१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषय वस्तु राख्न पहल सुरु

काठमाडौं – धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न पहल थालेको छ।

बोर्डले माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम र व्यवस्थापन तथा अर्थशास्त्रलगायत विषयगत पाठ्यक्रम तयार गर्दा एवं थप सुधार गर्दा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गराउन पहलका लागि समन्वय र सहकार्य गर्न सम्बद्ध निकायलाई आग्रह गरेको जनाएको छ। बोर्डले आफ्नो वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत यो कदम चालेको पनि प्रस्ट पारेको छ।

बोर्डले पाठ्यपुस्तकमा धितोपत्रको विषय समावेश गर्न पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी, व्यवस्थापन र कानुन संकायका डिनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोगलाई अनुरोध गरेको बोर्ड प्रवक्ता निरज गिरीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

धितोपत्रको विषयवस्तु विद्यालय र विश्वविद्यालय स्तरका पाठ्यक्रममा समावेश गर्दा लगानीकर्ताको हित संरक्षण हुने र सशक्तीकरणमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ। यसबाट ‘सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार भई देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।

धितोपत्र बोर्ड सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने, पुँजी बजारको विकास र नियमन गर्ने उद्देश्यले स्थापना भएको नियमनकारी निकाय हो। देशका सबै जिल्ला र करिब सात सय स्थानीय निकाय अन्तर्गतका क्षेत्रमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको, धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली सञ्चालनमा आई देशव्यापी रुपमा विस्तार हुने क्रममा रहेको र नेपालको धितोपत्र बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अंग भइसकेको परिप्रेक्ष्यमा पुँजी बजारमार्फत विशेषतः वित्तशास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने देखिएको बोर्डले जनाएको छ।

धितोपत्र बजारको विकास तथा विस्तारमा जोड दिने देशहरु हाल विश्वका विकसित तथा सुदृढ अर्थतन्त्र हुने देशहरुमा अग्र स्थानमा पुगेको र ती देशहरुको विभिन्न तहका पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु विशेष महŒवका साथ समावेश गरिएको पनि बोर्डले जनाएको छ।

बोर्डको चालु आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमको बुँदा नं ६८ मा विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तु समावेश गराउन आवश्यक समन्वय गर्ने कार्यक्रम रहेको बोर्डको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७५ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App