१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पाँच वर्षमा दुई सय फिट जमिन मिचियो

ललितपुर हात्तिवनका विकास महर्जन हिजोआज दिनभर कर्मनसा खोला किनार डुल्छन्। पुरानो नक्सा हातमा बोकेर उनी खोलाको पहिले र अहिलेको वहावक्षेत्र नाप्छन्। उनले बोकेको नक्सामा खोलाको वहावक्षेत्र दुई सय २० फिट फैलिएको छ। तर, अहिले खोलामा पुगेर वहावक्षेत्र नाप्दा पुरानो नक्सासँग कसैगरी मिल्दैन। मुस्किलले २० फिट पुग्छ।

चारैतिरबाट मिचिएको खोलाको चौडा भागमात्रै गुमेको छैन, धारसमेत परिवर्तन भएको छ। ‘नागबेली लय’मा बगेको खोलालाई जग्गा व्यवसायी (जग्गा दलाल)ले सिधा पारेका छन्। पुरानो धारबाट करिब दुई सय मिटर वर धापाखेल साइटमा खोलालाई सोझ्याइएको छ। पुरानो धार अनुसार सिलौटे–हात्तीवनबाट खोला बग्नुपथ्र्यो। तर, अहिले जग्गा सोझो पारेर महँगोमा बेच्न व्यवसायीले खोला डाइभर्सन गरेर धापाखेलपट्टि फर्काइदिएका छन्।

पुरानो धार (हात्तिवन सिलौटै)बाट करिब दुई सय मिटर वर धापाखेल साइटमा खोलालाई सोझ्याइएको छ। पुरानो धार अनुसार सिलौटे–हात्तिवनबाट खोला बग्थ्यो। तर, अहिले जग्गा सोझो पारेर महँगोमा बेच्न व्यवसायीले खोला डाइभर्सन गरेर धापाखेलपट्टि फर्काएका छन्।

‘खोला किनारको जग्गामा व्यवसायीको मनलाग्दी छ, खोलाको मुख्य भाग खोसिएको छ,’ स्थानीय महर्जनले भने, ‘तर, प्रशासनिक निकायले यसबारे चासो देखाएको छैन, स्थानीयले मात्रै विरोध गरेर खोला बच्दैन।’

उनका अनुसार पाँच वर्षअघिसम्म दुई सय २० फिट क्षेत्रफल भएर बग्ने खोला अहिले २० फिटमा खुम्चिएको छ। जग्गा व्यवसायीले खोला आसपासको जग्गा मिच्दै पर्खाल उठाएपछि कर्मनसा साघुँरिएको हो। अझै पनि केही क्षेत्रमा खोला साघुँरो पार्न डोजर चलाइएको छ।

बुधबार नागरिककर्मी त्यहाँ पुग्दा सिलौटेस्थित कर्मनसा खोलाको धार परिवर्तन गर्न एक्जाभेटेर चलाइएको थियो।
जग्गा व्यवसायीले खोलाको धार परिवर्तन गर्न उक्त एक्जाभेर चलाएको स्थानीय श्यामकृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार यहाँ क्रमिकरूपमा पाँच वर्षयता खोलामा पर्खाल उठाएर वहावक्षेत्र साघुँरो पार्न थालिएको हो। ‘यो क्षेत्रको जग्गा कृषि उत्पादनका लागि एकदमै उर्वर  मानिन्छ। तर, अहिले सबैतिर प्लटिङ मात्रै भइरहेको छ,’ उनले भने, ‘यसबारे नगरपालिका र अन्य निकायले कुनै चासो देखाएको छैन।’

यो खोला सानागाउँ, टीकाथली, इमाडोल हुँदै बग्ने गोदावरी खोलामा मिसिन्छ। हात्तीवनदेखि इमाडोलसम्म नै यो खोलाको बहाव क्षेत्र साँघुरो पारिएको छ। हरिसिद्धिका स्थानीयवासीका अनुसार पाँच वर्षअघिसम्म खोलाको वहाव क्षेत्र फराकिलो थियो। अहिले खोला किनारमा पर्खाल उठाएर २० फिटमा झारिएको छ। कतिपय ठाउँमा त अझ २० फिट पनि छैन। युरो र सिलौटे हाउजिङले सबैभन्दा बढी खोलाको जग्गा मिचेका छन्। युरो हाउजिङ, सिलौट हाउजिङ, जग्गा व्यवसायी कुमार अधिकारी, रञ्जन थापा लगायतले उक्त खोलामा जग्गामा प्लटिङ र संरचना बनाएका छन्।

