१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानकाे सामान्य प्रदर्शन, अजहरको अर्धशतक

अबुधाबी – अजहर अलीले अर्धशतक पूरा गरेपछि पाकिस्तानले न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टमा मंगलबार दोस्रो दिन तीन विकेटको क्षतिमा १ सय ३९ रन बनाएको छ।

न्युजिल्यान्डले पहिलो इनिङमा बनाएको २ सय ७४ रन पछ्याएको पाकिस्तान ७ विकेट बाँकी छँदा १ सय ३५ रनले पछाडि छ। दोस्रो दिनको लन्चपछि ब्याटिङ गरेको पाकिस्तानले सुरुआतमै दुई विकेट गुमाउँदा मोहम्मद हाफिज खाता नखोली आउट भए। त्यसपछि पाकिस्तानले थप १७ रन जोड्दा इमाम उल हक ९ रनमै पवेलियन फर्किए।

यद्यपि, तेस्रो विकेटका लागि अली र हेरिस सोहेलले ६८ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए।  सोहेल पनि ३४ रन बनाएर आउट भए। त्यसपछि चौथो विकेटका लागि अलीले असाद सफिकसँग ५४ रनको साझेदारी गरिरहेका छन्।

अली ६२ रन र सफिक २६ रनमा नटआउट छन्। पाकिस्तानका ओपनरद्वय हाफिज र उल हकलाई सस्तैमा आउट गर्दै ट्रन्ट बोल्टले न्युजिल्यान्डलाई सफलता दिलाएका थिए। सोहेललाई भने टिम साउथीले पवेलियनको बाटो देखाएका थिए। यसअघि दोस्रो दिनमै लन्चअगाडि अलआउट भएको न्युजिल्यान्डले केन विलियम्सन र बिजे वाट्लिङको अर्धशतकीय इनिङको मद्दतमा २ सय ७४ रन बनाएको थियो।

विलियम्सनले ८९ रन बनाएर आउट हुँदा वाट्लिङ ७७ रनमा अविजित रहे। जित रावलले ४५ रनको योगदान दिएका थिए। पाकिस्तानको बलिङमा बिलाल असिफ एक्लैले पाँच विकेट लिँदै न्युजिल्यान्डको इनिङ ध्वस्त पारेका थिए। यासिर साहले तीन विकेट तथा हसन अली र साहिन साह अफ्रिदीले थप १–१ विकेट लिएका थिए।

 

प्रकाशित: १८ मंसिर २०७५ २३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App