१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हट्यो नेपाली यात्रुलाई बिमा विभेद

काठमाडौं- अन्तर्राष्ट्रिय हवाई दुघर्टनामा ज्यान गुमाउने नेपाली र विदेशी यात्रुका आफन्तले पाउने बिमा रकमको असमानता शनिबारबाट हट्दैछ। अहिलेसम्म एउटै अन्तर्राष्ट्रिय हवाई यात्राको जहाज दुघर्टना भएर ज्यान जाँदा पनि विदेशी भए एक लाख ६० हजार र नेपाली भए २० हजार अमेरिकी डलरमात्र बिमा कम्पनीबाट आफन्तले क्षतिपूर्ति पाउँछन्। 

यसरी, नेपाली र विदेशीबीच विभेद हुनुको कारण थियो–नेपालमा मन्ट्रियल महासन्धि लागू नहुनु। तर, शनिबारबाट हवाई मार्गमार्फत विदेश आवतजावत गर्ने विदेशी र नेपाली यात्रुबीच बिमा रकममा हुने असमानता हट्दैछ। शनिबारबाट अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मन्ट्रियल महासन्धि नेपालमा पनि कार्यान्वयनमा आउँदैछ।

यो महासन्धि कार्यान्वयनमा आएसँगै हवाई मार्गबाट विदेश आवतजावत गर्ने नेपाली यात्रुको बिमा क्षतिपूर्ति रकम पनि विदेशीको सरह एक लाख ६० हजार अमेरिकी डलर हुनेछ। महासन्धिमा अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले एक लाख ६० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउने उल्लेख छ। 

यसअघि नेपाली अन्तर्राष्ट्रिय हवाई यात्रुको बिमा ‘हेग प्रोटोकल’ अनुसार ‘वार्सा अभिसन्धि’मा उल्लेख भएबमोजिम बिमा हुन्थ्यो।  ‘वार्सा अभिसन्धि’मा जहाजबाट विदेश आवतजावत गर्ने यात्रुको बिमा रकम २० हजार डलर मात्रै थियो। आइकाओकै अग्रसरतामा मन्ट्रियल महासन्धि सन् १९९९ मा जारी भयो। उक्त महासन्धिले हवाई यात्रुको बिमा रकम एक लाख ६० हजार डलर हुनुपर्ने व्यवस्था ग-यो। 

१९ वर्षअघि मन्ट्रियल महासन्धि आए पनि नेपालले ६३ वर्षदेखि लागू वार्सा अभिसन्धि नै कार्यान्वयन गर्दैै आएको थियो। यसैले गर्दा हवाई दुघर्टनामा ज्यान गुमाएमा मन्ट्रियल महासन्धि लागू भएका देशका यात्रु र वार्सा अभिसन्धि लागू भएका देशका यात्रुबीच बिमामा असमानता कायम थियो।

नेपालमा भदौ ७ गते बसेको प्रतिनिधिसभाले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो। अनुमोदनपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा महासन्धि रजिस्ट्रेसन (सम्मिलित) भएसँगै बिमा रकम स्वतः बढेको हो।
संसदबाट अनुमोदनपछि महासन्धि आइकाओमा रजिस्ट्रेसन (सम्मिलित) गराउनुपर्छ। नेपालले गत असोज २९ गते महासन्धि रजिस्ट्रेसनको लागि निवेदन दिएको थियो। नियमअनुसार निवेदन दिएको ६० दिनपछि दर्ता भई महासन्धि कार्यान्वयनमा आउँछ।

‘शनिबारबाट नेपालमा पनि मन्ट्रियल महासन्धि कार्यान्वयनमा आउँछ,’ महासन्धि दर्ताको लागि गत असोजमा आइकाओमा निवेदन दर्ता गराउन क्यान्डा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘यसपछि नेपाली यात्रुको अन्तर्राष्ट्रिय हवाई दुघर्टनामा मृत्यु भएमा परिवारले एक लाख ६० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउनेछन्।’ उनका अनुसार मन्ट्रियल महासन्धि अत्यन्तै महत्वपूर्ण छ। ढिलै भए पनि नेपाल त्यसको सदस्य पाएकोले खुसी मनाउनुपर्ने उनले बताए।

मन्त्री रविन्द्र अधिकारीका अनुसार पनि यो महासन्धि नेपालमा लागू हुनु अपरिहार्य थियो। ‘मन्ट्रियल महासन्धि कार्यान्वयनपछि हवाई मार्गबाट विदेश आवतजावत गर्ने यात्रुको मनोबल बढ्नेछ,’ उनले भने, ‘यसले हवाई यात्रा गर्न समेत पोत्साहन मिल्छ।’ उनका अनुसार सरकारले मन्ट्रियल महासन्धि लागू गर्न ढिलो हुँदा नेपाली यात्रु विदेशी यात्रुको दाँजोमा विभेदको शिकार बन्दै आएका थिए। 

मन्ट्रियल महासन्धि लागू हुँदा नेपाललाई आर्थिक भार नथपिने मन्त्री अधिकारीले बताए। उनका अनुसार महासन्धि लागूपछि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले भने महासन्धिअनुसार बिमा प्रिमियम रकम तिर्नुपर्छ। 
सन् १९९९ मा मन्ट्रियल महासन्धि जारी भएपछि आइकाओका एक सय ९१ सदस्य राष्ट्रमध्ये एक सय ३२ ले कार्यान्वयनमा ल्याइसकेका छन्। त्यसयता आइकाओले पनि महासन्धिको सदस्य बन्न दबाब दिएको थियो। नेपाल समेत सदस्य बन्न प्रतिबद्ध थियो।

प्रकाशित: २८ मंसिर २०७५ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App