१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

त्याग

मध्यम वर्गीय परिवारमा जन्मिए पनि म आफूलाई निकै भाग्यमानी ठान्थें। कारण– आमाबुबाको फराकिलो सोच। आमाबुबाले सच्चा तथा आदर्श नागरिक बन्न तथा दीनदुःखीको सेवा गर्न हामीलाई उपदेश दिइरहनुहुन्थ्यो। ‘अरुलाई सकेसम्म सहयोग गर्नू, तर अरुबाट भने आशा नगर्नू’ भन्ने उहाँहरूको दीक्षाबाट म प्रभावित थिएँ। 

समग्रमा ६ सदस्यीय हाम्रो परिवार (आमा, बुबा, दाजु, दिदी, बहिनी र म) रमाइलो र खुसी थियो। त्यस्तोमा ममात्र बेखुसी हुने कारणै थिएन। किनकि न आमाबुबाले हाम्रो चित्त दुखाउनुभएको थियो, न त हामीले उहाँहरूको नै। समय बित्दै गयो। दाजु र दिदीको विवाह भयो। म स्नातक अन्तिम वर्षको परीक्षाको तयारीमा थिएँ। परीक्षा सकियो। म स्नातकोत्तरमा भर्ना हुने कि काम गर्ने भन्ने द्विविधामा थिएँ। आमाबुबालाई भने ‘छोरीको बिहे गरिदिने’ रहर थियो। धेरै ठाउँबाट विवाहको प्रस्ताव आए। यिनै मध्येको एक समीरको परिवार पनि थियो। उसको परिवार पनि मध्यम वर्गीय नै थियो। समिर सरकारी कार्यालयको शाखा अधिकृत थियो। 

शालीनताले भरिएको व्यवहार, गहु्रँगो व्यक्तित्व अनि आफूभन्दा सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने जस्ता समीरको बानी थियो। यसले म मात्र होइन, परिवारका सबैजना ऊबाट प्रभावित भएका थिए। उसलाई आमाबुबाले असल मान्छेका रूपमा हेर्न थालिसक्नुभएको थियो। आमाबुबाले उसलाई घरका हरेक कार्यमा सम्झनुहुन्थ्यो। हुन पनि उसको बानी व्यवहार तथा व्यक्तित्वमा खोट लगाउने ठाउँ नै थिएन। 

हाम्रो विवाह हुने निश्चित भयो। दसैँको छेउछाउमा टीकाटालो भयो। विवाहचाहिँ मंसिरमा गर्ने निर्णय भयो। टीकाटालोपछि पनि समीर हाम्रो घरमा प्रायः आइरहन्थ्यो। सबैलाई आदर गथ्र्यो। कतै केही अभाव देख्नै नहुने, ल्याइदिइहाल्थ्यो। त्यति मात्र हो र ? छुट्टीमा सबै परिवारलाई घुमाउन लैजाने र बाहिरै खाने बन्दोबस्त पनि मिलाउँथ्यो। परिवारका सदस्यहरूले उसलाई ‘समीर बाबु’, ‘समीर दादा’...भनेर थाक्दैनथे। टीकाटालोदेखि विवाहसम्मको अवधि यसरी नै बित्यो, मानौँ त्यो अवधि लामो थिएन, मात्र एउटा क्षण।

विवाहपछि हामी सँगै बस्न थाल्यौँ। उसको घर बाग्लुङमा थियो। त्यसैले हामी डेरामा बस्थ्यौँ। डेरैमा बसे पनि उसले मेरा हरेक इच्छा पु-याउने कोसिस गथ्र्याे। मेरो आत्मसम्मानमा चोट पुग्ने काम कहिल्यै गरेन उसले। हाम्रो हरेक दिन खुसीमय हुँदै बित्न थाल्यो। हामी एक–अर्कालाई यति साथ दिन्थ्यौँ कि दुःख भन्ने शब्द नै हाम्रा लागि रहरको विषय हुन्थ्यो। जीवनसाथीको माया सबै पीडाको औषधि रहेछ भन्ने मैले त्यतिबेलै थाहा पाएकी हुँ।

आखिर मान्छेको जात न हो, शंकालु हुने नै भयो। मलाई पनि आफ्नै भाग्यप्रति डर लाग्थ्यो कहिलेकाहीँ, कतै मेरो सुख, मेरा खुसी मबाट टाढा त हुँदैन ? त्यसैले प्रार्थना पनि गर्थे उनै भोलेबाबासँग– हे पशुपतिनाथ, मेरो मायामा कहिल्यै ग्रहण नलागोस्। यस्तै पुकारासहित धेरैपटक नमन गरेकी छु उनलाई। लाग्थ्यो– मैले पूर्वजुनीमा धेरै पुण्य गरेकी थिएँ होला र त आज समीरजस्तो जीवनसाथी पाएँ। 

