२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शेर्पालार्इ हराउँदै संकटा अंक तालिकाकाे दाेस्राे स्थानमा

तस्बिर : गाेलनेपाल

काठमाडाैं - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाले हिमालयन शेर्पालाई २–० ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

लिगमा लगातार सातौं जित निकाल्ने क्रममा हिमालय शेर्पा क्लबमाथि संकटाले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त भएको थियो। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको दोस्रो खेलमा संकटालाई जित दिलाउन सेड्रिक आबा र दीपेश आलेमगरले एक–एक गोल गरे।

आक्रामक सुरुआत गरेको संकटाका लागि सेड्रिकले मैदानको मध्यभागबाट मिडफिल्डरले दिएको लामो पासलाई सदुपयोग गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। सेड्रिकले हिमालयनका १२औं मिनेटमा दुई रक्षकलाई बिट गराउँदै जाली चुमाएका थिए। त्यसको दुई मिनेटपछि दीपेशले संकटाको अग्रतालाई दोब्बर पारेका थिए। अमित तामाङको क्रसपासलाई हिमालयन शेर्पाका रक्षकले क्लियर गर्न नसक्दा प्राप्त अवसरलाई दीपेशले गोलमा परिणत गरेका थिए।

लिगमा सुखद सुरुआत गरेको हिमालयन शेर्पाले भने पछिल्ला खेलमा राम्रो गर्न सकेको छैन। विपक्षी संकटाको आक्रामक खेलविरुद्ध  हिमालयनले केही राम्रा अवसर प्राप्त गर पनि सदुपयोग गर्न सकेन। पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा संकटाले रक्षात्मक खेल्यो। दोस्रो हाफमा हाबी भएको हिमालयन शेर्पाले उत्कृष्ट खेल्दै गोलका लागि अधिक प्रयास गरे पनि संकटाको पोस्टमा जाली चुमाउन असफल बन्यो।

पहिलो हाफमा अग्रता लिएको संकटाका प्रशिक्षक सल्यान खड्गीले अग्रतालाई कायम राख्न दोस्रो हाफमा रक्षात्मक खेलेको बताए।

‘आजको खेलमा हामी पहिलो हाफमा अग्रता लिने र दोस्रो हाफमा रक्षात्मक बन्ने रणनीतिका साथ मैदान उत्रिएका थियौं। सोचेको रणनीति सफल भयो,’ संकटाका प्रशिक्षक खड्गीले भने, ‘उद्देश्य शीर्ष पाँचभित्र अटाउने भए पनि खेलमा जितको उद्देश्य लिएर खेल्दै आएका छौं। राम्रो पनि हुँदै आएको छ। हामीले त जति सक्दो राम्रो नतिजाका लागि खेल्ने हो।’

उता पराजित टोली हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले उत्कृष्ट खेल्दा खेल्दै पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए।

‘फुटबलमा गोल नै आवश्यक हुन्छ। राम्रो खेल्दा खेल्दै पनि पाएका राम्रा अवसरलाई हामीले सदुपयोग गर्न सकेनौं, उनीहरूले सुरुआती अग्रता लिएपछि रक्षात्मक खेल्दै हाम्रा प्रयासलाई विफल पारे,’ प्रशिक्षक लिम्बुले भने, ‘राम्रो मात्र खेलेर केही हुँदैन भन्ने प्रमाणित भयो। संकटाको बलियो रक्षापंक्तिले हाम्रो फरवार्ड लाइनलाई कुनै अवसर दिएन।’

शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग समान २१ अंक भए पनि संकटा गोलअन्तरमा पछि रहँदै दोस्रो स्थान छ। यसअघि थ्री स्टार १८ अंकका साथ दोस्रो स्थानमा थियो। उता पराजित हिमालयन शेर्पा ११ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित: २७ मंसिर २०७५ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App