१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सेयरमा जालसाजी

काठमाडौं - सरकारी छाप तथा दस्तखत किर्ते गरी करोडौं बराबरको सेयर जालसाजी भएको भेटिएको छ। कम्पनी राजिस्ट्रारको कार्यालयमा रहेका कागजात फेरबदल गरी करोडौं रुपैयाँ बराबरको सेयर जालसाजी भएको हो।

२०३३ सालमा स्थापना भई २०३६ सालमा प्राइभेट लिमिटेडमा परिणत भएको होटल ब्लू डायमन्डको सेयर सरकारी कर्मचारीसमेतको मिलेमतोमा अनधिकृत रुपमा अर्काको नाममा नामसारी गरिएको हो।

नागरिकलाई प्राप्त कागजातअनुसार ठमेलस्थित उक्त होटलका तत्कालीन अध्यक्ष रामभक्त डंगोलले आफ्नो हकको सेयर २०३७ साल असार २३ गते बालकुमारी डंगोललाई बेचेका थिए। त्यसबेला कम्पनी अध्यक्षसमेत रहेकी बालकुमारीको २०५७ सालमा मत्यु भयो। शेषपछिको बकसपत्र अनुसार बालकुमारी डंगोलको मृत्युपछि उनको तीन सय कित्ता सेयर कम्पनीको नाममा आएको थियो।

कम्पनीको नाममा कायम रहन आएको सेयर रामभक्त डंगोल, शिवराम सुवाल र कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको मिलोमतोमा नक्कली माइन्युट र कीर्ते दस्तखतका आधारमा रामभक्तले आफ्नो बनाएका हुन्। २०७२ साल असोज २४ गते आफ्नै नाममा सेयर अभिलेख गराएका उनले त्यसको तीन दिनपछि २० कित्ता सेयर आफ्नो नाममा राखेर बाँकी दुई सय ८० कित्ता शिवराम सुवालको नाममा दाखिल खारेजी गरी अभिलेख राखेका छन्।

यसैगरी, रामभक्त र शिवरामले होटल ब्लू डायमन्ड प्रालिको बैंक खातामा प्रयोग हुने हस्ताक्षरसमेत परिवर्तन गराए। त्यसो नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयले २०७३ साउन २० गते निर्देशन दिए पनि उनीहरुले त्यसको अवज्ञा गर्दै २०७३ साउन २७ गते सन्राइज बैंक बौद्ध शाखामा सोही कम्पनीको नाममा खाता खोलेको पाइएको छ।

यो कुरा थाहा पाएपछि होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक भक्तराम सुवालले २०७३ भदौ ५ गते अख्तियारमा उजुरी दिए। अख्तियारको अनुसन्धानबाट जालसाजीपूर्वक सेयर नामसारी भएको पुष्टि भएको हो।

यसै विषयमा भक्तराम सुवालले कम्पनी रजिस्ट्रारको कार्यालयमा दिएको निवेदनमाथि कार्यालयले छानबिन गर्दा २०७२ असोज २८ गतेको अभिलेख नै त्रुटिपूर्ण भएको ठहर गर्दै पुनः भक्तराम सुवाल, शिवराम सुवाल र बालकुमारी डंगोलको नाममा फिर्ता सेयर कायम गरी पछिल्लो समयमा खोलेको सन्राइज बैंकको खाता समेत रोक्का गरिदिएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालीन सहायक रजिस्टार गोरखनाथ मिश्र, एकनारायण भण्डारी, अभिलेख शाखाका दिपेन्द्र आचार्य र भक्तिकुमारी राईको नाम अख्तियार दुरुपयोग अनुसन्धानलाई उपलब्ध गराएको छ। टिप्पणी उठाउने कर्मचारीमा सहायक रजिस्ट्रार ओमप्रकाश महत्तो, टिप्पणी सदर गर्ने उपरजिस्ट्रार सरोज गुरागाईं, आइटी शाखाका पूर्णचन्द्र आत्रेय र नासु विश्वनाथ निरौला छन्। होटल सञ्चालक शिवराम सुवाल र रामभक्त डंगोलविरुद्ध काठमाडौं जिल्ला अदालत एवं सर्वोच्च अदालतमा समेत जालसाजी तथा सेयर बदरसम्बन्धी मुद्दा चलेको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App