१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिएमडब्लू बाइक बजारमा

काठमाडौं – जर्मनीको अटोमोबाइल कम्पनी बिएमडब्लूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जिएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आगामी शनिबारसम्म यसको टेस्ट राइड गराउने जनाएको छ। इन्ट्री लेबल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादित उक्त बाइकको बिक्री–वितरण शुक्रबारबाट औपचारिक रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ।

उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फर्मेन्सका कारण बिएमडब्लू बाइक संसारभर चर्चित रहेको कम्पनीको भनाइ छ। कम्पनीले इन्ट्री लेबलका जी–३१० का दुई मोडललाई आकर्षक बनाउन कुनै कसर बाँकी नराखेको जनाएको छ। 
यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ। जसलाई ‘पेन्टागनल विन्ड सिल्ड’ले ढाकिएको छ। टेकोमिटर, स्पिडोमिटर, ओडोमिटर, फ्युलगेज, गियर इन्डिकेटर, एबिएस सिग्नलका साथै अन्य थुप्रै रेगुलर फिचर यसमा छन्।

दुवै बाइकमा ३१३ सिसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोर भल्भ इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ९५०० आरपिएममा ३४ बिएचपी पावर र ७५०० आरपिएममा २८ एनएम टर्क उत्पादन गर्छ। जी–३१० जिएसको तौल १६९ केजी छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम छ। दुवै बाइकमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ। यी बाइकको टप स्पिड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ।

बाइकमा राइडिङ क्षमतासँगै उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको कम्पनीको दाबी छ। यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्विल दिइएको छ भने डबल च्यानल एबिएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको कम्पनीको भनाइ छ।

तीन कलर अप्सनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरकफरक छ। कम्पनीले रातो र कालो रङका मोडल जी–३१० आरको मूल्य समान नौ लाख ५० हजार रुपैयाँ तोकेको छ। सेतो रङमा उपलब्ध मोडलको मूल्य नौ लाख ७५ हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ। त्यसैगरी रातो र कालो रङको बिएमडब्ल्यू जी–३१० जिएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। सेतो रङमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

 

प्रकाशित: १ पुस २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App