१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले ‘असहयोग’ गरेपछि प्रधानमन्त्री दाहाल तनावमा

फाइल तस्बिर ।

काठमाडौं–संविधान संशोधनका बिषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चौतर्फी चेतावनी आउन थालेको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस संविधान संशोधनका बारेमा मौन बसिदिँदा दाहाल थप अप्ठयारोमा छन्।

संविधान संशोधनको बिषयलाई लिएर प्रधानमन्त्री दाहाललाई मंगलबार मात्रै तीन भिन्न राजनीतिक पार्टी आफू अनुकुलको संशोधनको बिषयलाई सम्बोधन नगरे आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन्।  प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस संविधान संशोधनका बारेमा मौन बसिदिँदा दाहाल थप अप्ठयारोमा छन्।

संविधान संशोधनको तयारी तिव्र पारिरहेको बेला मंगलबार बिहान वालुवाटारमा चुरे भावर राष्ट्रिय एकता पार्टी, अपरान्ह संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र साँझ वालुवाटारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अलग–अलग रुपमा त्यस्ता चेतावनी दिएका हुन्। सरोकारवाला पक्षबाट संविधान संशोधनका बारेमा ‘इन्ट्रेष्ट’ प्रकट भइरहँदा सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले पहलकदमी नगरी मौन बसिदिँदा उनी थप अप्ठेरोमा परका छन्।

मंगलबार बिहान चुरे भावर पार्टीले हालको सीमाङकनमा तल माथि गर्ने हो भने राज्यले आफूसँग पहिला गरेको सहमति अनुसारको अलग्गै ‘चुरे भावर प्रदेश’ दिनुपर्ने सर्तसहितको ज्ञापन पत्र बुझाएको छ। अध्यक्ष बद्रीप्रसाद न्यौपानेको नेतृत्वमा वालुवाटार पुगेको टोलीले ८ बुँदे ज्ञापन पत्र बुझाउँदै मधेसी मोर्चाका अधिकांश मागप्रति लिखित रुपमा नै बिरोधसमेत प्रकट गरेको छ।

‘तराईमा दुई प्रदेश बनाउने, हिन्दीलाई राष्ट्रिय भाषा बनाउने, अंगीकृतलाई उच्च पदमा लैजान मिल्ने गरी संविधान संशोधन भयो भने हाम्रो पार्टी आन्दोलनमा जानेछ भनेर प्रधानमन्त्रीलाई चेतावनी दिएका छौं,’ न्यौपानेले भने, ‘जघन्य अपराधमा संलग्न भएकालाई आन्दोलनकारी भन्दै उन्मुक्ति दिने कार्य गरिनु हुन्न भन्ने कुरा पनि राखेका छौं।’

 उनका अनुसार मधेसी मोर्चाको माग मात्रै प्रधानमन्त्रीले सुन्न गरेको तर सोही प्रकृतिको सम्झौता गर्ने चुरे भावरको माग बारेमा भने सुनवाई नभए आन्दोलनमा जानेसमेत चेतावनी दिएर सो पार्टी फर्केको छ।

जवाफमा प्रधानमन्त्री दाहालले ‘सबैलाई मिल्ने गरी संविधान संसोधन प्रस्ताव ल्याउने छु’ भन्ने प्रतिवद्धता जनाएर ज्ञापन पत्र बुझेका थिए। मोर्चाका माग देश र जनताको बिपक्षमा भएको भन्दै प्रधानमन्त्रीले त्यसलाई सम्वोधन गरेर छठलगत्तै सडक आन्दोलनमा जाने सो पार्टीले जनाएको छ।

यता, मंगलबार अपरान्ह एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको बिपक्षमा आफनो पार्टी नभएको जनाउँदै संशोधनको औचित्य पुष्टि गर्न चेतावनी दिए। ‘एमाले संशोधनको बिपक्षमा छैन तर किन संशोधन गर्न लागिएको हो? त्यसको औचित्य भने पुष्टि गर्नुपर्छ,’ संसदमा ओलीले प्रधानमन्त्री दाहालका सामुमा भने, ‘त्यसमाथि, संविधान नै मानेको छैन भन्नेहरुका लागि हतार हतारमा किन संशोधन गर्नु पर्यो? त्यसैले संशोधन चाहने हो भने पहिला संविधान मान्नुपर्छ।’ नयाँ संविधानप्रति बिमति राख्दै आएको मोर्चा र संघीय गठबन्धनप्रति लक्षित गर्दै ओलीले संविधान संशोधनको माग गर्नेले संविधानलाई स्विकार गर्नुपर्ने सुझाव दिएका छन्।

दाहालले संविधान संसोधनमा केही बिषय मिल्न बाँकी रहेको भन्दै एमाले देखाएका थिए।

मंलवार साँझै संविधान संशोधनको माग राख्दै आएको मधेसी मोर्चा/संघीय गठबन्धनका नेताले पनि प्रधानमन्त्री निर्वाचनको दिन अर्थात साउन १९ गते भएको ३ बुँदे सम्झौता अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै रोष प्रकट गरेका छन्। संविधान संशोधन प्रक्रिया तुरुन्त अघि बढाउन पनि आग्रह गरिएको बैठकमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए।

‘संविधान संशोधन गर्छु भने पछिमात्रै हामीले तपाईंलाई प्रधानमन्त्री निर्वाचनमा मतदान गरेका हौं, त्यसको सुनवाई दुई महिना हुन लागिसक्दा पनि किन भएन ? भनेर सोध्यौं,’ यादवले भने, ‘हाम्रा मागलाई अबिलम्ब सम्बोधन नगरिए अप्रिय निर्णय लिन बाध्य हुनेछौं भनेका छौं।’ उनका अनुसार जवाफमा दाहालले संविधान संसोधनमा केही बिषय मिल्न बाँकी रहेको भन्दै एमाले देखाएका थिए।

तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनका बारेमा माओवादी र कांग्रेसको धारणा आउनु पर्ने भन्दै प्रतिपक्षलाई देखाएर उम्कन नमिल्ने तर्क राखेका थिए। ‘मोर्चाका नेताहरुले स्थानीय तहको पुर्नसंरचना र संविधानको प्रस्ताववारे चासो राख्नु भयो, प्रधानमन्त्रीले सबैका भावना समेटेर सरकार अघि बढने जानकारी दिनु भयो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बैठक पछि भने।

दाहाल सरकारका  प्रमुख सहयोगी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनका लागि पहलकदमी नगरेको, बरु उल्टै मौन बसेपछि दाहाल थप तनावमा परेको वालुवाटार स्रोतको भनाइ छ। सरकारको प्रतिरक्षामा सभापति देउवा नउभिएको मात्रै होइन, संशोधनको बातावरण बनाउन पनि भूमिका नखेलेपछि उनी तनावमा परेका हुन्।

मंगलवार दाहालले मोर्चाका नेतासमक्ष भने, ‘बिमलेन्द्रजी लागी रहनु भएको छ, शेरबहादुरजीसँग एकपटक कुरा गरेर संशोधनको अन्तिम निर्णय लिनेछु।’ मोर्चा/गठबन्धनका नेतासँग दाहालले दशैं अघि नै संशोधन बिधेयक पेश गर्ने प्रतिवद्धता भने जनाएका छन्।
 
 

 

 

प्रकाशित: १२ आश्विन २०७३ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App