१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सोनाको गीतमा खुल्ला कुरा

काठमाडौं – सबै गायकले एकै फ्लेबरका गीत गाउँछन् भन्ने छैन। कसैलाई मनोरञ्जक गीत मनपर्ला त कसैलाई सामाजिक सन्देशयुक्त। तर गायिका सोना अमात्य चाहिँ सुन्दा कानलाई आनन्द आउने र गुन्दा मनलाई शान्त पार्ने किसिमको गीत गाउन रुचाउँछिन्। हालसम्म दर्जन बढी गीत गाएकी सोनाले यस्तै गीतलाई प्राथमिकतामा राखेकी छिन्।

करिब ६ वर्षको उमेरदेखि नै गायन यात्रा शुरु गरेकी सोनाले सानै उमेरमा ‘देशव्यापी गायन प्रतियोगिता’मा प्रथम भएकी थिइन्। सोनाले चार वर्षअघि गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउँदै व्यवसायिक गायन सुरु गरेकी थिइन्। ‘पल पल’ बोलको गीतमा अभिनेता श्रेष्ठले सोनालाई गायनमा मात्र होइन, म्युजिक भिडियोको अभिनयमा पनि साथ दिएका थिए।

‘पहिलो गीतमा नै उहाँजस्तो कला साधकसँग काम गर्न पाउनु मेरो सौभाग्य थियो। त्यो छोटो भेटमा पनि उहाँबाट जेजति सिकेँ त्यसलाई आफ्नो काममा प्रतिबिम्बित गर्ने प्रयास गरिरहेकी छु,’ सोनाले भनिन्।

उनले ‘पलपल’, ‘सोनाज भाग १’ र ‘सोनाज भाग २’ एल्बम निकालिसकेकी छिन्। तर आफ्नो लागि गाउनेको भविष्य नदेखेपछि उनले गायनसँगै विज्ञापन व्यवसायलाई पनि अगाडि बढाएकी छिन्। सोना फुल सर्कल नेपाल एडभर्टाइजिङ एजेन्सीकी प्रबन्ध निर्देशक पनि हुन्।

गायिका अरुणा लामालाई गायनमा आदर्श मान्ने सोनाले हालै ‘म त खुल्ला छु’ शीर्षकको गीत ल्याएकी छिन्। आनन्द अधिकारीको रचना र शिखर सन्तोषको संगीत रहेको गीतले नारी स्वतन्त्रताको कुरालाई उठाएको छ। ‘गीतमा मनोरञ्जनसँगै सन्देश पनि हुनु राम्रो हो जस्तो लाग्छ। यो गीत हामीले त्यही मान्यता अनुसार तयार गरेका थियौं,’ सोनाले भनिन्, ‘यो गीतले महिलालाई पर निर्भर नभई स्वावलम्बी बन्न प्रेरित गरेको छ। गीतले नेपालमा चलिरहेको महिला जागरणको मुद्दालाई थोरै भए समर्थन गरेको छ भन्ने विश्वास छ।’

गत वर्षको इमेज अवार्डमा ‘तिम्रो मेरो सम्बन्ध’ बोलको गीतबाट ‘बेस्ट पप फिमेल’को अवार्ड जितेकी सोना चाँडै लोक शैलीको गीत ल्याउने तयारीमा छिन्।

प्रकाशित: २३ मंसिर २०७५ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App