१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यदल टोली जुम्लामा

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल (जुम्ला)मा एमबिबिएस अध्ययन सञ्चालनका लागि कार्यदल टोली यहाँ आइपुगेको छ ।

प्राध्यापक डा.गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा मन्त्रालयले वीर अस्पतालका प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्च स्तरिय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको टोली शनिबार जुम्लामा आइपुगेको हो ।
टोलीमा विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य, शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले छन् ।

शिक्षण अस्पताल (जुम्ला)का निर्देशक धर्मराज गोसाईंका अनुसार टोलीले यहाँ एमबिबिएस अध्ययन सुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना केलाएर प्रतिवेदन तयार गर्नेछ । टोलीले अस्पतालको गहन रूपमा निरीक्षण गरेको बताइएको छ । टोली दुई दिन जुम्लामा बस्ने छ । शिक्षा मन्त्रालयले खोजेका सबै पक्ष नियाल्ने छ । राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग छलफल गर्नेछ । जुम्लाबाट फर्केपछि टोलीले शिक्षा मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाउने छ ।
प्रतिष्ठानका निर्देशक गोसाईंका अनुसार एमबिबिएस पढाइका लागि प्राध्यापक भर्ना गर्ने प्रक्रिया सुरु भइसकेको छ । उनले भने, ‘त्यस्तै आवश्यक पूर्वाधार तयारीमा जुटेका छौं । आधारभूत विज्ञान ल्याब तथा पाठ्यक्रम तयार पार्ने काम पनि भइरहेको छ ।’

जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरामा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले २०६८ सालमा जुम्लामा यो प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक तर्फका पढाइ सञ्चालन गरिरहेको छ । चालु शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरु गराउन प्रवेश परीक्षा लिइसकेको छ ।

प्रकाशित: १ पुस २०७५ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App