकेका छन् । अहिले धेरै विदेशी नेपालमा बस्न रुचाउँछन् । नेपालको हावापानी राम्रो छ । अन्यत्रको तुलनामा खर्च पनि सस्तो छ । अब कोही पनि डेभलपर नयाँ परियोजना गर्न तत्पर छैनन् । सरकारले विदेशीलाई किन्न सहज गरिदियो भने यो क्षेत्रको अर्बौं रुपैयाँ अन्य परियोजनामा लगानी गथ्र्यौं । ३०/४० कम्पनीले ७०/८० अर्ब रुपैयाँ यो क्षेत्रमा फ्रिज भएको छ । ब्याज तिर्दातिर्दा पीडामा छौं । विदेशीलाई सेल गर्न पाए सजिलो हुन्थ्यो । यो पैसा सातै प्रदेशमा लगेर नयाँ परियोजना काम गर्न सकिन्छ । काम गर्ने उद्योगी, व्यापारीलाई राष्ट्रको सम्पत्तिको रुपमा लिनुपर्छ । नियम, कानुनभित्र सबै रहनु प-यो । करको दायरामा आउनु प-यो । काम नगरी प्रगति हुँदैन । राज्यले नीति निर्माणमा सहजीकरण गर्ने हो । लिडरमा भिजन र टार्गेट हुनुपर्छ । रिजल्ट ओरिएन्टेट हुनुपर्छ ।

स्थायी सरकार छ । समृद्धिको नारा दिएको छ । उद्योगीहरु निरास हुनुहुन्छ । कहाँ के नमिलेको हो ?

यो स्थायी सरकार आएपछि आम नेपाली धेरै आशावादी छौँ । हाम्रो अपेक्षा धेरै भएको पनि हुन सक्छ । निराश त भएका छैनौं । तर, उत्साहित भएर लगानी गर्ने वातावरण पनि तयार भएन । जनताले अनुभूति गर्ने काम भएन । आशा घट्दै गएको छ । धेरै योङ इन्टरप्रेनर आएका छन् । मेरै उदाहरण लिँदा हुन्छ । म विदेशको सुखसुविधा त्यागेर नेपालमा केही गर्नुपर्छ भनेर आएको हुँ । म एक जना डुब्नुले केही फरक पर्दैन तर मलाई एउटै डर केछ भने म डुबेँ भने मलाई त पचासौँ जनाले हेरिरहेका छन् । राम्रो भएको देखे भने न विदेशमा भएका वा अन्य इन्टरप्रेनरले पनि उत्साही भएर लगानी गर्न आकर्षित हुन्छन् । गर्न सकिनँ भने दीपक कुँवरले के गर्न सक्यो त भनेर मजस्ता धेरै योङ इन्टरप्रेनरमा नैराश्य आउन सक्छ । उनीहरुको मनोबल घट्छ । अहिले मेरो कम्पनीमा करिब १२/१३ सय जनालाई रोजगारी दिएको छु । म डुबेँ भने ती परिवारको पनि रोजीरोटी गुम्छ । राम्रो काम गर्दा दुई शब्द प्रशंसा गर्दा आत्मबल बढ्छ । राम्रो गर्नेलाई हेर्ने दृष्टिकोण नै गलत छ । यसले कमायो, लुट्यो, खायो भन्ने गलत प्रचलन छ । जति कमाए पनि नेपालमै लगानी गरेका छौँ । 

योङ इन्टरप्रेनर नेपालमा काम गर्न कति उत्साहित छन् त ?

