१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उखुको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग चल्न नदिने

रौतहट– कुनै बेला नगदेवालीको रुपमा परिपचित ‘उखु’ अहिले उधारो बालीको रुपमा चिनिन थालेको छ। समयमा पैसा नदिएको कारण यसपाली किसानले अग्रिम भुक्तानीको व्यवस्था हुनुपर्ने माग राखेका छन्। बर्षै पिच्छे उखु बेच्ने तर समयमा भुक्तानी नपाउने समस्याले गर्दा कृषकहरुले यसपालि चिनीमिल सञ्चालन अगावै उखुको मूल्य निर्धारण हुनुपर्ने माग गरेका हुन्। 

किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण नहुन्जेल तराईको कुनै पनि चिनी उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्। विगतमा उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा चिनी उद्योगीमा मनपरी प्रवृत्ति देखिएकोले आफ्ना उत्पादनको मूल्य निर्धारण नहुन्जेल कुनै पनि उद्योग चल्न नदिने उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्। 

चालू आर्थिक वर्षको लागि उखु उत्पादक र चिनी उत्पादकबीच पहिलो चरणको वार्ता भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेकाले उखुको मूल्य निर्धारण हुन सकेको छैन। उखु उत्पादन गर्ने किसानहरुले गत वर्षभन्दा चिनीको मूल्य धेरै बढेको र उखुको उत्पादन लागत समेत बढेकाले चिनीको मूल्य बढेको अनुपातमा उखुको मूल्य बढाउनु पर्ने माग राखेका छन्।

चिनी उत्पादकहरुले भने लामो समयदेखि चिनीको उत्पादन नहुँदा चिनीको मूल्य बढेको र सबैतिरका चिनी उद्योगहरु संचालनमा आएपछि चिनीको बजार मूल्य ह्वात्तै घट्ने भएकोले उखुको मूल्य बढाउन नसकिने चिनी उत्पादकहरुको अडान रहेको छ।

गत वर्ष उखुको प्रति क्वीन्टल मूल्य पाँच सय ३१ रुपैया कायम भएको थियो र चिनिको बजार मूल्यको आधारमा प्रति क्वीन्टल ५ रुपैया थप गरी पाँच सय ३६ रुपैया किसानले पाउने गरी निर्धारण गरिएको किसानहरु चालू आर्थिक वर्षको लागि प्रति क्वीन्टल पाँच सय ४० रुपैया माग गरेका छन्। 

गत एक साताअघि महोत्तरीको बर्दिबास स्थित गौतमा होटलमा बसेको पहिलो पटकको बार्तमा किसान प्रतिनिधिले पाँच सय ४० रुपैयाभन्दा कममा झर्न नसकिने अडान लिएका छन्। उता चिनी उत्पादकले भने वर्षभरी चिनीको मूल्य उतार चढाव आइरहने तर उखुको मूल्य एकचोटी निर्धारण भएपछि सिजनभर चल्ने हुनाले सरकारले चिनिको बजार मूल्य निर्धारण गरेपछि सोही अनुपातमा उखुको मूल्य दिन तयार रहेको चिनी उत्पादक संघ प्रतिनिधिको अडान छ। 

‘चिनीको मूल्य सरकारले पहिला तोक्नु प¥यो, अनि उखुको मूल्य तोक्न सजिलो हुन्छ’, श्रीराम सुगर मिलका सञ्चालाक एवं सल्लाहकार हितेश गोल्छाले भने, ‘कि त सरकारले उखुको मुल्य तोकेर चिनीको मूल्य तोक्नु प¥यो, जुनसुकै मूल्य तोकेपनि किसान र उद्योगी दुवैलाई फाइदा हुने काम गर्न गोल्छाले सरकारलाई आग्रह गरे। 

विगतमा उद्योगले किसानको विश्वासलाई ठग्दै आएकोले यस पटक मूल्य निर्धारण नहुन्जेल तराइको कुनै उद्योगलाई उखु दिन नसकिने भनी उद्योगपतिहरुलाई स्पष्ट पारिएको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीको कथन छ। 

उद्योगीहरुले समयमा किसानलाई पैसा नदिएर उखुलाई नगदे बालीको ठाउँमा उधारो बाली बनाएकोले चालू आर्थिक वर्षमा उखु किसान उद्योगीहरुको भुलभुलैयामा परेर पहिलेका वर्षहरुजस्तो उधारोमा उखु बेचेर उद्योगीको पछि पछि कुदने काम नगर्ने अडान लिएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले पहिला उखुको मूल्य अनि समयमा भुक्तानीको ग्यारेन्टी नभए उद्योग चल्न नदिने बताए।

सरकारले उखुको मूल्य निर्धारण गर्न कार्य दल बनाइसकेकोले चाँडै मूल्य निर्धारण नगरे र समयमा उद्योग सञ्चालनमा नआए उखु क्रसिङ समयमा नहुँदा किसानको उखुको तौल कम हुने र चिनी उद्योगमा समेत तुलनात्मक रुपले चिनीको उत्पादन दर घट्दै जाने भएकोले दुवै पक्षलाई निष्कर्षमा पु¥याउने विश्वास चिनी उत्पादकको रहेको छ। 

प्रकाशित: २६ मंसिर २०७५ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App