१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चौध महिनापछि कार्यकर्ता समायोजन प्रक्रिया सुरु

दाङ – तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भएको चौध महिनापछि बल्ल कार्यकर्ता समायोजनको प्रक्रिया थालनी भएको छ। तत्कालीन फोरम लोकतान्त्रिक समूहले आफूइतरका नेता तथा कार्यकर्ताको विवरण संकलन गरी समायोजनका लागि पार्टीलाई बुझाउने तयारी थालेको छ। यसका लागि तत्कालीन फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले पश्चिम नेपालका आफ्ना नेता तथा कार्यकर्ताको विवरण संकलन गरेर फर्किएका छन्।

‘पार्टी एकता भएको लामो समयसम्म पनि तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका साथीहरूको पार्टीमा समायोजन हुन सकेन,’ उनले भने, ‘अब समायोजन प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर विजय दाई ( विजयकुमार गच्छेदार) ले भनेपछि म पश्चिम नेपालका जिल्लामा पुगेर विवरण संकलन गरेको छु।’ कैलालीसम्म पुगेर कार्यकर्ताको विवरण संकलन गरेका चौधरीले कार्यकर्ताको तथ्यांक उपसभापति गच्छेदारलाई बुझाउने पनि बताए।

२०७४ असोज २९ मा भएको पार्टी एकताका क्रममा भएको सम्झौताअनुरूप अहिले सम्म बिजयकुमार गच्छेदारको मनोनयनको एउटा मात्रै बुँदा कार्यान्वयन भएको चौधरीले वताए। गच्छेदारलाई पार्टी सभापति शेरबहादुर देउवाले केही समयअघि उपसभापतिमा मनोनयन गरेका थिए। ‘उपसभापति मनोनयन सहमतिको प्रमुख बुँदा थियो,’ तत्कालीन फोरम लोकतान्त्रिकका प्रमुख सचेतकसमेत रहेका चौधरीले भने, ‘१४ महिनासम्म यही एउटा बुँदा मात्रै कार्यान्वयन भयो, अरु साथीहरूको समायोजनको पाटो भने जस्ताको तस्तै रह्यो।’

पार्टी एकता भएको लामो समय भैसक्दासमेत अन्य नेता तथा कार्यकर्ता भने अहिलेसम्म भूमिकाविहीन छन्। पार्टीका सक्रिय सदस्यसमेत नरहेको भन्दै चौधरीले भने, ‘सक्रिय सदस्यता समेत नहुँदा कार्यकर्ताहरुले आफूलाई कसरी पार्टीको नेता वा कार्यकर्ता मान्ने ?,’ गच्छेदार उपसभापतिमा चयन भएलगत्तै उनले आफ्ना तत्कालीन नेता तथा कार्यकर्ताको समायोजनका लागि तत्परता देखाएका हुन्। गच्छेदारले नै उनका निकटस्थ योगेन्द्र चौधरीलाई आफ्ना तत्कालीन कार्यकर्ताको यकिन विवरण संकलनका लागि निर्देशन दिएका हुन्। पार्टीको आसन्न महासमिति बैठकलाई लक्षित गर्दै उक्त बैठकमा आफ्ना निकटस्थलाई सहभागी गराउने योजनामा गच्छेदार समूह छ। यसर्थ आफ्ना समर्थकलाई तत्काल महासमिति सदस्य चयन गर्ने योजनामा तत्कालीन फोरम लोकतान्त्रिक समूह छ।

‘अब पार्टीको महासमिति बैठक लगत्तै बस्दैछ। महासमिति बैठकमा तत्कालीन फोरमका नेताको सहभागिताका लागि महासमिति सदस्य चयन गर्नुपर्ने आवश्यकता नितान्त देखिएको छ।’

‘अब पार्टीको महासमिति बैठक लगत्तै बस्दैछ,’ चौधरीले भने, ‘महासमिति बैठकमा तत्कालीन फोरमका नेताको सहभागिताका लागि महासमिति सदस्य चयन गर्नुपर्ने आवश्यकता नितान्त देखिएको छ।’ यसैगरी पार्टी केन्द्रीय सदस्य मनोनयनको सहमतिको अर्को बुँदालाई पनि यो समूहले विशेषताका साथ जोड दिइरहेको छ। यस्तै जिल्ला समितिलगायत पार्टीका तल्लो निकायसम्म फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समावेश नेता तथा कार्यकर्तालाई समायोजनका लागि गच्छेदार समूह सक्रिय बनेको छ। ‘पार्टीको केन्द्रीय सदस्य मनोनयनको सहमतिको अर्को प्रमुख मुद्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘जिल्लादेखि पार्टीका तल्लो तहसम्मै हाम्रो समूहका नेता तथा कार्यकर्तालाई कसरी समायोजन गर्न सकिन्छ भनेर पनि यकिन तथ्यांक संकलनको काम थालिएको हो।’

लामो समयसम्म पार्टी सक्रिय सदस्यता समेत नपाएपछि फोरम समूहबाट आएका नेता तथा कार्यकर्तामा ठूलो नैराश्यता पैदा भएको छ। उनीहरू प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत कांग्रेसको पक्षमा खुलेर लाग्न सकेनन्। यही असन्तुष्टिका कारण फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समायोजन भएका केही कार्यकर्ता बाहिरिइसकेको समेत योगेन्द्रले बताए। ‘लामो समयसम्म पार्टीमा कार्यकर्ता समायोजन हुन सकेन, फलतः नैराश्यता पैदा भयो,’ उनले भने, ‘यही नैराश्यताका कारण झन्डै पाँच प्रतिशत कार्यकर्ता पार्टीबाट बाहिरिएका पनि छन्।’ अधिकांश कार्यकर्ता गच्छेदारको पार्टीमा रहने भूमिका कुरिरहेका थिए। उनी उपसभापतिमा चयन भएपछि अब भने आपूmहरूको सम्मानजनक समायोजन हुनेमा आशा पलाएको योगेन्द्र बताउँछन्।

पार्टी एकीकरणको पहिलो सहमती फोरम लोकतान्त्रिकबाट उपसभापति र १० देखि १५ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाउने भन्ने थियो। यसैगरि जिल्लादेखि स्थानीय तह सम्मका संगठनहरूलाई समायोजन गर्दै जाने भन्ने अर्को सहमति थियो। फोरमका ६६ जिल्ला कार्यसमिति कांग्रेसमा समाहित भएको थिए।

प्रकाशित: १९ मंसिर २०७५ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App