१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हुवावेकी उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

मेङ वान्झाउ

ओट्टावा – दूरसञ्चार क्षेत्रमा चीनको विशाल कम्पनी ‘हुवावे’का संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ।

उनलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीले बताएका छन्। चीनले भने मेङलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएको छ। उनी हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत छिन्। इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीले अनुसन्धान सुुरु गरेको बताइएको छ।

अमेरिकी गुप्तचर अधिकारीले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन्। संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीन महिने युद्धविराम भएको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ। दुवै देशका व्यापार मध्यस्थकर्तामाथि तीन महिनाभित्र असमझदारी हटाउनुपर्ने गहन जिम्मेवारी छ। मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ। साङघाई र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ।

‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ र संयुक्त राज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ अमेरिकी सिनेटर बेन सास्सेलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। सिनेटर बेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कहिलेकाहिँ चिनियाँ अतिक्रमण पूरै राज्य–प्रवद्र्धित देखिन्छ भने कहिलेकाहिँ चीनका तथाकथित निजी कम्पनीले यो कार्य गरिरहेका छन्।’

क्यानडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ। अमेरिकाले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको सो मन्त्रालयले बताएको छ। मेङका पिता एवं हुवावेका संस्थापक रेन झेङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन्। क्यानडाको राजधानी ओट्टावास्थित चिनियाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

हुवावेले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ। कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘हुवावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ। राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्ध एवं नियमलाई पूर्णपालना गरिएको छ।’

वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो।

प्रकाशित: २१ मंसिर २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App