१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा भेटिए दर्ताबिनाका औषधि पसल

फाइल तस्बिर

भक्तपुर–भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ। 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक र जगातिमा सञ्चालित औषधि पसलको अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेका र पसलसमेत दर्ता एवं नवीकरण नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

नगरपालिकाले गरेको अनुगमनमा हेलो जनस्वास्थ्य फर्माले नगरपालिकामा औषधि पसल भनेर दर्ता गरे पनि कर कार्यालय र औषधि विभागमा भने हेलो जनस्वास्थ्य भनी फरक नाममा दर्ता गरेको पाएको छ।

यसले फरक नाममा दर्ता गरी कर छलि गरेको आशङ्कामा एउटै नाममा तीनवटै निकायमा तत्काल दर्ता गर्न निर्देशन दिएको छ । यो औषधि पसलले नसासम्बन्धी औषधि जथाभावी बिक्री गरेको पाइएकाले बिक्री भएको औषधिको विवरण पूर्जी सुरक्षित राख्न निर्देशन दिएको छ । 

त्यस्तै कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको र अनुमतिपत्र नभएका व्यक्तिलाई औषधि बिक्री गर्न राखेको पाइएपछि अनुगमन टोलीले दर्ता नवीकरण गर्न र अनुमतिपत्र प्राप्त व्यक्तिलाई मात्रै पसलमा राख्न निर्देशन दिएको छ । 

कमलविनायककै विनायक फर्माले नवीकरण नगरेको र सरसफाइमा ध्यान नदिएको पाएको छ भने भक्तपुर हेल्थ कन्र्सनले ल्याबको मूल्यसूची नराखेको र क्लिनिकमा बस्नेको परिचयपत्रसहित अनुमतिपत्र प्राप्त नभएको पाएको छ । 

खोपो फार्मेसी एण्ड क्लिनिकले पसल नवीकरण नगरेको, औषधि पसल र क्लिनिकको छुट्टाछुट्टै दर्ता नगरेको, ख्वप डाइग्नोष्टिक सेन्टरले ल्याब टेक्निसियनको प्रमाणपत्र नपाएकाले सो क्लिनिकलाई प्रमाणपत्र भएको व्यक्तिलाई मात्रै राख्न, पसल नवीकरण गर्न, सरसफाइ गर्ने निर्देशन दिएको छ । 

अनुगमनमा समितिका रोशन मैया सुवाल, दिलीपकुमार सुवाल, रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय आचार्य, नगरपालिका जनस्वास्थ्यका कमल केशरी राजचल र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको सहभागी थियो।रासस 

प्रकाशित: २७ मंसिर २०७५ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App