१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनुसन्धान रावल र चौधरीमा केन्द्रित

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ। भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ।

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए तर पछि डिएनए जाँच भने मेल खाएको थिएन। ‘हामी प्राविधिक पक्ष हेरिरहेका छौं। साइन्टिफिक प्रुफ हुनुपर्छ। हामी अनुसन्धानमै छौं,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘हामीसँग बयानमा स्वीकार गर्नुले मात्र केही अर्थ राख्दैन, त्यसैले अहिल्यै केही भन्न सकिन्न।’ निर्मलाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ वर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाइएको थियो। दिनेश चौधरीलाई शुक्रबार नै बुवाको रोहवरमा छाडिसकिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। रावल र विशाल दुई जनामाथि भने प्रहरीले अनुसन्धान जारी राखेको छ। रावलले निर्मलालाई उखुबारीमा लगेर बलात्कारपछि घाँटी च्यापेर हत्या गरेको साबिती बयान दिएको प्रहरी उच्च स्रोतको भनाइ छ।

सोही स्रोतका अनुसार रावलले निर्मलासँग पहिलेदेखि चिनजान रहेको बयानमा उल्लेख गरेका छन। सुरुमा सोधपुछ गरी छाडिएका रावललाई प्रहरीले शंकाको घेरामा राखेर खोजी गरिरहेको थियो।‘हामीले दुई महिनायता रावललाई वाच गरिरहेका थियौं,’ एसपी कडायतले भने। प्रहरीले पछिल्लो समयमा चिनेजानेकै व्यक्तिबाट निर्मलाको बलात्कार र हत्या भएको हुन सक्ने भन्दै गाउँले र छिमेकीहरूमा अनुसन्धान केन्द्रित गरेको थियो।

कुखुरा चोरेको आरोपमा दुवै पक्राउ
गत साउन ९ गते राति भीमदत्त–१८ मा चौधरी थरका एक व्यक्तिको पसलबाट कुखुराको मासु र नगद चोरी भयो। साउन १० गते बिहान प्रहरीले चोरीको आशंकामा प्रदीपलाई समात्यो। प्रदीपले आफूले नचोरेको बताए। उनले चोर्ने व्यक्ति विशाल चौधरी रहेको जानकारी दिए। प्रदीपलाई त्यतिखेरै छाडिएको एसपी कडायतले बताए। साउन १० गते राति विशाल चौधरीलाई प्रहरीले पक्राउ गरिएको उनको भनाइ छ। दोस्रो दिन साउन ११ गते प्रहरी चौकीमा गएर आमा सलमती चौधरीले बुझेर उनलाई ल्याएकी थिइन्। कक्षा ५ मा पढेर छाडेका विशालले ज्यालादारीमा मजदुरी गर्ने गरेको आमा चौधरीले बताइन्। चुरोट खाने गरे पनि लागुऔषध खाएको थाहा नपाएको उनको भनाइ छ। छोरालाई प्रहरीले यातना दिइरहेको भनी काठमाडौंबाट पतिले फोनमा सुनाएको उनले बताइन्।

आफू आउनुअघि रावललाई सोधपुछ गरेर छाडेको सुन्नमा आए पनि प्रहरीमा कुनै डकुमेन्ट नभेटिएको एसपी कडायतले जनाए। आर्थिक रूपमा विपन्न रावलका आमाबुवा भारतको बैंग्लोरमा ज्यालामजदुरी गर्छन्। घरमा उनी एक्लै बस्थे। गाडीको ग्यारेजमा केही महिना काम गरेर काठमाडौं गाडीमा पेन्टिङ गर्ने काम गरिरहेको उनका ठूला बुवा कृष्णबहादुर रावलले बताए। भृकुटी उच्च माविमा कक्षा ९ मा पढेर उनले पढाइ छाडेको उनले बताए।

निर्मलाको हत्यापछि उनी ग्यारेजमा काम गर्न थालेको उनले बताए। ‘ग्यारेजमा मैले नै काम लगाइदिएको हुँ, त्यहाँ डेढ महिना काम ग-यो,’ उनले भने, ‘इन्डिया गयो भन्छन् तर होइन्।’ ग्यारेजको काम छोडेर डेढदुई महिनादेखि काठमाडौं बस्ने र उनले पहिल्यै चिनेका हर्के राईसँग मिलेर गाडीमा पेन्टिङको काम गरिरहेको उनले बताए। आमाबुवा भारतमा गएपछि कहिले मामाको घरमा, कहिले काम गर्ने ठाउँमै बस्ने गरेको उनी बताउँछन। प्रहरीले दुवै जनाको रगत डिएनए जाँचका लागि दिएको प्रहरीको भनाइ छ।

प्रहरीले अहिलेसम्म ४ हजार बढी कल डिटेल हेरेको छ। भने करिब साढे तीन सयजनासँग सोधपुछ गरेको एसपी कडायतले बताए। नौ जनाको डिएनए परीक्षण गरेकोमा कुनैले पनि मेल खाएको छैन। दोषी किटान नहुन्जेल विभिन्न कोणबाट आफूहरूले गरिरहेको अनुसन्धानलाई जारी राख्ने उनले बताए। गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला बेपत्ता भएकी थिइन्। साउन ११ गते बिहान उखुबारीमा उनको शव फेला परेको थियो।

प्रकाशित: २२ मंसिर २०७५ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App