१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटनमा श्रीलंकासँग सहकार्य गर्न पहल

काठमाडौं - नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका क्रममा उक्त योजना अघि सारेका हुन्। राजदूत परेराले पर्यटन प्रवद्र्धनका क्षेत्रमा मिलेर जान सकिने बताएको टानले जनाएको छ। 

सरकारले २०२० मा २० लाख पर्यटक भित्रयाउने योजना अघि सारिरहँदा टान–श्रीलंका सहकार्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

छलफलका क्रममा राजदूत परेराले नेपाललाई श्रीलंकामा बुद्ध जन्मिएको देश र लुम्बिनी भनेर मात्रै चिन्ने गरेको बताइन्। ‘यहाँ कस्ता पर्यटकीय गन्तव्य छन् भन्ने कुरा श्रीलंकाली नागरिकलाई थाहै छैन,’ राजदूतले भनिन्, ‘यहाँ त अथाह पर्यटकीय क्षेत्र छ। यसलाई श्रीलंकाको कोलोम्बोसँग जोड्न सकिएको छैन। यसकारण टानसँग सहकार्य गर्न चाहन्छौं।’ 

राजदूत परेराले श्रीलंकाको पर्यटकीय गन्तव्यको विषयमा प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिमा श्रीलंकाको समुद्री क्षेत्र, बौद्धमार्गीहरुका गुम्बा, विभिन्न मन्दिर र मौलिक तथा सांस्कृतिक कला समेटिएको थियो। 

उनले श्रीलंकाको पर्यटकीय क्षेत्रलाई नेपालमा प्रचार गर्न र नेपालको पर्यटकीय गन्तव्यलाई श्रीलंकामा प्रवद्र्धन गर्न राजदूतावासले समन्वय गर्ने बताइन्। उनले श्रीलंकाको आकर्षक पर्यटकीय पहाड, जंगल, महासागर र झरनाको चर्चा गरिन्। उनले श्रीलंका–नेपाल टुर साथै ट्रेकिङका लागि नयाँ प्याकेज ल्याउनसमेत सुझाव दिइन्। 

टानका अध्यक्ष नवराज दाहालले छलफलको क्रममा नेपाल र श्रीलंकाबीचको सम्बन्ध लामो भएको र पर्यटनको क्षेत्रमा दुई देशबीच रचनात्मक ढंगले काम गर्ने बताए। 

‘दुई देशबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउन नयाँ नीति र कार्ययोजना बनाउँछौं। यही उदेश्यले श्रीलंकाको राजदूतसँग औपचारिक छलफल चलाएका हौं,’ अध्यक्ष दाहालले भने, ‘छलफल सकरात्मक रुपमा अघि बढेको छ। आगामी दिनमा नेपाली ट्रेकिङ अपरेटरले श्रीलंकाको पर्यटकीय गन्तव्यबारे तथ्यगत अध्ययन सहित प्याकेज बनाउनेछन्।’ 

टानका महासचिव आङपेम्बा शेर्पाले सार्कका पर्यटकलाई नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल अघि बढाएको बताए। ‘यही क्रममा श्रीलंकाको पर्यटकीय गन्तव्यको विषयसहित राजदूतसँग संस्थागत छलफल गरेका छौं,’ उनले भने।

२०१६ मा १२ हजार आठ सय ३८ नेपाली पर्यटक श्रीलंका पुगेका थिए। २०१७ मा पाँच हजार एक सय ४४ नेपाली श्रीलंका पुगेको तथ्यांक दूतावाससँग छ। यस्तै, २०१६ मा श्रीलंकाबाट ५७ हजार पाँच सय २७ जना नेपाल भित्रिएको देखिन्छ। २०१७ मा श्रीलंकाबाट ४५ हजार तीन सय ६१ पर्यटक नेपाल भित्रिएको राजदूतले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ।   

कार्यक्रममा टानका पूर्वअध्यक्षहरु जेबी सिंह, यांकिला शेर्पा, चन्द्रप्रसाद रिजाल लगायतले नेपाल र श्रीलंकाबीचको पर्यटन प्रवद्र्धनको विषयमा बोलेका थिए। 

प्रकाशित: २८ मंसिर २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App