१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्मचारी समायोजन काम सुरु

काठमाडौं – कर्मचारी समायोजन अध्यादेश जारी भएसँगै सरकारले कर्मचारी समायोजन कामको औपचारिक रुपमा सुरुवात गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकको स्थानीय निकायबाट नियुक्ति पाएका स्थायी कर्मचारीलाई १० दिनभित्र समायोजन गर्न देशभरका स्थानीय तहहरूलाई पत्राचार गरेसँगै कर्मचारी समायोजनको औपचारिक सुरुवात भएको हो।

मन्त्रालयले साविकको स्थानीय तहका कर्मचारीबाट समायोजन सुरु गरेको छ। मन्त्रालयका अनुसार साविकको स्थानीय तहमा स्थायी कर्मचारीहरुलाई १० दिनभित्र कार्यरत स्थानीय निकायमा समायोजन गरी समायोजनको पत्र दिन समेत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साविकको स्थानीय निकायका कर्मचारीको काम मंगलबारदेखि सुरु भैसकेको र निजामती कर्मचारीको अकमा अर्काे हप्ता समायोजनका लागि सूचना जारी गरिने बताए। ‘साविकका स्थानीय तहका कर्मचारीको हकमा मंगलबारदेखिनै समायोजन सुरु भैसकेको छ,’ थपलियाले नागरिकसँग भने, ‘ती कर्मचारीको समायोजन सकिएपछि रिक्त हुने पदमा निजामती कर्मचारीको समायोजनको काम सुरु हुन्छ।’

मन्त्रालयका अनुसार साविकको स्थानीय तहका कार्यरत कर्मचारीको समायोजनका लागि स्थानीय तहको कार्यपालिकाबाट निर्णय गराई सम्वन्धित कर्मचारीहरुलाई उनीहरूको स्थायी नियुक्ती पत्रको सक्कल प्रति रुजु गरि १० दिनभित्र समायोजनको पत्र दिन भनिएको छ। कर्मचारीलाई समायोजनको पत्र दिइएपछि सो को जानकारी मन्त्रालयमा समेत दिन मन्त्रालयले स्थानीय तहका प्रशासकीय अधिकृतहरूलाई परिपत्र गरेको छ। साविकका स्थानीय निकायका कर्मचारीलाई समायोजन गरेपछि बाँकी रहेका स्थानीय तहको रिक्त दरवन्दीमा सरकारी सेवाबाट कर्मचारी समायोजन गरिने भएकाले रिक्त विवरण समेत पठाउन भनेको छ।

समायोजन नसकिएसम्म सरुवा रोक्ने निर्णय

कर्मचारीको समायोजनको काम पूरा नभएसम्म सबै सरकारी कर्मचारीको समायोजन रोक्ने निर्णय गरेको छ। निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश राजपत्रमा प्रकाशित भएको भोलिपल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो।
मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय र स्थानीय तहहरुलाई समेत पत्राचार गर्दै समायोजन कार्य सम्पन्न नभएसम्म सरुवा सम्वन्धि कार्यलाई स्थगित गर्ने व्यवस्था गर्न भनेको हो। ‘कर्मचारी समायोजनका लागि १५ दिनभित्र अध्यावधिक गर्न गराउन सेवा सञ्चालन गर्ने निकायलाई पत्राचार गरिसकिएको छ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने ‘समायोजन गर्नुपर्ने अवधिमा सरुवा जारी रहँदा अवरोध पुग्न जाने हुँदा समायोजनको कार्य सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गर्ने व्यवस्था हुन पत्राचार गरिसकिएको छ।’

मन्त्रालयले राष्ट्रिय किताबखानामा रहेको कर्मचारीको विवरणमा १५ दिनभित्र आफ्नो विवरण अध्यावधिक गर्न सवै कर्मचारीलाई एसएमएस पठाइसकेको छ। मन्त्रालयका सचिव थपलियाका अनुसार कर्मचारीले समायोजनका लागि आपूm खटिएको कार्यालयमा उपस्थित भई विवरण भर्नुपर्नेछ। आफ्नो विवरण भर्न नसक्नेहरुका लागि मन्त्रालयले ‘हेल्प डेक्स’ को स्थापना गर्ने तयारी गरिरहेकोछ।

हप्तादिनभित्रै समायोजनको सूचना

सरकारले साविकको स्थानीय निकायका कर्मचारीको समायोजन सकेपछि हप्तादिनभित्रै निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समोजनका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ। मन्त्रालयका अनुसार आगामी मंगलबारभित्रै २१ दिनको अवधि दिएर कर्मचारीलाई समायोजनको सूचना प्रकाशन गरिनेछ। मन्त्रालयले समायोजनको सूचना र समायोजनका लागि दिनुपर्ने निवेदनको ढाँचा तयारी गरिरहेको छ। मन्त्रालयका सचिव थपलियाले अब बढीमा ४५ दिनभित्र समायोजनको सबै काम वारपार हुने बताए।

प्रकाशित: २६ मंसिर २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App