१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरेलु हिंसाको चपेटमा महिला

काठमाडौं - काठमाडौंकी २५ वर्षीय अञ्जली श्रेष्ठको बाआमा उनी सानै छँदा बिते। त्यसपछि उनलाई एक एकदम्पत्तीले पालनपोषण गरे। समयक्रममा उनको विवाह भयो। तर सो सम्बन्ध लामो टिकेन। तीन वर्षअघि सिन्धुपाल्चोकका व्यक्तिसँग उनको दोस्रो विवाह भयो। तर दुर्भाग्य ! विवाह गरेको केही समयमै पतिले उनलाई पेट्रोल छर्केर आगो लगाइदिए। आगोले उनको अधिकांश शरीर जल्यो। परिवारजनले उनको उपचार त गरे तर आफैं आगो लागेको भन्ने सर्तमा। कसैकसैलाई त आफैंले आगोले जलाएको सम्म भनिन्।

आगोले जलेपछि उनको शारीरिक अवस्था पहिला जस्तो भएन। अपांग भइन्।

घर परिवारले उनलाई निकाला गरिदिएपछि उनी धर्ममातापिताकै शरणमा शरणमा पुगिन्।

आफ्नो हक अधिकारको लागि उजुरबाजुर गर्न उनीसँग नागरिकता पनि थिएन। नागरिकता बनाउन धाउने क्रममा उनी ‘डब्लुएचआर’ नामक संस्थामा पुगिन्। सो संस्थाले उनलाई जलेकाहरुको उपचार तथा पुनस्र्थापना गर्ने संस्था विविएस नेपालसँग सम्पर्क गराइदियो।

विविएस नेपालले उनलाई आश्रय दियो। उपचार गराइदियो। जलेर बिग्रेको अंगहरुको प्लास्टिक सर्जरी पनि भयो। संस्थाले उनलाई रोगजार पनि दियो। हाल उनी सामान्य जीवनयापन गरिहरहेकी छिन्। घरायसी हिंसाका कारण शरीर जल्नु र अपहेलित हुनुको तीतो अनुुभव उनीसँग छ।

गत आइतबार राष्ट्रिय महिला आयोगद्वारा आयोजित हटलाइन स्थापना दिवसको अवसरमा अञ्जलीले व्यथा सुनाएकी हुन्। ‘पानी लिन धारामा जाँदा जलेको मान्छेले छोएको पानी खानु हुँदैन भनेर गाउँलेले मलाई बाहेक गरे,’ उनले दुखेसो व्यक्त गरिन्। जलेका व्यक्तिहरु अपांग हुने हुँदा उनीहरुका लागि सुरक्षा तथा सम्मानको व्यवस्था हुनुपर्ने उनले बताइन्। सबै निकायको इमान्दारीपूर्ण कामले मात्र महिला हिंसा अन्त्य हुने धारणा उनले सार्वजनिक गरिन्। ‘सबै निकायले मिलेर काम गरौं। महिलामाथि हुने हिंसाकै अन्त्य भयो भने जलाउने काम पनि अन्त्य हुन्छ,’ अञ्जलीले भनिन्।

पोखराकी २७ वर्षीया जानुका शर्मा (नाम परिवर्तन) १३ वर्षकी थिइन्। दश वर्ष अघि उनी आमाबुवासँग भारतमा बस्थिन्। रहँदा बस्दा एक ओभरसियरसँग उनको भेट भयो।

सम्बन्धअघि बढ्दै गयो। उनी गर्भवती भइन्। गर्भसँगै उनीहरु नेपाल आए। ओभरसियरले उनलाई पोखरामा राखे। घरमा लगेनन््। उनी आफ्नो अधिकारको खोजी गर्दै घरसम्म पुगिन्। घरपुगेपछि उनीमाथि कुटपिट भयो। उनलाई घरनिकाला गरियो। ‘मलाई अर्काको गर्भ रहेको आरोप लगाएर निकाले,’ उनले भनिन्। शारीरिक र मानसिक यातनाले उनमा मानसिक समस्या देखिन थाल्यो। हुँदाहुँदा कडा मानसिक रोगको चपेटामा परिन्। सडकमा लापरबाह हिँड्दै गरेको अवस्थामा प्रहरीले फेला पा-यो।

उनलाई कोशिश संस्थाले उद्धार ग-यो। उनी सात वर्षको छोरासँग सो संस्थाको आश्रयमा छिन्। मानसिक रोगको उपचार पनि चलिरहेको छ। औषधि पनि खाइरहेकी छिन्। उनी पनि आयोगको कार्यक्रममा सहभागी थिइन्।

