१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : मनाङ,थ्री स्टार र च्यासल विजयी

मनाङ र जावलाखेलबीचकाे खेल। तस्बिर : रासस

काठमाडाैं - शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएका खेलमा मनाङ मर्स्याङ्दी, थ्री स्टार र च्यासल क्लब विजयी भएका छन्।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा शिर्ष स्थानको मनाङले लगातार छैटौं जित निकाल्ने क्रममा जावलाखेल युथ क्लबलाई १–० ले हरायो। मनाङको जितमा एक मात्रै गोल अन्जन विष्टले गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै अन्जनले मनाङलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन्। जित सहित मनाङ ६ खेलमा ६ जित निकाल्दै १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा कायमै रहेको छ।

यस्तै थ्री स्टारले पाँचौ जित निकाल्ने क्रममा सरस्वती युथ क्लबलाई २–१ ले पराजित गरेको छ। थ्री स्टारले एक गोलले पछि परेको अवस्थामा समेत उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। पहिलो हाफको तेस्रो मिनेटमै पेनाल्टी मार्फत भिक्टरले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए। तर खेलको १७ औं मिनेटमा थ्री स्टारका रञ्जित धिमालले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलको ३६ औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए। पहिलो हाफ २–१ मा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट गोल हुन नसक्दा पहिलो हाफकै नतिजा निर्णायक बन्न पुग्यो।

यस्तै बुधबार नै भएको तेस्रो खेलमा च्यासल युथ क्लबले प्रतियोगितामा दोस्रो जित निकालेको छ। हिमालयन शेर्पालाई २–१ ले पराजित गर्दै च्यासलले दोस्रो जित निकालेको हो। पहिलो हाफमा १-० ले पछि परेको स्थिति उल्टाएर च्यासलले जित निकालेको हो। पहिलो हाफको १६ औं मिनेटमा त्रिदेभ गुरुङले शेर्पाका लागि गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता कायम गरेको शेर्पा दोस्रो हाफको ५६ औं मिनेटमा बराबरी गोल खान पुग्यो। च्यासलका सन्तोष साहुखलले गोल गर्दै खेललाई एक एक को बराबरीमा ल्याएका थिए। तर खेलको ७३ औं मिनेट शेर्पाकालागि दुर्भाग्यपूर्ण रहन पुग्यो। शेर्पाका निरज बस्नेतले आत्मघाती गोल गर्न पुग्दा च्यासल महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।

प्रकाशित: १९ मंसिर २०७५ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App