१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सुक्न थाले सडक किनारका बिरुवा

राजधानीको त्रिपुरेश्वर नजिकैको केयुकेयल कार्यालय अगाडि सुक्न लागेको बिरुवा। तस्बिर : श्याम राई

उपत्यकाका सडक किनारमा विभिन्न संघ/संस्थाले विभिन्न समयमा बिरुवा रोपे। ती बिरुवा रोप्नुको उद्देश्य थियो– सडक हराभरा पार्नु। तर, रोपिएका बिरुवाको संरक्षण भएन, जसका कारण बिरुवा सुक्ने अवस्थामा छन्। बिरुवाको सबै पात झरेका छन्। पानी नपाएर बिरुवाको फेदमा माटो सुख्खा देखिन्छ।

त्रिपुरेश्वर, बागदरबार, सुन्धारा लगायतका विभिन्न सडकका किनारमा रोपिएका बिरुवा अहिले सुक्ने अवस्थामा छन्। यी क्षेत्रमा काठमाडौं महानगरपालिका, नबिल बैंक, चौधरी ग्रुप लगायतले बिरुवा रोपेका थिए। नबिल बैंक, चौधरी गु्रप लगायत संघसंस्थाले महानगरसँग साझेदारी गरेर बिरुवा रोपेका थिए।

सडक किनारामा रोपिएका कतिपय बिरुवामा त ट्रिगार्ड (बिरुवा छोप्ने सामग्री) पनि छैनन्।

सडक किनारमा बिरुवा रोप्नुको उद्देश्य हो– सहर हरीयाली बनाउनु।

सडक किनारामा रोपिएका बिरुवाको अवस्था देखेर सर्वसाधारण पनि चिन्तित छन्। ‘सहर हरीयाली बनाउन सपना देख्ने महानगरले बिरुवा रोपेपछि स्याहारसुसार गर्नेमा ध्यान छैन,’ सानेपाकी स्थानीय जानकी भट्टराईले सुन्धारामा मर्न लागेको एक बिरुवालाई देखाउँदै भनिन्, ‘मर्न लागेका बिरुवा देख्दा माया लाग्छ।’

महानगरको लापरवाहीले गर्दा सडकमा रोपिएका बिरुवा सुक्ने क्रममा रहेको उनको आरोप छ।

‘अन्य देशमा बिरुवा रोपेपछि त्यसको काटछाट तथा स्यारसुसार गरेर हरियाली बनाइन्छ। नेपालमा भने रोपिएका बिरुवाको स्याहारसुसार गरिँदैन। बिरुवाको बिजोग पार्ने भए सडक किनारमा किन रोपेका होलान्,’ भट्टराईले भनिन्।

उनका अनुसार सडकमा बिरुवा रोपेर संरक्षण गरिएको भए हरियाली देखिन्थ्यो। वातारण प्रदूषण कम हुन्थ्यो। तर, अहिले बिरुवाको स्याहार नगर्दा सप्रिन सकेको छैन। बिरुवाको गोडमेल गरी ठूलो भएमा घाम लागेको समयमा पनि शीतलता दिने थियो।

महानगरले हिउँदमा बेलाबेला बिरुवामा पानी हाल्नुपर्ने उनले बताइन्। मानसिक सन्तुलन गुमाएका मानिस र चौपायाबाट बिरुवा जोगाउनुपर्ने उनको भनाइ छ। मानसिक सन्तुलन गुमाएकाहरूले बिरुवा भाँच्ने तथा पात टिप्ने गरेको उनले बताइन्।

काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण विभाग वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेल भने सिजनका कारण बोटविरुवा बढ्न र हरियाली हुन नसकेको बताउँछिन्। ‘अहिले सिजनका कारण बोटविरुवा हुर्कन सकेको छैन,’ उनले भनिन्,  ‘बेलाबेलामा  ट्यांकरको पानीबाट भए पनि बिरुवामा पानी हाल्दै आएका छौँ। तर, पनि सप्रिन सकेका छैनन्।’

तापक्रमका कारण पनि हरियाली हुन नसकेको उनको दाबी छ। पानी नपुगेर वा संरक्षण नभएका विरुवा भएमा संरक्षण गरिने उनले बताइन्।

वातावरण विभाग अन्तर्गतका हरियाली शाखा प्रमुख प्रमिला पराजुलीका अनुसार महानगरले २७ वटा ट्राफिक आइल्याण्डमा फूल, कपुर, आरु धुपी, कागती जस्ता विभिन्न प्रकारका बोटबिरुवाहरू रोपेका छन्। यद्यपि, रोपिएका बिरुवाको तथ्यांक छैन।   

महानगरमा बिरुवा संरक्षण गर्न चार कर्मचारी खटिएका छन्। महानगरका अनुसार सडकका किनार र आइल्याण्डमा ६ फिटभन्दा माथिको मात्रै बोटबिरुवा रोप्न पाइन्छ।

प्रकाशित: २१ मंसिर २०७५ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App