युवाले विदेशमा गर्ने मिहिनेत स्वदेशमा गर्दा नाम, दाम, सान सबै यहीँ छ । विदेशमा धेरै प्रतिस्पर्धा छ । हाम्रो मुलुकमा गर्नुपर्ने धेरै छ । जे काम गरे पनि सफल भइन्छ । धेरै युवाले नेपालमै काम गर्ने सोच राखिरहेका छन् । राज्यले धेरै केही गर्नुपर्दैन । जनताको अपेक्षा ठूलो पनि छैन । नियम कानुनमा सहजता, सरलीकरण गरे पुग्छ । पहिले जस्तो परम्परागत रुपमा कर छलौं भन्ने अहिले छैन । युवा सम्मानित जीवन बिताउन चाहन्छन् । पढेको ज्ञान, सीपलाई प्रयोग गर्न खोजेका छन् । अब १० वर्षमा नेपालको कायापलट हुनसक्छ । एउटै कुरा राज्यले नीतिनियममा भएका अप्ठेरालाई फुकाउनु पर्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, नराम्रो गर्नेलाई दण्डित गर्ने गर्नुपर्छ । अहिलेको युवा यहाँ बसेर संसारको बारेमा जानकार छ । यहाँ काम गर्ने वातावरण नहुँदासाथ विदेशिन्छ ।

मुलुकमा लगानीको सम्भावना र अवसर कुन–कुन क्षेत्रमा छ ?

पूर्वाधार निर्माण, हाइड्रो पावर र टुरिजम । यी तीन वटा क्षेत्रमा राम्रो भयो भने नेपालमा डलरको ओइरो लाग्छ । अहिले पनि युवा २०/२५ हजारका लागि कतार पुगेका छन् । 

मानौं हाम्रै कम्पनीमा साधारण स्टाफले परिवारसँग बसेर २०/२५ हजार खान्छ । राम्रो सीप भएकाले ५० हजारदेखि साढे दुई तीन लाख रुपैयाँ तलब खाने हाम्रै कम्पनीमा कर्मचारी छन् । कम्पनीले राम्रो गरेर प्रोफिट भए दिने न हो । जति काम गरेका छन्, सबै सन्तुष्ट छन् । आज मलाई भन्दा मेरो स्टाफलाई यो कम्पनीको माया छ । किनभने हिजो पैदल हिँड्ने आज मोटरसाइकल चढ्ने भइसके । मोटरसाइकल चढ्ने गाडी चढ्ने भएका छन् । 

स्वदेशमा आफ्नो क्षमताअनुसार अवसर प्राप्त गर्ने ठाउँ बन्दैछ । यसले के देखाउँछ भने स्वदेशमै रोजगारी सृजना गर्न सक्ने र विदेशबाट डलरसमेत आम्दानी गर्न सक्ने पूर्वाधार निर्माण, हाइड्रो र टुरिजम क्षेत्र हुन् । यसले मुलुकलाई पनि समृद्ध बनाउँछ । हामीले सम्पन्न गरेका परियोजना देखेर नेपालमा पनि यस्तो काम गर्ने क्षमता भएको जनशक्ति रै’छ भनेर विदेशीले प्रशंसा गर्न थालेका छन् । अहिले नेपालीलाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ । सरकारको समृद्धिको नारा भनाइमा मात्र भयो ।

मुलुकको आर्थिक अवस्थालाई कसरी हेर्नु भएको छ ? नेपालमा अपेक्षित रुपमा किन विदेशी लगानी आकर्षित हुन सकेन ?

हामी दुई विशाल छिमेकीको बीचमा छौं । भारत र चीनले जब विदेशी लगानीलाई आकर्षित गरे । विश्वमा प्रसिद्धि कमाएका ब्रान्ड त्यहाँ आएर उद्योग सञ्चालन गरेका छन् । यो पछिल्लो १०/१५ वर्षमा ठूलो प्रगति गरे । नेपालीसँग रुपैयाँको कमी छ । आफूसँग जे चिज छैन, त्यसकै अपेक्षा गर्ने हो । आज संसार एउटा भिलेज भैसक्यो । त्यसैले विदेशीलाई लगानी गर्न आकर्षित गर्नुपर्छ । ड्रग्स, हतियार, क्रिमिनलको पैसा ल्याउन भएन । त्यसलाई राज्यले मनिटर गर्नुप-यो । तर, राम्रोसँग कमाएको पैसा त लगानी गर्न दिनुप-यो नि ! विदेशमा लगानीकर्तालाई सम्मान गर्छ । विदेशीहरु नेपालमा लगानी गर्न पनि तत्पर छन् । तर, यहाँको एफडिआई नीति निकै झन्झटिलो रहेको छ । एकद्वार प्रणाली हुनुपर्छ । पैसाको वैधानिकता हेरेर सहजता गर्नुपर्छ ।

लगानीका लागि पुँजी अभाव छ भनिन्छ नि ?

