१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रमुख नहुँदा व्यपारिक मार्ग निर्माण कार्य अलपत्र

बारा - भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लापरवाहीले गर्दा अर्बाैं रुपैयाँको लगानीमा सञ्चालन गरिएको  वीरगन्ज –पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्य अलपत्र पर्ने अवस्थामा पुगेको छ।

तीन अर्ब १२ करोड ४१ लाखको लागतमा निर्माण कार्य सुरु गरिएकाे उक्त मार्गकाे योजना कार्यालय लामो समय देखि प्रमुख विहिन हुँदा यसको प्रशासनिक काम देखि सडक निर्माणको कार्य समेत अलपत्र परेको छ। ‘गएको जेठ महिनामा तत्कालिन प्रमुख रबिन्द्रलाल दास सरुवा भए पछि दासको स्थानमा मेघराज मरासनी असार महिनामा आउनु भएको थियो,’ व्यपारिक मार्ग योजनाका ईन्जिनियर अशोक यादवले भने ‘मरासनीको सरुवा भएको दुई महिना हुन लाग्दा समेत अर्को योजना प्रमुखलाई मन्त्रालयले पठाएको छैन।’ योजना प्रमुख नहुँदा विकास निर्माण देखि दैनिक प्रशासनिक कार्यमा समेत समस्या उत्पन्न भएको यादवले बताए।

बाराको पथलैया देखि पर्साको सुख्खा बन्दरगाह रहेको सिर्सियासम्म २६ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीहरुले तीन अर्ब १२ करोड ४१ लाखको ठेक्का सकार गरी निर्माण कार्य सुरु गरेको उनले बताए।

आर्थिक वर्ष २०७२/७३ काे असार २८ गते दुई वर्ष भित्र निर्माण गर्न ए एम आर/पप्पु/कन–टेक जेभी, श्रेष्ठ/बिरुवा÷/एपेक्स जेभी, पप्पु/लुम्बनी जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी , ए एम आर/कन–टेक जेभीले ६ वटा प्याकेजमा ठेक्का सकार गरी निर्माण कार्य सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ को असार मसान्त भित्रमा निर्माण सम्पन्न गरिनु पर्ने व्यपारिक मार्गको निर्माण कार्य पहिला देखि नै ढिलो हुँदै गए पनि यसमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले विशेष ध्यान दिनुको साटो उल्टै योजनालाई पछि पार्ने काम गरिएको आरोप योजनाका अधिकारीहरुले लगाएका छन्।

सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले वीरगन्ज–पथलैया ६ लेनको व्यपारिक मार्ग योजनाको प्रमुखलाई सरुवा गर्ने अधिकार मन्त्रालयसँग रहेकोले सडक विभागले केही गर्न नसकेको बताए। पहिलादेखि नै निर्माण कार्यमा ढिलाई गरिएको ६ लेनको व्यपारिक मार्ग योजना प्रमुख दुई महिनासम्म नहुँदा योजनाको लागि राम्रो पक्ष नभएको महानिर्देशक श्रेष्ठले बताए।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको अनावश्यक हस्तक्षेपले गर्दा व्यपारिक मार्गको योजना प्रमुखलाई सरुवा गरिए पनि अर्काे प्रमुखलाई पठाउने कार्यमा ढिलाई हुँदै गएको मन्त्रालयका एक अधिकारीले बताए।रघुविर महासेठ भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुँदा अनावश्य रुपमा सडक विभाग अन्तर्गत रहेको योजनाका प्रमुखहरुलाई सरुवा गरेर काठमाडौंमा थन्काए पछि धेरै योजनाहरु अलपत्र परेको अधिकारीहरुले बताए।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका  सचिव मधुसुदन अधिकारीले सडक विभाग अन्तर्गत सञ्चालन गरिएका धेरै योजना प्रमुख विहिन रहेको र उक्त स्थानहरुमा अर्को व्यस्था गर्ने लागिएकाे बताउछन्।

प्रकाशित: २४ मंसिर २०७५ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App