१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

संस्कार र परम्परा

कहिलेकाहीँ हामी नजिकका आफन्तको महत्व बुझ्दैनौँ । छेउमै भएको महान् आत्मालाई पनि कम आँक्छौँ । दुःख, आपत् र दुर्दिनका अवस्थामा मात्र कोही हुनु वा नहुनुको महत्वबोध हुनपुग्छ । यो कुरा कुनै समाज वा परिवारको कुरा मात्र होइन, हरेक समाज र हरेक परिवारको कथा हो। हिजोसम्म आँगनमा हाँसीखेली गरिरहेको व्यक्ति आज अचानक नहुनुको बोध कति पीडादायी हुन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिँदैन।

गएको महिना मेरा ससुरा बुबा हेमराज ज्ञवालीको निधन भयो। उहाँ मिडिया क्षेत्रमा अति प्रख्यात व्यक्तित्व हुनुहुन्थ्यो। उहाँलाई गुमाएको १३ औँ दिनसम्म हामीले आशौच बार्यौं। र, यी दिनमा जे अनुभूत गरेँ, त्यसले मलाई केही सिकाएर गएको छ । सिकेका सबै कुरा या यसका सकारात्मक वा नकारात्मक पाटो, यो एउटा पातोमा व्यक्त गरेर साध्य पनि छैन र मेरो सामर्थ्य पनि। मैले केही सीमित कुरालाई मात्र यहाँ राख्ने प्रयास गरेकी छु।

आजको व्यस्त समाजमा हामी आ—आफ्नो कार्यक्षेत्रमा भागदौडमा लागिरहेका हुन्छौँ । परिवारलाई समय दिन हामीले बिर्सेका हुन्छौँ। जब कसैको मराउपराउ हुन्छ, यस किसिमको दुःखमा सम्पूर्ण परिवार भेला हुने, सँगै बस्ने, एकअर्कालाई सपोर्ट गर्ने गर्छौं। यो असाध्य राम्रो मान्यता हो।

हाम्रो समाज होस् वा घर–परिवार हामीले कतिपय कुरा, विचार वा गतिविधि यत्तिकै अज्ञानतावश वा परम्पराका नाममा प्राथमिकता दिएर निरन्तरता दिइराखेका हुन्छौँ। यस्ता परम्परामध्ये कुनै कुरा राम्रै हुन्छन् र समय–सान्दर्भिक नै देखिन्छन् । कुनै परम्परा भने आधुनिक समयानुकूल हुँदैनन् । हामीभन्दा अघिकाले कुनै काम निरन्तरता दिएका कारण नै हामीमध्ये अधिकांशले बिना प्रश्न वा जिज्ञासा त्यसलाई अँगाल्ने कुरा समय सान्दर्भिक नहुन सक्छ।

हुन त कतिपय अवस्थामा हाम्रो नेपाली मृत्युसंस्कारका कतिपय विषयलाई केलाउनुपर्ने, समयसान्दर्भिक बनाउनुपर्ने कुरा नउठेका पनि होइनन्। नराम्रा पाटालाई सच्याएर अघि बढाउनुपर्छ र राम्रा पाटालाई अझ बढी परिस्कृत बनाउनुपर्छ, यो सर्वकालीक सत्य हो।

यो सामाजिक होस् वा राजनैतिक–आर्थिक सर्वत्र लागू हुन्छ । हामीले नराम्रा पाटाहरुलाई परिवर्तन ल्याउने र त्यसका लागि पहल गर्नुपर्ने हुन्छ नकि मैले पनि गरेँ, उसले पनि गर्यो भन्दैै चुप लाग्यो भने हामी प्रगतिशील हुन सक्तैनौँ । यस्तो भयो भने हामी मूढ हुन पुग्छौँ।

किरिया बस्दाका तेह्र दिनसम्म संसारकै प्यारो आफन्त बित्दा सबै (छोरा, बुहारी, श्रीमती, दाजुभाइ, दिदीबहिनी) एकै ठाउँमा भेला हुने, नून बार्ने, हल्का रङको लुगा लगाउने, छोरा र श्रीमतीले सेतो लुगा लगाउने हाम्रो परम्परा छ । सेतो लुगा स्वच्छता र शान्तिको प्रतीक पनि हो ।

