१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनकोसीमा बेलिब्रीज जडान अन्तिम चरणमा

फोक्सिन्टारस्थित निर्माणाधिन बेलिब्रीज । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा आउँदो सातादेखि बेलिब्रीज सञ्चालन हुने भएको छ। सडक विभागको लगानीमा दुई जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणी पोखरीबीच सुनकोसीमा वर्षेनी बेलिब्रीज जडान हुने गरेको छ।

हरेक वैशाख–जेठमा खोल्ने र कात्तिक–मंसिरमा जडान गरेर यातायात सञ्चालन गरिने बेलिब्रीज यो वर्ष मंसिर अन्तिममा मात्र पुनर्जडान कार्य भइरहेको छ। गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार पुस पहिलो सातादेखि सञ्चालनमा ल्याउनेगरी बेलिब्रीज पुनर्जडानको काम अन्तिम चरणमा पुगको छ। सडक कार्यलयका इन्जिनियर निज्जल श्रेष्ठका अनुसार मंसिर १७ गतेदेखि सुरु पुनर्जडान कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै यातायात सञ्चालनमा आउने तयारी भइरहेको छ।

गतवर्ष कात्तिकमै पुनर्जडान भएर गाडी चलाइएको बेलिब्रीज यो वर्ष चाडपर्वका कारण काम ढिला हुन गएको उनले बताए। ‘कात्तिकमै पुनर्जडान गर्ने सुचना प्रकाशित भएको थियो तर, तिहार र छठजस्ता चाडपर्वले काममा ढिलाई हुन गयो’ निमित्त कार्यालय प्रमुखसमेत रहेका श्रेष्ठले भने ‘९० प्रतिशत काम सकिइसकेको छ, त्यसैले आउँदो पुस ५–६ गतेभित्रमा बेलिब्रीज सञ्चालनमा आइसक्छ।’ फोक्सिन्टारस्थित सुनकोसीमा पक्की पुल नहुँदा बेलिब्रीज जडान गर्न र खोल्न वर्षेनी डेढ करोडदेखि २ करोड हाराहारी खर्च हुने गरेको छ।

यो वर्ष हिउँदे बेलिब्रीज पुनर्जडानका लागि ८१ लाखमा ठेक्का सम्झौता भएको छ। वर्षायाम सुरु भएपछि बाढीले बगाउने खतरा हुने हुँदा बेलिब्रीज खोलेर राख्नुपर्ने हुन्छ। आउँदो जेठमा खोल्न पुनः त्यत्तिकै वा त्योभन्दा बढी रकम खर्च हुने सडक कार्यालयले जनाएको छ। बेलिब्रीज पुनर्जडानको जिम्मा पाएको सगरमाथा कन्स्ट्रक्सनले केहीदिनभित्रै बेलिब्रीज पुनर्जडान भइसक्ने जनाएको छ। ५० मिटर लामो बेलिब्रीज पुनर्जडानमा सडक कार्यालय र कन्स्ट्रक्सनका प्राविधिक तथा कामदार गरी २५ जनाको टोली अहोरात्र खटिरहेको सञ्चालक प्रेमराज कार्कीले बताए।

उदयपुरदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग निर्माण कार्य ०५३ सालमा सुरु भएपनि अझै पूर्णता पाएको छैन। फोक्सिन्टारदेखि गाईघाटसम्म उदयपुरतर्फ ५३ किलोमिटर र दिक्तेलसम्म ७६ किलोमिटर गरी १ सय ३९ किलोमिटर लामो लोकमार्गलाई दोब्बर लेनको पक्की सडक बनाउने गरी खण्डखण्डमा काम भइरहेको छ। आउदो ०७६ सालभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको इन्जिनियर श्रेष्ठले बताएका छन्।

 

प्रकाशित: २९ मंसिर २०७५ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App