१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दंशले छटपटिएको नेपाल

अमर आकाश
दंश दिनमान गुर्मछानको पहिलो कथासंग्रह हो। कथा तब कथा बन्छ, जब त्यसले समाजको यथार्थलाई र त्यस समाजमा रहेका मानवीय क्रियाकलाप, संस्कार तथा मनोविज्ञानलाई मीठो ढंगले प्रस्तुत गर्छ। दिनमानका कथाहरू घुर, महामारी, नागरिकता, दंश, मधेसको गर्मी, बलिहाङको प्रेम, पुरुष जस्ता कथाहरू यस संग्रहका उत्कृष्ट कथामध्ये पर्छन्। यी कथाहरू छोटा, छरिता र आकर्षक भाषाशैली युक्त छन्। पाठकलाई कथा पढ्दा कुनै दिक्दारी गराउने खालका छैनन्। 

अधिकांश कथाहरूमा नेपालको  राष्ट्रको राजनीतिक, आर्थिक र सामाजिक वर्तमान अवस्थाको विद्रुप चित्रण पाइन्छ। बलिहाङको प्रेम तथा पलिना, इन्द्रावति र बगरको यात्रा जस्ता कथामा प्रेमको मनोविज्ञान देख्न पाइन्छ। बलिहाङको प्रेम कथाले त जोसुकै मानिसलाई भुतुक्कै बनाउँछ। नक्कली प्रेम, छल, कपट र धोकाको यो युगलाई बूढो बलिहाङको निर्मल, कपटरहित साँचो प्रेम ठूलो उदाहरण हो। प्रेमको धरहराले भूकम्पले भत्काएको धरहराको याद दिलाउँछ। साथै त्यस भत्किएको धरहरामा परेका प्रेम जोडीको दुःखद् कथा मार्मिक छ। प्रेम कथा मन पराउने पाठकका निम्ति छाडेको फूल र बलिहाङको प्रेम कथा उपयुक्त छन्। 

संख्याको हिसाबले धेरै मात्रामा सामाजिक, राजनीतिक चित्रण बोकेका कथा भए पनि यसमा युवा पिढीले पनि रुचाउने खालका कथा समेटिएको छ। एउटा कथा छ– पुरुष। गाउँबाट सहर पढ्न भनी आएको केटो छ। ऊसँगै गाउँकै अर्को केटो छ– जागिर खाने। जागिर खानेको जागिर खुस्किन्छ। मजदूर युनियनले सहयोग गर्दैन र बेरोजगार हुन्छ। पछि धनाढ्य महिलाहरूलाई उनीहरूकै घरमा यौन सन्तुष्टि दिलाउने पुरुष वेश्या बन्छ। पढाइमा लागेको केटोले पढाई पूरा गरेपछि जागिर पाउँदैन। जीवन धान्न मुस्किल भएपछि ऊ पनि पुरुष वेश्याकै काम सुरु गर्छ। तर, दुवैलाई एक–अर्काको वास्तविकता थाहा हुन्न।

पछि रहस्य खुल्छ। निकै आकर्षक ढंगबाट कथा अघि बढ्छ।  पुरुष कथाले विदेश पलायन नभएर स्वदेशमै रहने पठित–अपठित पुरुषहरूको पैसा आम्दानीको नयाँ स्वरूप वेश्यावृत्ति देखापरेको रहस्य उद्घाटन गरेको छ। पुरुष वेश्यावृत्ति बढ्दै गइरहेको र बढ्दै गैरहने सत्यलाई हामीले नकार्न सक्दैनौँ। हिजो केही पुरुषको शोखको रूपमा देखा परेको तर आज सहज ढंगले भव्य जीवनयापन गर्ने विचार भएकाको मात्र नभई हरेक बेरोजगारका लागि वेश्यावृत्ति सरल बाटोको रुपमा देखा पर्दै गइरहेको यथार्थ हो।

तराईको समाज, जनजीवन र राजनीतिक अवस्था चित्रण गर्नमा कथाकार सफल हुनुमा उनको जन्म तराई भू–भागमा भएकाले पनि हुनसक्छ।

