१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नर्सिङ कलेजलाई मापदण्ड पुर्याउनै सकस

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका तीन आंगिक नर्सिङ क्याम्पस मापदण्डबिना  सञ्चालन भएको भन्दै नेपाल नर्सिङ काउन्सिलले बन्द गर्ने चेतावनी दिएको छ ।

नेपालगन्ज नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पसलाई मापदण्ड पूरा नगरी सञ्चालित कार्यक्रम बन्द गर्न काउन्सिलले भदौ अन्तिम साता परिपत्र गरेको हो ।
काउन्सिलको मापदण्डअनुसार १० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्छ ।

नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुख कल्पना पौडेलले पिसिएल नर्सिङ कार्यक्रमका लागि शिक्षक अपुग भएकाले काउन्सिलले कार्यक्रम बन्द गर्ने चेतावनीसहितको परिपत्र गरेको बताइन् ।

‘काउन्सिलले पिसिएल नर्सिङ कार्यक्रमका लागि आठ शिक्षक अपुग भएको भन्दै बन्द गर्ने चेतावनीसहितको परिपत्र गरेको छ,’ पौडेलले भनिन्, ‘हाम्रा शिक्षकहरू कोही अध्ययन बिदा र कोही काजमा खटिएकाले समस्या आएको हो ।’


‘शिक्षक काजमा हिँड्छन्, काउन्सिलले शिक्षक पुगेन बन्द गर भन्छ’

पौडलका अनुसार कलेजका लागि नियुक्ति लिएकी शिक्षक अमृता पुन दुई वर्षका लागि अध्ययन बिदा लिएर बसेकी छिन् । शिक्षक आशा सापकोटा एक वर्षदेखि महाराजगन्ज नर्सिङ क्याम्पसमा काजमा खटिएकी छिन् । त्यस्तै, ईशावेल लवट भने पोखरा नर्सिङ क्याम्पसमा ५ वर्षदेखि काजमा छिन् ।
यस क्याम्पसमा तीनवर्षे पिसिएल नर्सिङमा कुल एक सय ३५ विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, स्नातकमा ४९ विद्यार्थी छन् । स्नातकमा शिक्षक संख्या पुग्ने तर पिसिएल नर्सिङमा काउन्सिलको मापदण्डअनुसार शिक्षक नपुग्ने पौडेलले सुनाइन् ।

‘शिक्षकहरू नेपालगन्ज नर्सिङ क्याम्पसका लागि त्रिवि सेवा आयोगमा आवेदन दिएर परीक्षा दिन्छन् । नतिजा पनि नेपालगन्जकै नियुक्तिका लागि आउँछ,’ उनले भनिन्, ‘तर, कागजी रूपमा नेपालगन्जको नियुक्ति लिएर पछि सबै काठमाडौं नै फर्कन्छन् । खै कसले हाम्रो कुरा सुनिदिने होला ?’

उनका अनुसार त्रिवि सेवा आयोगले ०७२÷७३ मा नेपालगन्ज नर्सिङ क्याम्पसका लागि १२ लेक्चरर माग गर्दै विज्ञापन ग¥यो । तर, हालसम्म परीक्षा भएको छैन ।

यो समस्या एउटा मात्र आंगिक कलेजको होइन, विराटनगर र वीरगन्ज नर्सिङ क्याम्पसमा पनि उस्तै छ । विराटनगर नर्सिङ क्याम्पसलाई काउन्सिलले गत वर्ष नै शिक्षक मापदण्ड पूरा गर्न परिपत्र गरेको थियो । तर, मापदण्ड हालसम्म पनि पूरा हुन सकेको छैन ।

यस क्याम्पसमा पिसिएल नर्सिङमा कुल एक सय ३५ विद्यार्थी छन् भने स्नातकमा ७५ विद्यार्थी । शिक्षक भने १४ जना मात्र छन् । काउन्सिलको मापदण्डअनुसार यो कलेजमा १० शिक्षक अपुग छ ।
क्याम्पस प्रमुख भगवती कालिकोटेका अनुसार गत वर्र्ष विराटनगर नर्सिङ क्याम्पसको नाममा परीक्षा दिएर पास भएका चार शिक्षकमध्ये दुईजना मात्रै विराटनगर आए ।

‘हाम्रो कलेजलाई पोहोर नै मापदण्डअनुसार शिक्षक पूरा गर्न काउन्सिलले निर्देशन दिएको थियो । चार शिक्षकमध्ये दुई महाराजगन्ज काठमाडौं नै फर्किए,’ कालिकोटे भन्छिन्, ‘हाम्रो कलेज त्रिविको आंगिक कलेज हो । हाल हाम्रो कलेज आंगिक शिक्षकको भरमा छ । आशा गरौं, यस वर्ष त्रिवि सेवा आयोगले विराटनगरका लागि माग गरेको शिक्षक हामीलाई नै परोस् ।’

काउन्सिलका एक सदस्यका अनुसार त्रिविका आंगिक क्याम्पसबाट दक्ष नर्सहरू उत्पादन गर्ने लक्ष्यसहित नर्सिङ काउन्सिलले कडा कदम चालेको हो । शिक्षकहरूले त्रिवि सेवा आयोगको परीक्षामा पास हुन उपत्यका बाहिरका कलेजका लागि आवेदन दिने अनि पास हुँदा नेताहरूसँग भनसुन गरी काठमाडौं नै फर्कने प्रवृत्तिले नर्सिङ शिक्षाको गुणस्तर खस्कँदै गएको ती सदस्यले बताइन् ।

‘वीरगन्ज, पोखरा, विराटनगर र नेपालगन्जका लागि शिक्षकहरूले परीक्षा पास गर्छन्,’ ती सदस्यले भनिन्, ‘तर, पछि त्रिवि पदाधिकारीसँग कुरो मिलाएर काठमाडौं नै फर्कने विकृतिले नर्सिङ शिक्षा नै ध्वस्त बनायो ।’

प्रकाशित: १३ आश्विन २०७३ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App