१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सत्य खोज्न आफै जुटे द्वन्द्वपीडित, सातै प्रदेशमा ‘सत्यको बयान’

कैलाली – न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्ष नदिएपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा जुटेका हुन्।

द्वन्द्वपीडित साझा चौतारीले सातै प्रदेशमा ‘सत्यको बयान’ अभियान सुरु गरेको छ । सत्य बाहिर ल्याउने अभियानका क्रममा चौतारीले यही मङ्सिर १७ गते सिराहाबाट उक्त अभियान सुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नं २, ७ र ४ मा तथा २५ गते प्रदेश ५, ६ र ७ मा द्वन्द्वपीडितसँग उक्त अभियान चलाइएको हो । कैलालीमा आयोजित उक्त अभियानमा बाँके जिल्लाकी सुनिता पाठकले भनिन्, ‘पीडित आफैले आवाज नउठाएसम्म न्याय पाउने देखिदैन, आयोगको भर छैन, पीडित आफैँले सत्य बाहिर ल्याउनु जरुरी छ ।’ 

आफ्नो बहिनी २०६२ सालमा कोहपुरबाट बेपत्ता भएपछि हालसम्म सास वा लास दुवै फेला नपरेकोे उहाँको गुनासो छ । ‘पीडित पक्ष सत्य कुरा बाहिर आओस् भन्न चाहन्छन् । ‘मेरो बहिनी मरी भने मरी भनिदिउन, जीवित भए यहाँ छ भनिदिउन’, सुनिताले थपिन, ‘न सास नत लाससमेत नपाउँदा हामी यतिका वर्ष उनलाई नै खोजिरहेका छौँ ।’ 

बाँकेकी गीता साहलाई द्वन्द्वका समयमा दिइएको यातनाका कारण अहिलेसम्म राम्रोसँग उनको शरीरले काम गर्दैन । साहले आफ्नो खुट्टामा अझै बन्दुकको छर्रा बाँकी रहेको देखाउँदै भनिन्,‘राज्यले उपचार खर्च  ४० हजार रुपैयाँ दियो तर जीवनभर उपचार गर्न आफ्नो सबै सम्पत्ति बेचेर पनि नपुग्ने भयो।’ उक्त अभियानमा यस्तै पीडा अन्य २० द्वन्द्वपीडितले सुनाए।

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा धेरै निर्दोष नागरिक मारिए, बेपत्ता भए, अङ्गभङ्ग भए र घरबारविहीन पनि भए । ती पीडामा अझै द्वन्द्वरत पक्षले मलम लगाउन नसकेको उनीहरुको भनाई छ। चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति सम्झौता भएको १२ वर्ष हुँदा पनि र आयोग गठन भएको चार वर्ष बितिसक्दा पनि पीडितले कम्तीमा खुलेर आफ्ना पीडा सुनाउनसमेत नपाएको हुँदा ‘सत्यको बयान’ अभियान सञ्चालन गरिएको बताए। 

‘आफ्नो सङ्घर्ष, भोगाइ र अनुभव पीडितबीच सुनाउँदा पनि मन हलुका हुन्छ,’ उनले भने, ‘मलाई मात्र होइन अरुलाई पनि पीडा रहेछ भनेर थाहा पाइन्छ ।’ चौतारीले पीडितको आवाजलाई एकीकृत गरेर न्यायका लागि आवाज उठाउन दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरेको हो । पोखरामा आगामी पुस २ गते सो अभियान सञ्चालन गर्ने चौतारीको तयारी छ। रासस

 

प्रकाशित: २९ मंसिर २०७५ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App