नेपाल प्राचीन कालदेखि ‘लाहुरे’, ‘बहादुर’, ‘कान्छा’, ‘कान्छी’ जन्माउने देश छँदैछ। अब वेश्या (पुरुष, महिला) को देशको रूपमा पनि देखा परिरहेको यथार्थ पुरुष कथामार्फत् आएको छ। दंश कथासंग्रहका कथाहरूको घटनास्थल एउटै मात्र ठाउँ नभएर तराई, पहाड, ठूला महानगर आदि रहेका छन्। लेखक स्वास्थ्यकर्मी भएका कारण विभिन्न जिल्ला भ्रमण गरेको कारण यसो भएको हुन सक्छ। तराईको समाज, जनजीवन र राजनीतिक अवस्थाको चित्रण गर्नमा कथाकार दिनमान निकै सफल देखिएका छन्। यसो हुनुमा उनको जन्म तराई भू–भागमा भएकाले पनि हुनसक्छ। वास्तवमा राजधानी बाहिरका कथा नेपालको कथा हो। 

संग्रहको एउटा कथा घुरले तराईको चिसो र गरिब किसानमा देखिने त्यसको असरलाई रोचक ढंगले देखाइएको छ। जाडो भगाउन पिएको रक्सीको मातमा भगिराम मुसहरले घुर ताप्ने सुरमा आफ्नो घर नै जलाएको प्रसंग साँच्चै मार्मिक छ। भगिरामसँग प्रशस्त दाउरा पनि छैन। ऊसँग आफू र परिवारका सबैलाई पुग्ने न्यानो बाक्लो लुगा, डसना र सिरक केही छैन। भगिराम र उसको परिवार चिसो भुइँमा गुन्द्री ओच्छाएर सुत्नुपर्ने र ओढ्नलाई केही नहुने अवस्था छ। यो कथाले नेपालको तराई भू–भागका गरिबहरूको सफलपूर्वक चित्रण गरेको छ।

संग्रहको अरु कथा महामारी र नागरिकतामा नेपाल सरकारको लापरबाही र गैरजिम्मेवारी प्रवृत्ति देखाइएको छ। पश्चिम नेपालको कुनै गाउँमा फोहर पानीको कारण महामारी फैलिएको र त्यो समस्या निवारणको लागि सरकार आँखा चिम्लेर बसेको देखिएको छ। युद्ध हुँदाको बेला जनतासँग साख्खै भएका कम्युनिष्ट नेताहरू गणतन्त्र आएपछि जनताको पहुँचबाट टाढिएको सत्य महामारीले देखाएको छ। योद्धासँगका केही पल कथाले पनि गणतन्त्र नेपालमा माओवादी छापामार लडाकुको दयनीय जीवनलाई उजागर गरेको छ। कथाले आम नेपालीको जीवनमा माओवादी युद्ध र लोकतन्त्र केही कुराले फरक नपारेको बताउँछ।

संग्रहको नाम दंश धेरै मात्रामा सफल भएको छ। राजनीतिक, सामाजिक, आर्थिक दंशले नेपाल छटपटिएको देखाउँछ, दंशभित्रका कथाहरूले। शीर्ष कथा दंश ज्यादै प्रभावशाली रूपमा आएको छ। बद्नाम नेपाल प्रहरी प्रशासनलाई यस कथाले ठूलो व्यंग्य गरेको छ। दंश कथाले प्रहरी प्रशासन कहाँसम्म रद्धी छ भन्ने कथा पढिसकेपछि थाहा हुन्छ। निकै ठूला अफिसरको सिफारिसमा जागिर खाएका प्रहरी जवानले आफ्नै हाकिमलाई आफ्नो मुठ्ठीमा राख्ने गर्छ। गस्तीमा हिँडेका प्रहरी जवान आफैँ आम महिलालाई सुरक्षा दिनुको सट्टा बलात्कार गर्छन्। बलात्कार भइँरहँदा गस्तीमै रहेको सिनियर अफिसर सुतिरहन्छ। यसरी नयाँ नेपालको वास्तविकतालाई जनतासामु प्रकाश पार्दै लेखिएका कथाहरूको संगालो पढ्न लायकको छ। पुस्तक पढिसक्दा नयाँ नेपाल हैन रद्धी नेपालको अनुभूत हुन्छ।

पुस्तकमा १८ कथा छन्। तराई आन्दोलनसँगै देखापरेका विकृति समेटिएको कथा मधेसको गर्मी लगागत पुरुष, दंश, बलिहाङको प्रेम, घुर, नागरिकता आदि कथाहरू सफल लेखनीको रूपमा स्वीकार्नुपर्ने हुन्छ। संग्रहका सबै १८ ओटा कथाहरू उही स्तरका भने छैनन्। वास्तवमा ती कथा पुस्तकमा नराखिएको भए पनि कुनै नोक्सानी हुने थिएन।
राजन काफ्लेको आकर्षक आवरण चित्रले सजिएको यस संग्रहलाई शाब्दिक बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: २२ मंसिर २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App