सोही कार्यक्रममा अर्की एक महिलाले आफ्नो व्यथा सुनाइन्। उनलाई सानैमा सौतेनी बुवाले भारतमा लगेर बिक्री गरिदिएका थिए। त्यहाँबाट भागेर उनी भुटान पुगिन्। भुटानबाट बर्मा। त्यहाँ उनले नक्कली पासपोर्ट बनाइन् र नेपाल फर्किइन्। नेपाल आएर गुजाराका लागि पर्यटक गाइडको रुपमा काम गरिन्।

काम गर्ने क्रममा एक पर्यटकले उनलाई नक्कली डलरको काण्डमा फसाइदियो। उनी जेल परिन्। जेलमा उनको पूरानो मानसिक समस्या बल्झियो। जेलमा राम्रो उपचार र औषधिको अभावमा रोगले उनलाई गाँज्दै लग्यो। उनको समस्या बढ्दै गएपछि उनी ट्रान्जिट होमको आश्रयमा पुगिन्।

जीवनमा उनले पाएका यातनाका शृंखलाले उनलाई भएको मानसिक रोगले हाल पनि उनी पुरुष मान्छे देखेपछि डराउने गर्छिन्।

महिला हिंसाका यी तीन घटनाबाहेक नेपाली समाजमा विभिन्न बहानामा हिंसा हुने गरेको केआइ नेपालका इन्द्रराज भट्टराईले बताए। पछिल्लो समय आन्तरिक बेचबिखन, जागिर लगाइदिने बहानामा, विदेश पठाउने बहानामा, विवाह गर्ने बहानामा भारत तथा तेस्रो मुलुकमा महिलामाथि नयाँ प्रकारको हिंसा हुने गरेको कार्यक्रममा विज्ञहरुले बताए।

केआइ नेपालको तथ्यांकअनुसार तीन सय ११ वटा वैदेशिक रोजगारीमा भएका हिंसाका उजुरी मध्येमा तीन सय आठ महिला मात्र छन्।

कार्यक्रममा सहभागी अपांग महिला टीका दाहालले यौनहिसां तथा अन्य दुव्र्यवहार अपांगता भएका महिलामाथि हुने गरेको बताइन्। ‘अपांगता महिलाहरु असक्त भएकाले सजिलै बालत्कारमा परिरहेका छन्। उनीहरुले भन्न नसकेको कारणले न्यायको लागि अप्ठेरो परिरहेको छ,’ उनले भनिन्।

नील हिरा समाजकी अध्यक्ष भूमिका श्रेष्ठले लैंगिक हिसांमा तेस्रो लिंगीमाथि हुने गरेको हिंसाको कुरा सरकारबाटै उपेक्षामा परेको बताइन्। संविधानमा तेस्रो लिंगीको अधिकारको प्रत्याभूत भए पनि देवयानी संहिताले तेस्रो लिंगीबारे कुनै बुँदा उल्लेख नगरिँदा राज्यबाट हिंसा भएको धारणा व्यक्त गरिन्। ‘तेस्रो लिंगीको अधिकार कागजमा आयो, व्यवहारमा भएन,’ उनले भनिन्।

कार्यक्रममा सरोकारवालाहरुले परिवारिक विखण्डनमा परेका, आर्थिक स्थिति कमजोर भएका, घरेलु हिंसामा परेका महिलामाथि पुनःअर्को हिंसा हुने गरेको जनाए। उनी अधिकांश विपन्न तथा सीमान्तीकृत समुदायका महिला छन्।

हिंसाविरुद्ध हटलाइन प्रभावकारी
महिला हिंसाविरुद्धको हटलाइन सेवा प्रभावकारी बनिरहेको राष्ट्रिय महिला आयोगले जनाएको छ। गत आइतबार हटलाइन सेवा १४४५ को एक वर्ष पूरा भएको अवसरमा सो जनाइएको हो। एक वर्षको अवधिमा यो सेवामा सात हजार दुई सय ६१ वटा सूचना मागिएको छ। तीन सय ५० जनाले उजुरी दर्ता गराएका छन्। हिंसामा परेका महिलालाई सेवामार्फत कानुनी, मनोसामाजिक परामर्श दिने र कतिपयलाई आश्रयको समेत व्यवस्था भइरहेको छ। आयोगले छिट्टै गुगल एप्सबाट पनि सेवा विस्तार गर्ने भएको छ।

प्रकाशित: २५ मंसिर २०७५ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App