मेरो कल्पना, भावना, समर्पण सबै समीरप्रति नै थियो। मेरा  दिन उसकै सम्झनामा बित्थे। ऊ पनि अफिस सकिनेबित्तिकै घर आउँथ्यो। हामी एक–अर्कामा यति समर्पित थियौँ कि भनिसाध्ये नै थिएन। उसको इच्छा/चाहना र मेरो इच्छा/चाहना नङ र मासु जस्तै भइसकेका थिए। कवि/कथाकारले आफ्ना कृतिमा वर्णन गर्ने मायाको गाथा बल्ल बुझ्न थालेकी थिएँ। अर्थात् मायाको तागत बिस्तार महसुस भइरहेको थियो। जीवन बडो रोचक र सुखसाथ बितिरहेको थियो। 

एक दिनको कुरा हो। सधैँ ठीक समयमा आउने समीर अफिसबाट घर आएन। साँझ कुरेँ, रातभर बाटो हेरेँ। अहँ..., ऊ आएन। मलाई रातभर एकदमै छटपटी भयो। कता खोजौँ, कहाँ जाउँ, कसलाई भनौँ, उफ्...! कालरात्रि नै सावित भयो मेरा लागि त्यो रात। क्षणक्षण पनि निकै लामो भए बिताउनका लागि। उसका लुगा सुम्सुम्याउँथेँ। गाडीको आवाज सुन्यो कि झ्यालबाट चियाइहाल्थेँ। कतै बोलाउँदै पो छ कि भनेर कान चनाखो तुल्याउँथेँ। आँखाबाट आँसु बगिरहेको थियो। मुटु त फुट्ला जस्तो गरी धड्किरहेको थियो। मनमा अनेक नकारात्मक तरंग मडारिइरहेका थिए। उनै भोलेबाबासँग पुकारा गर्थेँ कि मेरा मनमा हुँडारिइरहेका तरंग गलत सावित होउन् प्रभु।

यो फूल तिम्रो मायाको त्यही पहिलो भेट हो जुन आज तिमीलाई नै दिँदैछु, माया अनि श्रद्धाले। डा. विशाल साह्रै असल व्यक्ति हुनुहुन्छ। तिमीहरूको दाम्पत्य जीवन सुखी र खुसी होस्...। अब म तृप्त भएर बिदा चाहन्छु। आँखाबाट आँसु बगिरहे। कस्तो त्याग हो यो ? विशाल मेरै छेउमा थिए। अनि उनले मेरो हात समातेर अस्पतालतर्फ लगे। 

बिहान ८ बजेको थियो। समीर टुप्लुक्क आइपुग्यो। दौडिएर उसको अगाडि गएँ। उसले मलाई हे-यो अनि सोध्यो– किन आज तिमी सुतेनौँ ? मैले जवाफ फर्काउन पनि सकिनँ। लगातार आँसु बगिरहेको मेरो आँखा नियालिरह्यो उसले। तर पनि ऊ मसँग धेरै बोल्न चाहेन। खाना खाएपछि पनि हामीबीच कुनै बातचित भएन। ऊ कोठामा छि-यो आराम गर्न। त्यो दिन अफिस पनि गएन। अर्को दिन बिहान पनि आफ्नै काम गरिरह्यो। यी यावत् क्रियाकलाप उसको मुड परिवर्तन भएको साक्षी बनिरहेका थिए। तर पनि मैले मेरो मायालाई कुनै प्रश्न गरिहाल्ने आँट गर्न सकिनँ। बल्लतल्ल साहस जुटाएर नम्र तवरले सोधेँ– आज पनि अफिस नजाने ? समीरले रुखो स्वरयुक्त जवाफ फर्कायो– तिमीलाई के मतलव ? आफ्नो काम गर भान्छामा गएर।

मसँग अवाक् हुनुको विकल्प रहेन। आँखाबाट आँसु भने बगिरहे अविरल। मनमा नानाथरी प्रश्न हुँडलिन थाले– हिजो रातभर कता गएको होला ? किन ऊ यति उदास ? किन निराश ? आदि÷/इत्यादि। त्यस्तो हाँसीखुसी रहने मान्छे, आज किन उसको व्यवहार यस्तो पृथक ? आफैँलाई सम्हालिन गाह्रो प-यो। आफूलाई साह्रै माया गर्ने मान्छेलाई विभिन्न प्रश्न सोधेर तथा शंकाको तीर हानेर दुखित तुल्याउन पनि सक्दिनथेँ। त्यसै त्यसै छटपटी भने हुन थाल्यो। समीरका समस्या समाधान गरिदेऊ प्रभु भनेर तिनै भोलेबाबालाई पुकार्नेबाहेक कुनै उपाय रहेन मसँग।

समीर खुसी थिएन। उसको बेखुसीमा ममात्र कसरी खुसी हुन सक्थेँ र ? बेचैन थिएँ म पनि। दिन यसरी नै बितिरहेका थिए। मैले भने अझै पनि उसलाई के भइरहेको छ भन्ने मेसो पाउनै सकिनँ। एक्लै बस्न रुचाउने, मसँग कुरै नगर्ने, बोल्न खोज्यो कि झर्कने जस्ता व्यवहार जारी नै रह्यो। हुँदाहुँदा महिना दिनभित्रै उसले दुई÷तीनपटक बाहिरै बितायो। अति भएपछि सोधेँ– किन मसँग टाढा भएको ? के भुल गरेँ ? प्लिज भन, म आफूलाई सच्याउन चाहन्छु। प्लिज...। त्यसपछि त झन् के चाहियो र ? ऊ मलाई नै छाडेर निस्क्यो घरबाट।

