१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डिजेल चुहावट र चोरीमा निगम नेतृत्व मूकदर्शक

काठमाडौं - नेपाल आयल निगमको विराटनगर डिपोमा चार महिना अवधिमा करिब डेढ करोड रुपैयाँको डिजेल चुहावट र ट्यांकरबाट तेल चोरी हुँदा निगम नेतृत्व मूक दर्शक बनेको छ। विवादित छवि भएका निगमका विराटनगर डिपो प्रमुख दिनेश यादवलाई कारबाही गर्न सञ्चालक समिति सदस्यले कुरा उठाए पनि कारबाही प्रक्रिया अघि बढेको छैन।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल ल्याउँदा डिपोकै कर्मचारीको मिलेमतोमा २५ सय लिटर तेल चोरी भएको थियो। निगम छानबिन समितिले तयार गरेको प्रतिवेदनमा ‘मिलेमतोमा डिजेल चोरी’ भएको प्रतिवेदन पेस गरे पनि निगम नेतृत्व मौन बसेको छ।

‘डिपो प्रमुखलाई कारबाही गर्नुपर्छ भनेर सञ्चालक समिति बैठकमा कुरा उठायौं। करोडौंको चुहावट र तेल चोरी हुँदा पनि नेतृत्व मूकदर्शक बन्न मिल्छ ?’

गत वर्षको तुलनामा दोब्बर बढी प्राविधिक नोक्सानी (चुहावट) हुँदा पनि डिपो प्रमुखलाई कारबाही नगर्नुले व्यवस्थापनको समेत मिलेमतो हुन सक्ने निगम सञ्चालक समितिका एक सदस्यले बताए। ‘डिपो प्रमुखलाई कारबाही गर्नुपर्छ भनेर बैठकमा कुरा उठायौं,’ ती सदस्यले भने, ‘तर करोडौंको चुहावट र तेल चोरी हुँदा पनि नेतृत्व मूकदर्शक बनेको छ।’

ट्यांकरमा लक लगाएपछि चुहावट नियन्त्रण हुनुपर्ने भए पनि गत वर्षको तुलनामा घाटा दोब्बर बढेको छ। गत वर्ष कात्तिकसम्म डिजेलको प्राविधिक नोक्सानी (चुहावट) ०.१९ प्रतिशत रहेकोमा अहिले बढेर ०.४१ पुगेको छ।

स्रोतका अनुसार चुहावट र सेटिङमा भएको तेल चोरीका विषयमा डिपो प्रमुख यादवलाई कारबाही स्वरूप केन्द्रमा तान्ने तयारी भए पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव डिपो प्रमुख यादवको बचाउमा लागेका कारण कारबाही हुन नसकेको हो।

निगम सञ्चालक समितिको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे छन्। घिमिरेले मन्त्रीको ‘सिग्नल’ नआएका कारण कारबाही अघि बढाउन सकेका छैनन्।

स्रोतका अनुसार निगम व्यवस्थापनले डिपो प्रमुख यादवकै कारण चुहावट र चोरी भएको निष्कर्षसहित उनलाई केन्द्रीय कार्यालयमा तान्नुपर्ने प्रस्ताव सचिव र मन्त्रीसमक्ष राखेको थियो।

तेल चुहावट र चोरीका घटना सार्वजनिक भएपछि मन्त्री यादवले निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, वितरण विभाग प्रमुख वीरेन्द्र गोइत, आरोपित डिपो प्रमुख यादवलाई आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरेका थिए। छलफलपछि मन्त्री यादवले छानबिन समितिको प्रतिवेदन पर्खिन भनेका थिए।

डिपो प्रमुखको बचाउमा मन्त्री लागेकाले कारबाही गर्न सचिव र निगम व्यवस्थापनले आँट नगरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘खुल्लमखुला तेल चोरी र करोडौंको चुहावट हुँदा सचिवज्यू (सञ्चालक समिति अध्यक्ष) ले कारबाही गर्न निर्देशन दिने आँट गर्नुभएको छैन,’ ती अधिकारीले भने, ‘मन्त्रीज्यूले पनि विवादित कर्मचारीलाई बोक्नु हुँदैन।’

घटनामा संलग्नलाई कारबाही गरिने निमित्त कार्यकारी निर्देशक भट्टराई बताउँछन्। ‘छानबिन समितिले पनि प्रतिवेदनमा सबै औंल्याएको छ,’ उनले भने, ‘घटनामा संलग्न सबैलाई कारबाही गर्छौं।’

उद्योगमन्त्री यादवले आफू कसैको बचाउमा नलागेको बताए। ‘मन्त्रीले कारबाही गर्न रोक्यो भनेर कसैले भन्यो भने त्यो फटाहाको काम हो,’ मन्त्री यादवले नागरिकसँग भने, ‘छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कारबाही हुन्छ।’ यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीकै दबाबमा डिपो प्रमुख भएर गएका थिए। यादव यसअघि पनि विभिन्न घटनामा निलम्बन परेका थिए।

आइओसीको बरौनी डिपोबाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर २० हजार लिटर डिजेल लिएर आएको को १ ख ४९६५ नम्बरको ट्यांकर निगमको विराटनगर डिपोमा अनलोड गर्दा दुई हजार पाँच सय लिटर डिजेल कम भेटिएको थियो। छानबिन समितिले ट्यांकरको साँचो व्यवस्थापन नगरेको, लकिङ जाँच नगरेको, चालकसँग मिलेमतो देखिएको जनाएको छ। चुहावट दोब्बर बढेको निषयमा पनि केन्द्रले किन नियन्त्रण नगरेको भनेर यादवलाई पत्र पठाएको जनाएको छ।

विराटनगर डिपो प्रमुख यादवले तापक्रमका कारण चुहावट बढेको स्वीकार गरे। ‘गत वर्षभन्दा चुहावट बढेको हो,’ यादवले भने, ‘नियन्त्रण गर्ने प्रयास गरिरहेको छु।’ उनले डिजेल चोरीमा आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरे। ‘मन्त्रीज्यूलाई पनि गुमराहमा राख्ने प्रयास भएको छ,’ यादवले भने, ‘तेल चोरीमा संलग्न ट्यांकरलाई कारबाही गरिसकेको छु।’

आइओसीले चालकलाई नै साक्षी राखेर लोड दिने र निगममा आएरमात्र तेल खन्याउने भएकाले डिपोका कर्मचारीको संलग्नताबिना बीचबाटोमा तेल चोरी हुन नसक्ने निगमकै अधिकारी बताउँछन्। ‘ट्यांकरको साँचो आइओसी र निगमका कर्मचारीसँग मात्र हुन्छ,’ ती अधिकारीले भने, ‘ट्यांकरको लकिङ पनि दुरुस्तै रहेकाले बीचमा ताला खोलेरै तेल झिकेको हो।’

प्रकाशित: २७ मंसिर २०७५ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App