१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

सिन्धुपाल्चोक – जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने जुगल हिमालको काखमा निर्माण तयारी गरिएको दुई जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच पिपिए (विद्युत् खरिद सम्झौता) भएको छ।

जुगल गाउँपालिकामा बन्ने १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी तथा ३५.४७ मेवागाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजना र प्राधिकरणबीच खरिद सम्झौता भएको हो। यस सम्बन्धी सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निर्माण कम्पनीका तर्फबाट दुवै आयोजनाका नेतृत्वकर्ता भरत पराजुलीबीच सोमबार हस्ताक्षर भएको थियो।

खरिद सम्झौताअनुसार ब्रह्मायाणी नदी करिडोरमा बन्ने आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा चार रुपैयाँ ८० पैसामा किन्ने पराजुलीले बताए। ‘योसँगै आयोजना अघि बढाउन प्रारम्भिक काम गर्ने र लगानीकर्ता खोजी गर्ने बाटो खुलेको छ,’ उनले नागरिकसँग भने।

दुवै आयोजना निर्माण सन् २०१९ को अन्तिमदेखि सुरु गरी २०२३ जुलाईमा सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए। माथिल्लो ब्रह्मायणी इन्टिग्रेटेड हाइड्रो फन्ड र ब्रह्मायाणी आयोजना एकीकृत व्यापार कम्पनी प्रालिको अगुवाइमा बन्न लागेको हो। दुवै कम्पनीका अध्यक्ष पराजुली हुन्। निर्माणमा स्रोतसाधन एकै ठाउँबाट परिचालन गर्न दुवै आयोजनालाई एउटै ब्रह्मायणी जलविद्युत् कम्पनी प्रालिअन्तर्गत ल्याइने उनले बताए।

‘यसको तयारी अघि बढिसकेको छ,’ अध्यक्ष पराजुलीले भने। उनका अनुसार दुवै आयोजनाको संस्थापक सेयर सदस्य बन्न जिल्लावासीलाई सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिमार्फत लगानी गर्ने व्यवस्था मिलाइने छ। माथिल्लो ब्रह्मायणी आयोजनाको बाँध बलेफी (ब्रह्मायाणी) खोलामा बन्ने छ भने उत्पादनगृह बलेफी र लाङटाङ खोलाको दोभान नेमासलमा बनाइने छ। बाँध र उत्पादनगृहबीचको सुरुङ तीन किमि लामो हुने छ।

माथिल्लो ब्रह्मायणीको नेमासलस्थित उत्पादन गृहबाट पानी निस्केपछि त्यही स्थानमा अर्को बाँध बाँधी ब्रह्मायणी आयोजना बनाइने छ। ६ किमि लामो सुरुङमार्फत तेम्बाथान नजिक पानी खसालेर उत्पादन गृह बनाइने अध्यक्ष पराजुली बताउँछन्। ‘माथिल्लो ब्रह्मायणीको उत्पादन गृहदेखि सय मिटर दूरीमा ब्रह्मायणी आयोजनाको बाँध बन्ने छ,’ उनले भने। उनका अनुसार दुववै आयोजनाको लागत १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। माथिल्लो ब्रह्मायणी तीन अर्ब र ब्रह्मायणी आयोजना सात अर्ब रुपैयाँमा बनाउने लक्ष्य राखिएको छ।

दुवै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको र वातवारणीय प्रभाव मूल्यांकनको तयारी समेत भइरहेको अध्यक्ष पराजुलीले बताए। ‘आयोजनास्थलमा पुग्न पहुँचमार्ग निर्माणको अध्ययन पनि अघि बढाएको छौं,’ उनले भने। उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणद्वारा पाङताङमै निर्माणाधीन सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ।

‘यो निर्माण ढिलाइ भए बाह्रविसेमा निर्माणाधीन सबस्टेसन विकल्पका रुपमा तयार छ,’ पराजुलीले भने। बाह्रविसेमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले सबस्टेसन बनाइरहेको छ। झन्डै ७० प्रतिशत काम सकेको मध्यभोटेकोसीको सबस्टेसन धमाधम बनिरहेको छ। बैंक ऋणमार्फत लगानी जुटाइने निर्माण कम्पनीले जनाएको छ। ‘ऋणका लागि बैंकहरु खोजी कार्यमा जुट्दै छौं,’ दुवै निर्माण कम्पनीका अध्यक्ष रहेका पराजुलीले बताए।

प्रकाशित: २७ मंसिर २०७५ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App