१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यावसायिक उडान रोक्ने सरकारको तयारी

अन्नपूर्ण आधार शिविर क्षेत्रमा अवतरणको तयारीमा रहेको हेलिकोप्टर। फाइल तस्बिर : उमेश/नागरिक

पोखरा – वातावरणीय क्षेत्रमा असर पारेको भन्दै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर उडान र अवतरणमा गत भदौदेखि रोक लगाएको थियो। तर, हेलिकोप्टर कम्पनीले गाँउपालिकाको निर्देशन अटेर गर्दै नियमित उडान गरिरहेका छन्।

स्थानीय तह र हेलिकोप्टर उडान गरिरहेका व्यावसायीबीच विवाद बढिरहँदा हेलिकोप्टर उडानको नियमनकारी निकाय पर्यटन मन्त्रालयले भने आधार शिविरमा व्यावसायिक उडान गर्न नदिने बताएको छ। अन्नपूर्ण क्षेत्रको वातावरण बिग्रने गरी आधार शिविरमा हेलिकोप्टर उडान गर्न नपाइने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन्।

गाउँपालिकाले आधार शिविरमा हेलिकोप्टर उडान रोक्दारोक्दै पनि जारी रहेकाले त्यसलाई रोक्न नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशनसमेत दिएको मन्त्री अधिकारीले बताए। ‘अन्नपूर्ण आधार शिविर क्षेत्रको हेलिकोप्टर उडानबारे मैले बुझिरहेको छु। अन्नपूर्ण क्षेत्रको वातावरण बिग्रने गरी कुनै पनि उडान गर्न पाइँदैन,’ अधिकारीले भने, ‘त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको छु।’ उनले वातावरणमा प्रभाव पार्ने गरी आधार शिविर क्षेत्रमा अनावश्यक रुपमा उडान नगर्न निर्देशन दिएको बताए।

‘अन्नपूर्ण आधार शिविर क्षेत्रमा व्यावसायिक उडान गर्न उपयुक्त छैन। उद्धारका लागि मात्र हेलिकोप्टर उडान गर्न पाइन्छ,’ अधिकारीले पोखरामा पत्रकारसँग भने, ‘मैले उडान रोक्न प्राधिकरणलाई भनेको छु।’ हेलिकोप्टर चढेर जाने पर्यटकले अहिले एक्यापको प्रवेश अनुमति पनि नलिने र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको प्रवेश शुल्क समेत नतिर्ने गुनासो आइरहेको बेला मन्त्री अधिकारीले उद्धार र राहतका लागि मात्र हेलिकोप्टरको उडान हुने बताए। ‘उद्धार र राहतका काममा हेलिकोप्टर जान पाउँछन्,’ उनले भने।

अहिले आधार शिविरमा उडान र अवतरण हुने गरेकोले त्यसभन्दा केही तल वा टाढा अवतरण गरेर जान पाउने गरी व्यवस्थापन गर्न सकिने मन्त्री अधिकारीले बताए। ‘आधार शिविरभन्दा केही तलबाट उडान गर्न सक्छन्। तर, आधार शिविरमै पाइँदैन,’ उनले भने, ‘मैले नागरिक उड्डयन प्राधिकरणलाई यस विषयमा भनिसकेको छु। प्राधिकरणले काम गरिरहेको छ।’ हेलिकोप्टर नियमनमा गृह मन्त्रालयसँग पनि सहकार्य भइरहेको उनले बताए।

अन्नपूर्ण गाउँपालिकाले भने अहिले आधार शिविरका लागि हुने हेलिकोप्टर उडान झन्डै ६० प्रतिशत कटौती भएको बताएको छ। गाउँपालिका अध्यक्ष युवराज कुँवरले आधार शिविरको ६० प्रतिशतभन्दा बढी उडान रोकिएको बताए। ‘शतप्रतिशत रोक्न सकिएको छैन, तर ६० प्रतिशत उडान कटौती भएका छन्,’ कुँवरले भने, ‘सिजनको बेला भएकोले पर्यटकको आउजाउ बढ्दा त्यस क्षेत्रमा रेस्क्यु पनि धेरै गर्नुपरेको छ। त्यसले उडान बढी देखिएको हो। तर, सबै उडान आधार शिविरका लागि होइनन्।’