गलत । पैसाको अभाव छैन । सोच र भिजन नभएर हो । ३०/४० लाख विदेशमा गएर काम गरिरहेका छन् । ती सबै जनालाई मुलुकको प्रधानमन्त्रीले आह्वान गर्नुप-यो । देशको साँच्चिकै माया गर्छौ भने १ लाख रुपैयाँ राज्यका परियोजनामा लगानी गर भन्नुप¥यो । विदेश गएकामध्ये २५ लाखले लगानी गरे भने मात्र दुई खर्ब ५० अर्ब हुन्छ । यसैगरी देशभित्र भएका लगानी गर्ने क्षमता भएकालाई पनि आह्वान गर्ने हो भने लगानी गर्न हैसियत राख्ने प्रशस्त छन् । नेपालीकै रुपैयाँले धेरै परियोजना निर्माण गर्न सकिन्छ । यस्ता विभिन्न मोडलबाट पुँजी जम्मा गर्न सकिन्छ । 

कम्पनी सफल रुपमा चलाउन कर्मचारीको ठूलो भूमिका हुन्छ भन्नुभयो । यहाँको कम्पनीलाई अघि बढाउने सूत्र के हो ?

आफ्नो माताहतका कर्मचारीलाई सम्मान गर्नुपर्छ । तपाईँलाई मैले सम्मान गरे न मलाई पनि गर्नुहुन्छ ! कर्मचारीलाई यो कम्पनी मेरो होइन, तपाईंहरुकै हो भन्नुपर्छ । मेरो फिलोसोपी भनेको मिलिजुली काम गरौँ, बाँडेर खाऔं भन्ने हो । मेरो अफिसमा ५ बजेपछि पनि काम गर्ने कर्मचारीको चाप हुन्छ । त्यसको रिटर्न उनीहरुले पनि पाउँछन् । समयको सदुपयोग गर्नुपर्छ । म आफैँ ७/८ बजेसम्म काम गर्छु, श्रम गरेर समृद्धि हुन्छ । 

परिवारमा को—को हुनुहुन्छ ?

परिवारमा बुबा शम्भुमान सिंह कुँवर र आमा गोमा कुँवर, श्रीमती निरु कुँवर । छोरी आकृति कुँवरले स्विजरल्यान्डको कलेज र छोरा आभास कुँवरले कक्षा ९ मा पढ्दै छन् । 

श्रीमती के गर्नु हुन्छ ?

उनले स्वयम्भूमा रहेको हेभी इक्विपमेन्टको बिजनेस हेर्छिन्। सिंगापुर, चीन, बैंककबाट हेभी इक्विपमेन्टलाई चाहिने सामान, पार्ट ल्याएर बिक्री गर्छौं ।

यहाँको दैनिकी कसरी चल्छ ?

बिहान ५ देखि साढे ५ को बीचमा उठ्छु । छ बजे क्लब जान्छु । दुई घण्टाजति क्लबमा खेलेर आएपछि अफिस जान्छु । लञ्च टाइमसम्म अफिसमा काम गरेर नियमित बसपार्क जान्छु । ५ बजे अफिस आएर हरेक परियोजनाको समीक्षा गर्छु । बेलुका ८ बजेसम्म अफिसमै हुन्छु ।

खानपिनमा रुचि के छ ?

साधारण । विगतमा मासुको पारखी भए पनि अहिले कम गरेको छु । अहिलेसम्म मदिरा सेवन गरेको छैन । हिन्दु भएकाले आस्था छ । तर, कर्ममा विश्वास गर्छु । 

विवाह कसरी गर्नुभयो ?

मागी बिहे गरेको हो । शुभकार्यमा ढिलाई गर्नु हुँदैन भनेर पहिलो काम विवाह गरेँ । 

प्रकाशित: १ पुस २०७५ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App