१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नगरमा अनियमितता भएको भन्दै पूर्व प्रधानमन्रत्रीलाई ज्ञापनपत्र

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चालन भएका विभिन्न योजनामाथि छायाँ सरकारले आर्थिक पारदर्शीताको प्रश्न उठाएको छ। पाँच दिने अध्ययन भ्रमणका सिलसिलामा बुधबार खोटाङ आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै नगरपालिकामा प्रतिपक्षीकारुपमा गठित कांग्रेसको छायाँ सरकारले अनियमितताको आरोप लगाएको हो।

नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छायाँ सरकारले कतिपय योजना सञ्चालनकाक्रममा कानून मिचिएको तथा कतिपय योजना सञ्चालनकाक्रममा आर्थिक हिनामिना भएको दाबी गरेको छ।

कांग्रेसको छायाँ सरकारका प्रमुख तिर्थराज भट्टराईले बुझाएको ध्यानाकर्षणपत्रमा दिक्तेलको हाटडाँडाबाट बुद्धेश्वर महादेबतर्फ जाने बाटोमा मापदण्ड विपरित गेट निर्माण गरिएको, दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका–६ नेर्पास्थित भुलभुले देउधाममा मध्यपहाडी लोकमार्गको मापदण्ड विपरित संरचना बनाइएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पनि सडकको मापदण्ड विपरित आँखा पोखरी निर्माण गरिएको उल्लेख छ।

यस्तै, छायाँ सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित पञ्चदोबाटोमा टहरा निर्माण, दिक्तेल–दुम्ली–रतन्छा सडक मर्मत, जिल्ला अस्पतालबाट खोटाङबजारतर्फ जाने सडक अतिक्रमण भएको, ई–हाजिरीको उपकरण खरिदमा अनियमितता गरिएको, पटक–पटक बजेट बिनियोजन हुँदै आएको भवनगैरामा पछिल्लो समय विनियोजित रकममा हिनामिनाको आशंका गरेको छ। यस्तै, गत वर्ष सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा लाखौं खर्च हिनामिना भएको, दिक्तेलको अल्छेढुंगामा बाटो ढलान हुँदा अनियमितता भएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय गुणस्तरहिन ढंगले निर्माण गरिँदा हाल आधा भत्किएको र आर्थिक अनियमितता भएको, भवनगैराबाट कृषि ज्ञान केन्द्रसम्मको बाटो निर्माणकाक्रममा प्रशासन र कृषि ज्ञान केन्द्रको जग्गा अनुमतीबिना अतिक्रमण गरेर सडक निर्माण गरेको र हिनामिना गरेको, कृषि, शिक्षा, स्वास्थ्य लगायतका शिर्षकमा आएको रकममा हिनामिना भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा गोठेमल सुधार कार्यक्रमका लागि बिनियोजित १४ लाख ३० हजार रकमले सन्तोषजनक काम नभए पनि वडाध्यक्षलाई सम्मान गरेर भ्रष्टाचारलाई बढावा दिएको, सोही वडाका वडाध्यक्ष लिला चौहानबाट शिक्षिकामाथि यौन दुव्र्यबहार भएको लगायतका विषयमा पूर्वप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छायाँ सरकारका प्रमुख भट्टराईले बताए।

छायाँ सरकारले त्रि–धार्मिकस्थल हलेसी, दिक्तेलको कालीका भगवती मन्दीर, बराहपोखरी, रुपाकोट, टेम्के, सोनापाताल, भुम्जु, जन्तेढुंगा, भानुमथी, दिप्लुङ छाँगा लगायतको पर्यटन प्रवद्र्धनका लागि पहल गर्न पूर्वप्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App