पर्यटकीय सिजन भएकोले यतिबेला पोखराबाट धवलागिरि क्षेत्र र मुक्तिनाथ मन्दिर दर्शनका लागि उडान भएकोले पनि बढी देखिएको कुँवरले बताए। ‘हामीले आधार शिविरका सबै उडान रोक्न खोजेका हौं। व्यावसायिक उडान त कुनै हालतमा गर्ने होइन,’ उनले भने। गाउँपालिका अध्यक्ष कुँवरका अनुसार समय अभाव भएका सीमित पर्यटकलाई छोटो समयमा आधार शिविर पुर्याएर फर्किन सक्ने व्यवस्था मिलाउन सके पर्यटनमा सकारात्मक प्रभाव पार्ने व्यावसायीको माग रहे पनि त्यसमा गाउँपालिकाले निर्णय नगरेको उनले बताए। ‘व्यावसायीको अनुरोध थोरै समय भएका पर्यटकका लागि मात्र छुट दिऔं भन्ने छ। तर हामीले मानेका छैनौं,’ उनले भने।

स्थानीय तहले मात्र हेलिकोप्टर उडान रोक्न कठिन भएको उनले बताए। ‘पर्यटन मन्त्रायलयले पनि यसमा चासो दिनुपर्छ,’ कुँवरले भने, ‘सबैको सहयोगमा बल्ल उडान रोक्न सकिन्छ।’ प्राकृतिक वातावरण बिग्रन नदिन गाउँपालिका सचेत रहेको उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले पनि हेलिकोप्टर उडान रोक्नुपर्ने बताए। ‘हामीले लामो समयदेखिको माग नै आधार शिविरमा हेलिकोप्टर उडान रोक्नुपर्छ भन्ने छ,’ भुजेलले भने, ‘सरकारले यसमा चासो दिएको छैन। यसलाई नरोकी हुँदै हुन्न।’ हेलिकोप्टर उडानका कारण पदयात्रा व्यावसाय धराशयी हुने भुजेलले बताए।

गत भदौ १ गतेदेखि अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक काम (राहत र उद्धार)मा बाहेक आधार शिविरमा हेलिकोप्टरको उडान र अवतरणमा रोक लगाएको थियो। सो क्षेत्रमा ध्वनि र वातावरणीय प्रदूषण गराएको तथा त्यसले वन्यजन्तुलाई असर पारेको भन्दै गाउँपालिकाले आधार शिविरमा हेलिकोप्टरको उडान र अवतरण रोकेको थियो। तर पर्यटकीय सिजनको मौका पारेर हेलिकोप्टर कम्पनिले गाउँपालिकाको अनुमति नलिई उडान थालेका थिए।

आधार शिविर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा पर्छ। त्यसैले विदेशी पर्यटकलाई त्यहाँसम्म जाँदा विशेष अनुमति चाहिन्छ। विदेशी पर्यटक आधारशिविर पुग्दा एक्याप र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको शुल्क तिर्नुपर्छ। अहिलेसम्म पर्यटकले दुवै शुल्क छल्दै आएका छन्। त्यसको मार राजस्वमा पनि परेको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार हेलिकोप्टर र पर्यटक कोही पनि करको दायरामा नरहेको गाउँपालिकाले बताउँदै आएको छ।

हेलिकोप्टरले अहिले पर्यटकलाई पोखराबाट आधारशिविर पुर्याएर आधा घन्टासम्म रमाउन समय दिन्थे। अनि तत्कालै पोखरा फिर्ता गराउँदा पर्यटकले त्यस क्षेत्र लामो समय घुम्न समेत पाएका थिएनन्। हिँडेर गएका पदयात्रीलाई आधार शिविर पुगेर फर्किंदा कम्तीमा एक साता लाग्छ। हेलिकोप्टरमा एक घन्टामै यो यात्रा हुँदै आएको थियो। पदयात्रा व्यावसायीले पनि आधार शिविरसम्मको हेलिकोप्टर उडान रोक्नुपर्ने बताउँदै आएका थिए।

प्रकाशित: २६ मंसिर २०७५ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App