नक्सा पासबिनै खोला किनारमा पक्की घर बनाइएका छन्। यी दुई कम्पनी र व्यक्तिले खोलाको जग्गालाई प्लटिङ गरेर काँडेतार लगाएका छन् भने केही भागमा संरचना समेत निर्माण गरिएको छ। ‘यो खोला हरिसिद्धिवासीको जीवनसँग जोडिएको छ, यसलाई सबैले जोगाउनुपर्छ, किनारमा केही सरसफाई गर्ने हो भने पानी पिउन पनि मिल्छ,’ स्थानीय हरिष महर्जनले भने, ‘उपत्यका बाहिरबाट आएका वासिन्दालाई जग्गा व्यवसायीले झुक्याएर समेत खोलाको जग्गा बेचेका छन्, ती जग्गामा घर बनाउँदा नक्सापास भएको छैन।’ उनका अनुसार हरिसिद्धि सिलौटेस्थित खानेपानीको ट्यांकीले पनि खोलाको जग्गा मिचेको छ। ट्यांकी बनाउँदा खोलाको धार नै परिवर्तन गरेर संरचना बनेको छ।

हात्तीवनमा रहेको लिटिल एन्जल्स स्कुलले पनि खोलाको जग्गा मिचेर भवन बनाएको नक्सामा उल्लेख छ।

करिडोरको तगारो भवन
उपत्यकाभित्र करिडोर सडक खोल्ने क्रम बढेको छ। करिडोरका सडकले मुख्य सडकमा हुने सवारी जामलाई ठूलो राहत पनि पु-याएको पाइन्छ। तर, सिलौटे हुँदै इमाडोलसम्म करिडोर खोल्न मिल्ने कर्मनसा खोलाको वरपर संरचना बनेका छन्। त्यसले करिडोर खोल्न बाधा पु-याएको छ। हात्तीवन, इमाडोल र बालकुमारी पर्ने केही भागमा करिडोर खोलिए पनि सिलौटेमा भने घर बनेका कारण करिडोर बन्न सकेको छैन। खोलाको धार नै परिवर्तन भएकाले कहाँबाट करिडोर खोल्ने भन्ने अलमल भएको ललितपुर महानगरपालिका–१५ का वडा अध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए। ‘करिडोर खोल्न सबैभन्दा कठिन विषय नै जग्गा अतिक्रमण बन्ने देखिएको छ,’ मिश्रले भने, ‘यसबारे माथिल्लो निकायसँग कुरा पनि राखिसकेका छौंँ, खोलाको वहाव पुरानै ठाउँमा पु-याएर करिडोर खोल्छौं।’ उनले नक्सापास नभएका र बिना अनुमति बनेका संरचना भत्काइने बताए।

उनका अनुसार यो क्षेत्रको करिडोर खोल्न वडा र नगरपालिकाले मात्रै नसक्ने हुँदा यसबारे काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले चासो दिनुपर्ने देखिन्छ। तर, प्राधिकरणले यसबारे खासै चासो नदेखाएको वडा अध्यक्ष मिश्रको भनाई छ।

पल्टिङले खायो खेतीयोग्य जमिन
हात्तिवन र सिलौटे क्षेत्र कृषि उत्पादनको लागि उर्वर जमिन मानिन्छ। तर, पछिल्लो समय उर्वर भूमी प्लटीङले खाएको छ। कृषियोग्य जग्गालाई टुक्राएर किनबेच गर्न थालिएको छ। कर्मनसा खोला आसपासको करिब दुई सय रोपनी उत्पादनमुखी खेतबारी पनि टुक्रे जग्गामा परिणत भएको छ। यसले यहाँको जग्गाको मूल्य पनि बढाएको स्थानीय बताउँछन्।

‘इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्वर माटो रुखो र कडा बनाएको छ,’ स्थानीय राजेश मालीले भने, ‘केही व्यवसायीका कारण हामीलाई अप्ठेरो परेको छ, भट्टा चलाएपछि त झन् जग्गाको साइज पनि बिग्रिएको छ।’

प्रकाशित: २४ मंसिर २०७५ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App