आजको व्यस्त समाजमा हामी आ—आफ्नो कार्यक्षेत्रमा भागदौडमा लागिरहेका हुन्छौँ । परिवारलाई समय दिन हामीले बिर्सेका हुन्छौँ। जब कसैको मराउपराउ हुन्छ, यस किसिमको दुःखमा सम्पूर्ण परिवार भेला हुने, सँगै बस्ने, एकअर्कालाई सपोर्ट गर्ने गर्छौं। यो असाध्य राम्रो मान्यता हो। त्यस्तै आफन्त बित्दा हामीले हाम्रो मानसिक सन्तुलन गुमाएका हुन्छौँ। हाम्रो रक्तचाप बढिरहेको हुन्छ। त्यतिखेर हामीले नून छोड्नु भनेको रक्तचापलाई सन्तुलनमा ल्याउनु हो । मृत्यु संस्कारका यस्ता धेरै कुराहरु राम्रा छन्।

हिजोआज मृत्युसंस्कारलाई १३ दिनबाट घटाएर नौ वा सात वा पाँच दिन बार्ने कि भन्ने बहस चर्चामा आएको देखिन्छ। भन्ने नै हो भने आजको दिन पनि कसैले १३ दिन, कसैले ७ दिन कसैले बारेकै छैनन्। यस्ता संस्कारहरुलाई हामीले राम्रा पक्षमा लिनु पर्छ। संसारभरि नै आफन्तको निधन भएका बेला तिनका शिक्षा, देन, तिनले आफ्नो जीवनमा पारेको प्रभावका बारेमा मनन् गर्ने, तिनको चिहानमा गएर हरेक वर्ष श्रद्धाञ्जली व्यक्ति गर्ने चलन नै छ।

बुबा, आमा, दाजुभाइ बित्दा तेह्र दिन बार्नु भनेको कुनै ठूलो कुरा होइन । हामीलाई जन्म दिई हुर्काउने, शिक्षादीक्षा दिई यो संसारमा एउटा योग्य व्यक्ति र सफल नागरिकको रुपमा उभ्याउन यत्रो मिहिनेत गर्ने व्यक्तिको सम्झनामा १३ दिन बार्नु कुनै ठूलो कुरै होइन।

तर यस्ता परम्परालाई मूढ भएर त्यसैका पछि लाग्नुपर्छ भन्ने पनि हुँदैन। चिसोमा घरबाहिर, ढुंगेधारा वा धारामा बाहिर खुला ठाउँमा नुहाउने गर्दा ७०÷८० वर्षका सन्तान हुन् या पत्नीका लागि यातना नै हुने गर्छ। १३ दिनसम्म घनघोर पीडाका अवस्थामा छोरा–बुहारी, नाति–नातिनासँग अँगालो हालेर धक फुकुञ्जेल रुन नपाउनु, छुनसमेत नहुने नियम अलि मानवोचित महसुस हुँदैन।

शोकले आकुल भएका व्यक्तिलाई अँगालो हालेर थुम्थुम्याउन नपाउनु अलि रुढता भयो कि? जतिबेला ढाढस र अँगालोको आवश्यकता पर्छ, त्यही बेला कसैले पनि छुन नहुने नियम राख्दा पीडित र दुःखीका लागि मलमको अभाव पो हुन्छ कि? कोही फोहोरी र अशुद्ध बालबालिका, व्यक्तिले मृत्यु संस्कारमा बसेको कोही ज्यादै संवेदनशील व्यक्तिलाई छुन हुँदैन । त्यसले उसलाई अझ बढी हानि पुर्याउन सक्छ। तर सफा, निरोगी, ढाढस दिन योग्य व्यक्तिले आशौच बारिरहेको व्यक्तिलाई उत्साह, ढाढस र ऊर्जा बाँड्न सक्छ। यसले उसमा जीवनप्रति सकारात्मक हुन प्रेरित गर्न सक्छ।

हामीले परम्पराका नाममा नराम्रा पाटाहरुलाई सच्याउँदै र राम्रा पाटाहरुलाई निरन्तरता दिँदै आफ्नो संस्कृति र संस्कारलाई अगाडि बढाउँदै लैजानु पर्छ। हाम्रो संस्कृति र संस्कारले हाम्रो अस्तित्व झल्काउँछ। त्यसैले यसलाई जोगाउने हो भने राम्रा कुरालाई बढावा र नराम्रा कुराको संशोधन गर्न जरुरी छ। aakriti72@gmail.com

प्रकाशित: २३ मंसिर २०७५ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App