उफ्...! के भयो हाम्रो दाम्पत्य जीवनमा ? कसको आँखा लाग्यो ? यो दिन आउनु थियो त त्यति धेरै खुसी किन दियौ मलाई ? किन हँसाएर मलाई रुवायौँ ? जति सोधे पनि उत्तर आएन किनकि मेरा प्रश्न तिनै भोलेबाबालाई थियो जो मेरा प्रश्नको उत्तर दिने हैसियत राख्दैनथे। सबैले हाम्रो जोडीको प्रशंसा गर्थे। डाहा गर्ने पनि उत्तिकै थिए। अनि यस्तै जोडी होस् भनेर प्रार्थना गर्ने पनि कम थिएनन्। तर, जति नै अरण्य रोदनसाथ छटपटिए पनि समीर घर आएन। आयो त उसको डिभोर्सको चिठी। म स्तब्ध भएँ। तर, पनि उक्त चिठीमा हस्ताक्षर गरिदिएँ। किनकि त्यो आफ्नो प्यारो मान्छेले पठाएको थियो। र, म उसको दिल कसै गरे पनि दुखाउन चाहन्नथेँ। 

जीवन एक्लै बित्न लाग्यो। माइत जान पनि मन लाग्न छाड्यो। साथीसंगी पनि भेट्न मन लागेन। दिन यसैगरी कट्दै थिए। उता दैनिक खर्च चलाउनै मुस्किल पर्न थाल्यो। यत्तिकैमा एउटा अस्पतालमा जागिर पाएँ। मेरो मेहनत सहितको कामबाट डाक्टरहरू पनि प्रभावित हुन थाले। यसले सुक्खा आइलागेको जिन्दगीमा एकप्रकारले खुसी नै दिलायो।विशाल क्यान्सरका डाक्टर थिए। काम गर्ने सिलसिलामा उनीसँग मेरो जम्काभेट भई नै रहन्थ्यो। कहिलेकाहीँ आँखा जुझ्नु पनि स्वाभाविकै हुन्थ्यो। एक दिन ड्युटीमै रहेका बेला म झसंग भएँ, जतिबेला उनले मलाई विवाहको प्रस्ताव राखे। मैले तुरुन्तै ‘नाइँ’ भनेँ। किन ? को उनको प्रश्नमा ‘आफ्नो इतिहास’ बताएँ र भनेँ– यो जीवनमा समीरलाई बिर्सन सक्दिनँ। 

तैपनि डा. विशालले बारम्बार प्रस्ताव राख्न छाडेनन्। त्यसपछि मैले पनि स्वीकारेँ अमिलो मन बनाएर। विवाह पनि भयो। एकाध दिनपछि विशालले मलाई अस्पतालमै जीवनको अन्तिम क्षण बिताइरहेका क्यान्सरका बिरामीसँग आशीर्वाद लिन भनेर लगे। सबैले गुलाफको फूलसहित शुभकामना दिए। एउटा बिरामीले भने गुलाफ त दिए। तर, सुकेको। अनि एउटा चिठी पनि। म झसंग भएँ त्यो फूल देखेर...। उसलाई नियालेँ– हड्डी र छालामात्र बाँकी थियो जिउका नाममा। कालो न कालो, रगत नभएको अनुहार...। देख्दै डरलाग्दो।

घर फर्के। उसले दिएको चिठी खोलेँ। लेखिएको थियो– मेरो प्यारो साथी, आज म तिमीलाई के भनुँ, तिम्रो जीवन सधैँ खुसी रहोस्। मैले नचाहँदा÷नचाहँदै तिमीलाई दुःखी बनाएकोमा माफी चाहन्छु। म औषधिमूलोका क्रममा एकरात बाहिरै बस्दा तिमी रातभर नसुतेको अनि रोएको मलाई आज पनि स्मरण छ। तेस्रो चरणको क्यान्सर भएको थाहा पाउँदा कति दुःख लाग्ला भन्ने सोचेर म तिमीबाट टाढा भएको हुँ। यो फूल तिम्रो मायाको त्यही पहिलो भेट हो जुन आज तिमीलाई नै दिँदैछु, माया अनि श्रद्धाले। डा. विशाल साह्रै असल व्यक्ति हुनुहुन्छ। तिमीहरूको दाम्पत्य जीवन सुखी र खुसी होस्...। अब म तृप्त भएर बिदा चाहन्छु। 

आँखाबाट आँसु बगिरहे। ‘कस्तो त्याग हो यो ?’ मनमा प्रश्न उठिरहेको थियो। तर, उत्तर पाउन सकेको थिइनँ।  यतिकैमा छेउमा रहेका विशालले हात समाते। र, अस्पतालतर्फ लगे। 

प्रकाशित: २९ मंसिर २०७५ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App