१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

फाइल फाेटाे

काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने भएको छ। निगमले आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा प्रतिस्पर्धामात्रै दिने भएको हो। प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मा दिन प्रतिस्पर्धा गराउन टेन्डर आह्वानको तयारी थालेको छ।

प्राधिकरण अन्तर्गतको गौरवको आयोजना कार्यालयका एक अधिकारीका अनुसार प्राधिकरणले यही डिसेम्बर महिनाभित्र टेन्डर आह्वान गर्दैछ। ‘टेन्डर आह्वानको तयारी अन्तिम चरणमा पुगेको छ,’ नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘यही डिसेम्बर महिनाभित्र टेन्डर आह्वान हुन्छ।’

प्रतिस्पर्धा नगराई निगमलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिँदा प्राधिकरणलाई घाटा हुने देखिएपछि टेन्डर आह्वान गर्न लागिएको हो। प्राधिकरणको विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार विमानस्थलमा सेवा दिएर आम्दानी गर्नेले १५ प्रतिशत रोयल्टी प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ। प्रतिस्पर्धाबिनै निगमलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिँदा सोही नियमावली अनुसार १५ प्रतिशत रोयल्टी पाउने गरी दिनुपर्ने हुन्छ।

‘ग्राउन्ड ह्यान्डलिङ सेवा दिएर निगमले मासिक करोडौं कमाउँछ,’ प्राधिकरण कार्यालय अन्र्तगत गौरवका आयोजना कार्यालयका एक कर्मचारीले भने, ‘प्राधिकरणले भने १५ प्रतिशतमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था छ।’ उनका अनुसार निगमलाई सोझै दिँदा प्राधिरकणको आम्दानी खुम्चने देखिएपछि टेन्डर आह्वान गरेर बढी प्रतिशत दिने कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिन लागेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज ग्राउन्डमा बसेपछि पार्किङ, यात्रु ओसारपसार, लगेज सबै जिम्मा ग्राउन्ड ह्यान्डलिङ गर्ने कम्पनीले लिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ जिम्मा पनि निगमले लिएको छ। ग्राउन्ड ह्यान्डलिङ नै आम्दानीको मुख्य स्रोत बनाइरहेको निगमले भने गौतमबुद्ध विमानस्थलको पनि ग्राउन्ड ह्यान्डलिङ आफैंले पाउनुपर्ने दाबी गर्दै आएको छ।

निगमले गत आर्थिक वर्ष २०७४–०७५ मा मात्रै ग्राउन्ड ह्यान्डलिङबाट तीन अर्ब ६६ करोड आम्दानी गरेको थियो। निगमले अर्बौं आम्दानी गर्ने र प्राधिकरणले थोरै रकममा चित्त बुझाउनुपर्ने भएपछि गौतमवुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा टेन्डरबाटै दिने तयारी थालेको हो।

‘निगमबाहेक ग्राउन्ड ह्यान्डलिङको सुविधा प्रदान गर्न अरु कम्पनी योग्य छैनन्,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने, ‘प्राधिकरणले निगमबाहेक अरु कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ दिन मिल्दैन। नेपाल सरकारले निगमबाहेकलाई विकल्पमा हेरिनैहुन्न।’ उनका अनुसार निगमले स्वतः ग्राउन्ड ह्यान्डलिङ पाउनुपर्छ। प्राधिकरणले टेन्डरबाटै छनोट गरे पनि सर्त राख्नुपर्ने खरेलले बताए।

उनका अनुसार निगम ग्राउन्ड ह्यान्डलिङमा इन्टरनेसनल एयर ट्रान्सपोर्टेसन (आएटा)बाट सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन (आइसगो) सर्टिफिकेट प्राप्त कम्पनी हो। यस्तो सर्टिफिकेट पाउने एयरलाइन्स एसियामै कम रहेकाले सरकारले गौरवका साथ ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई दिनुपर्ने खरेलको दाबी छ।

‘टेन्डरै गरे पनि निगमलाई नै पार्नुपर्छ,’ उनले भने, ‘त्यसको लागि निगमको योग्यताअनुसार मापदण्ड राख्नुपर्छ।’ धाँधली गरेर अन्य बाटोमार्फत निगमबाहेक अन्य कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ दिइए नेपाल एयरलाइन्स र राष्ट्रको हितमा नहुने खरेलले बताए।

तर, प्राधिकरणका महानिर्देशक सन्जिव गौतम निगमलाई ग्राउन्ड ह्यान्डलिङ दिन बाध्य नभएको बताउँछन्। ‘निगमले मलाई नै दिनुपर्छ भन्ने कुनै आधार छैन,’ उनले भने, ‘टेन्डरबाट जो आउँछ, त्यसैले पाउँछ। चाहे निगम वा अरु कोही।’ उनका अनुसार विमानस्थल प्राधिकरणको हो। प्राधिकरणले जे गर्छ, त्यसमा निगमको कुनै हात हुन्न। त्रिभुवन विमानस्थलमा पनि निगमले पहिलाबाटै गर्दै आएर मात्रै पाइरहेको हो। उस्तै परे त्रिभुवन विमानस्थलको पनि निगमले नपाउने महानिर्देशक गौतमको भनाइ छ।

गौरवका अयोजना कार्यालयका अनुसार चरणचरणमा कम्पनी छनोट गरिनेछ। नियमावली अनुसार तीन करोडभन्दा बढी आम्दानी हुने व्यवसायको टेन्डर गर्दा एक्सपिरियन्स अफ इन्ट्रेस्ट आह्वान गरिन्छ। यसमा पास हुने कम्पनीले प्राविधिक र आर्थिक प्रस्तावको आवेदन पेस गर्नेछन्। त्यसमा छनोट भएर जसले बढी नम्बर ल्याउँछ, सोही अनुसार ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिइन्छ।

कार्यालयले ग्राउन्ड ह्यान्डलिङसँगै फ्लाइट क्याट्रिङको पनि टेन्डर आह्वान गर्दैछ। फ्लाइट क्याटरिङमा जहाजभित्र खाना खुवाउने सेवा पर्छ।

भैरहवाको विमानस्थल हाल निर्माणको अन्तिम चरणमा छ। प्राधिकरणका अनुसार आउँदो जेठबाट विमानस्थल सञ्चालनमा आउनेछ। प्राधिकरणले भने विमानस्थल सञ्चालनमा आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ लगायत सेवा विकास धमाधम गरिरहेको जनायो।

प्रकाशित: २७ मंसिर २०७५ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App