१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तेस्रो बैठक गर्न चिनियाँ टोली काठमाडौंमा

गत वर्ष कात्तिकमा केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गर्न आएको चिनियाँ उच्चस्तरीय टोली। फाइल तस्बिर : नागरिक

काठमाडौं - केरुङ–काठमाडौं रेलमार्गको तेस्रो नियमित बैठक गर्न चिनियाँ टोली आइतबार काठमाडौंमा आइपुगेको छ। अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने विषयमा थप छलफल गर्न चिनियाँ टोली आएको हो।

आइतबार नेसनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेसनको टोली काठमाडौं आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। ‘केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न तेस्रो बैठक गर्न लागिएको छ,’ मिश्रले भने, ‘यो नियमित बैठक हो।’ सोमबारदेखि दुईपक्षीय बैठक सुरु हुनेछ।

यस बैठकले बहुचर्चित अन्तरदेशीय काठमाडौं–केरुङ रेलमार्गको विषयमा थप छलफल गर्नेछ। उक्त रेलमार्ग निर्माण गर्ने विषयमा यस बैठकबाट थप प्रगति हुने विश्वास नेपाली पक्षले लिएको छ।

रेलमार्ग बनाउने विषयमा प्रारम्भिक चरणको छलफल मात्र भइरहेको छ। ७२ किलोमिटर लामो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनै बाँकी छ।

दुई देशबीच नियमित बैठक गर्ने यसअघि नै निर्णय भएकाले निश्चित अजेन्डा भने तय नभएको मिश्रले बताए। सोमबारबाट सुरु हुने बैठकमा रेलमार्गका विभिन्न विषय उठ्नेछन्। चिनियाँ टोलीले पहिले नै केही जानकारी नगराए पनि बैठकका क्रममा केही अजेन्डा चिनियाँ टोलीले राख्न सक्ने उनले बताए।

रेलमार्ग निर्माणको विषयमा यसअघि दुईवटा औपचारिक बैठक सम्पन्न भइसकेका छन्। पोहोर कात्तिकमा चिनियाँ उच्च अधिकारीको टोलीले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययनपछि काठमाडौंमा तीनदिने बैठक सम्पन्न भएको थियो।


त्यस्तै, वैशाख दोस्रो साता चीनमा दुई देशको संयुक्त दोस्रो बैठक सम्पन्न भएको थियो। उक्त बैठकले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनको जिम्मा चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटलाई दिने निर्णय गरेको थियो। उक्त बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्यीय टोली सहभागी भएको थियो।

अहिलेसम्म उक्त रेलमार्ग बनाउने विषयमा प्रारम्भिक चरणको छलफल मात्र भइरहेको छ। ७२ किलोमिटर लामो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनै बाँकी छ।

गत वर्ष चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिसकेका छन्। केरुङ–काठमाडौं ७२ किलोमिटर लामो उक्त रेलमार्गमा चल्ने रेल प्रतिघन्टा एक २० किलोमिटर दौडने  र अधिकांश ठाउँमा पुल र सुरुङ हुने टोलीको अध्ययनले देखाएको थियो।

उक्त रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान गरिएको छ। त्यस्तैगरी, चार हजार मिटरबाट एक हजार चार सय मिटरमा झर्नुपर्ने भएकाले ओरालो रेलमार्गका लागि चुनौती भएको चिनियाँ टोलीले बताएको थियो।

पोहोर कात्तिकमा आएको चिनियाँ टोलीले स्थलगत अध्ययनपछि केरुङ–काठमडौं रेलमार्ग अप्ठेरो भए पनि बनाउन सकिने निचोड निकालेको थियो। उक्त टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर, प्राविधिक समेत सहभागी थिए।

तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको बेला उक्त रेलमार्ग निर्माणमा गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चीन सरकारले गरेको थियो। महरा रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेर स्वदेश फर्केका थिए। त्यसैको सिलसिलामा चिनियाँ टोली नेपाल आएर स्थलगत अध्ययन गरेको हो।

प्रकाशित: २४ मंसिर २०७५ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App