१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधको बजार व्यवस्थापनमा अब्बल बन्दै दुग्ध सहकारी

काठमाडौं - बाराको डुमरबानाका किसान जीवनकुमार भट्टराईले वार्षिक १३ लाख रुपैयाँको दूध उत्पादन गर्छन्। भट्टराईलाई दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन।

उत्पादित दूध आफ्नै गाउँको डुमरबाना दुग्ध उत्पादक सहकारी संस्थाले किनेर बिक्रीको प्रबन्ध मिलाउँछ। भट्टराईमात्र होइन सोही स्थानका प्रमोद अधिकारीलाई पनि दूध बेच्ने पिरलो छैन। ‘घरछेउकै संकलन केन्द्रमा दिन्छौं,’ अधिकारीले भने, ‘सहकारीमार्फत दूध बेच्न निकै सजिलो छ।’ मासिक करिब ६० हजार रुपैयाँको दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा अधिकारी प्रफुल्ल छन्।

डुमरबाना दुग्ध उत्पादक सहकारीले भट्टराई र अधिकारी जस्ता सयौं किसानको दूध संकलन गरेर बिक्री गर्दै आएको छ। घरैपिच्छेका किसान दूध बेच्न बजार चहार्दा समस्या भएपछि स्थानीयले दुग्ध उत्पादक सहकारी सञ्चालनमा ल्याएका हुन्। त्यसपछि किसानलाई निकै सजिलो भएको छ।

आफ्ना किसान सदस्यबाट दैनिक १० हजार लिटर दूध संकलन गर्ने गरेको डुमरबाना दुग्ध उत्पादक सहकारी संस्थाका प्रबन्धक खगेन्द्रप्रसाद घिमिरेले बताए। घिमिरेका अनुसार सहकारीले वार्षिक करिब २२ करोड रुपैयाँको दूध बिक्री गर्छ। ‘सहकारीले दूध बिक्रीको व्यवस्थापन गरेपछि किसान पशुपालनमा आकर्षित भएका छन्,’ घिमिरले भने, ‘दूध बेच्ने झन्झट नहुँदा किसानलाई राहत भएको छ।’ उक्त सहकारीले दूध संकलन गरेर बाराकै पथलैया, हेटौंडा, काठमाडौंलगायत बजारमा बिक्री गर्छ।

डुमरबानाको सहकारी जस्तै नवलपरासीको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पनि साबिक मुकुन्दपुर गाविसको ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्रीको प्रबन्ध मिलाएको छ। उक्त सहकारीले साढे पाँच सय किसानले उत्पादन गरेको करिब १४ करोड रुपैयाँको दूध संकलन गरेर बिक्री गरेको छ। सहकारीले किसानसँग संकलन गरेको दूधका साथै दूधका परिकार पनि तयार गरेर बेच्छ।

पछिल्लो समय विषयगत सहकारी खोल्ने क्रमसँगै दुग्ध उत्पादक सहकारी संस्था खोल्ने क्रम बढेको छ। दुग्ध सहकारी दूधको बजार व्यवस्थापनमा अब्बल देखिएका छन्। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध सहकारी सहज रुपमा बिक्रीको व्यवस्था मिलाएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए। सहकारीले ग्रामीण क्षेत्रबाट दैनिक नौ लाख लिटर दूध संकलन गरेर बजारमा बिक्री गर्दै आएको देवकोटाले बताए। ‘दुग्ध सहकारीले दैनिक चार करोड रुपैयाँ हाराहारीको दूध बेचेर सहरको पैसा गाउँ पु¥याएका छन्,’ उनले भने, ‘उत्पादित दूधले बजार पाएपछि किसान पशुपालनमा उत्साहित भएका छन्।’

विगतमा व्यापारीले धेरै मुनाफा राखेर दूध खरिद गर्दै आएकोमा सहकारीमार्फत खरिद गर्दा किसानले उचित मूल्य पाएका छन्। मुलुकभर खुलेका दुग्ध सहकारीले दूधको उत्पादनदेखि बिक्रीसम्मको व्यवस्थापन मिलाएपछि किसानले उत्पादनमा मात्रै चासो राखे पुग्ने भएको छ। सजिलोले गर्दा नै उनीहरु पशुपालनमा आकर्षित भएका हुन्।

किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापन उचित नभएकैले दुग्ध सहकारी स्थापनालाई व्यापकता दिएको देवकोटाले बताए। सहकारीले दूध बिक्री गर्नुका साथै दही, खुवा, पनिर, बटर, घिउ, फ्रेस क्रिमलगायत दुग्धजन्य वस्तुसमेत उत्पादन गर्दै आएका छन्। सहकारीले दूध संकलनका अतिरिक्त सदस्यका लागि दाना, बिमा, कृत्रिम गर्भाधानमा पनि सघाएका छन्।

चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। पशुपालक किसानलाई गुणस्तरीय दाना उपलब्ध गराउन उद्योग सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए। उक्त सहकारीले गाई फार्म पनि सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रको दूध सहकारीले संकलन गरेर बजार पु-याउने संयन्त्र बनाएपछि उत्पादन बढाउन सहयोग पुगेको छ।

अहिले ६३ जिल्लामा दुग्ध उत्पादक सहकारी संस्था रहेको केन्द्रीय संघले जनाएको छ। मुलुकभर दुग्ध उत्पादक सहकारी संस्थाको संख्या १८ सय ७२ पुगेको छ। जिल्लामा दर्ता भएका १६ सय ५५ प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्था र ३५ जिल्ला दुग्ध उत्पादक संघमध्ये ८२७ संघ–संस्था केन्द्रीय संघमा आबद्ध भएका छन्। सहकारीका कारण दूधको उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सघाउ पुगेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

दूधबाट तुरुन्त आम्दानी हुने भएपछि गाउँका सर्वसाधारण पशुपालनबाट स्वरोजगार भएका छन्। दुग्ध सहकारीमा मात्रै तीन सय ८१ महिला र एक हजार दुई सय ७२ पुरुष गरी एक हजार ६ सय ५३ जनाले रोजगारी पाएका छन्। सहकारीबाहेक दुग्ध व्यवसायमा आबद्ध करिब साढे चार लाख र सहरी क्षेत्रमा डेरी उद्योगमार्फत २० हजार गरी चार लाख ७० हजारले रोजगारी पाएको नेपाल डेरी एसोसिएसनले जनाएको छ। मुलुकभर आर्थिक वर्ष ०७४÷७५ मा २१ लाख ४० हजार टन दूध उत्पादन भएको थियो। दूधले बजार पाएपछि किसान पनि व्यावसायिक पशुपालनमा आकर्षित भएका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App