१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठेकेदारको लापरबाहीले पुल अलपत्र

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको अलपत्र दुधाङ पुल। २०७१ असारमा ठेक्का सम्झौता भएको पुलको दोस्रो पटक थपिएको म्यादसमेत गत फागुनमै सकिएपनि पुल निर्माण अझै अलपत्र छ। तस्बिर : भीम/नागरिक

इलाम - केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन हुनेबित्तिकै विकास–निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने उर्दीले एकपटक देश हल्लियो। सरकारले केही प्रगति गर्ने रहेछ भन्नेमा सर्वसाधारण ढुक्क पनि भए। तर, एक वर्ष नपुग्दै सरकारको त्यो उर्दी ‘सेलाइसकेको’ पुष्टि इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुलले गरिरहेको छ।

यो पुलको निर्माण अवधि सकिएर दुई पटकसम्म थपिएको म्याद सकिएको पनि वर्षदिन बित्न लागेको छ। तर, पुल सकिनु कता हो कता, निर्माणको कामसम्म धमाधम हुनुको साटो ठेकेदारको लापरबाहीले अहिलेसम्म बनेको संरचनासमेत जीर्ण भइसकेको छ। २०७१ असार २७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको अवधि ०७३ असार २६ सम्मलाई तोकिएको थियो। निर्धारित अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपियो। पुनः दुई महिनालाई थपिएको म्याद सकिएको पनि आठ महिना बितिसकेको छ। खोलाको बीच भागमा खम्बा गाढिएको छ। ढलाइका लागि आधासम्म बुनेको डन्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको छ।

पुलसम्म पुग्ने इलाम नगरपालिका–दुधाङ र दुधाङ–नयाँबजार खण्डको भोटेटारसम्म सडक ग्राभेल भइसकेको छ। यो सडकमा दिनहुँ दर्जनौं सार्वजनिक सवारीसाधन गुड्छन्। तर, पुल अलपत्र हुँदा हिउँदमा खचाखच यात्रु बोकेका सवारी साधन जोखिमपूर्ण तबरले पानीमा डुबेर खोला तर्न बाध्य छन्। दुईचक्के सवारी साधन नजिकैको झोलुंगे पुलबाट तार्नुपर्दा ज्यादै जोखिम हुनेगरेको सर्वसाधारणको गुनासो छ। बर्खाका बेला खोलाबाट पनि गाडी तार्न नसक्दा हजारौं सर्वसाधारणले दुःख पाइरहे पनि अलपत्र पुल निर्माण गर्नेतिर कसैको ध्यान जान सकेको छैन।

डिभिजन सडक कार्यालयका अनुसार ६ करोड १२ लाख ९२ हजार रुपैयाँमा पुल निर्माण सम्झौता भएको थियो। तर, पटक–पटक पत्राचार गरेर ठेकेदारलाई सजग गराउँदा पनि काम अघि बढ्न सकेको छैन। कार्यालयका इन्जिनियर ध्रुवकुमार झाले म्याद सकिएको आठ महिना बित्दा पनि पुलको काम ठेकेदारकै कारण रोकिएको बताए। ‘हामीले पटक–पटक ठेकेदार कम्पनीलाई पत्राचार गरेका हौं तर काम अहिलेसम्म ४० प्रतिशत हाराहारीमा मात्रै भएको छ,’ उनले भने, ‘अब म्याद थप्ने कुनै कारण नभएकाले म्याद थपेका पनि छैनौं।’

ठेकेदार कम्पनी नेसनल÷निलगिरी जेभीले गत वर्षको पुसमा म्याद थपका लागि कार्यालयमा निवेदन दिए पनि म्याद थप्ने कुनै कारण नभएकाले नथपिएको इन्जिनियर झा बताउँछन्। आर्थिक वर्ष सकिने बेला मात्र बजेट आउने पुरानै परम्परा रहेकाले गत चैततिर ठेकेदार कम्पनीले काम पनि अघि बढाउन खोजेको थियो। तर, बर्खामा बगिरहेको खोला भएकाले अरूतिर जस्तो पटक–पटक ढलाइ गर्न नमिल्ने र एकैपटक गर्नुपर्ने भएकाले काम रोकिएको झा बताउँछन्। ‘पुलको ढलान गरेर करिब चार महिना फर्मासँगै छाडिदिनुपर्ने हुन्छ, बगिरहेको खोलामा चैतमा काम थाल्दा बर्खा पर्ने भएकाले हामीले नै काम रोकिएका थियौं,’ उनले भने, ‘भदौपछि काम थालेर वैशाख–जेठतिर सक्दा मात्रै उपयुक्त हुने भएपनि अहिलेसम्म पुनः काम थालिएको छैन।’

डिभिजन प्रमुख खड्गबहादुर श्रेष्ठले गत भदौमै पुलको बाँकी काम थाल्ने ठेकेदारले बताए पनि अहिलेसम्म सुरु नभएको बताए। ‘हामीले पटक–पटक ताकेता गर्दा गत भदौदेखि नै काम थाल्ने कुरा भएको थियो तर अहिलेसम्म नथाल्दा अब कानुनी प्रक्रियामा समेत जानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘पानी परेको र अरू सानातिना कारण देखाएर ठेकेदारले काम रोक्न मिल्दैन।’ कुनै कारणबिना ठेकेदारले काममा ढिलाइ गर्दा पुल अलपत्र बनेको हो।

पुल निर्माण जिम्मा लिएको नेसनल÷निलगिरी जेभीले अहिलेसम्म ४० प्रतिशत हाराहारी नै भुक्तानी बुझेको कार्यालयले जनाएको छ। कम्पनीका युवराज डाँगीले पुलको डिजाइन बीचैमा परिवर्तन भएको र सडक विभागबाट डिजाइन स्वीकृत हुन समय लागेकाले निर्माण ढिलो भएको बताए। ‘डिजाइन स्वीकृत भएको पनि दुई वर्षजति त भइसक्यो होला,’ उनले नै भने, ‘हामी अब तत्कालै काम सुरु गर्छाैं, तीन–चार महिनामा काम सकिन्छ।’ उनले काम ढिलो हुनुमा बर्खाकै कारण देखाए। ‘वैशाखमा काम सुरु गर्न लागेका थियौं, खोला बढेपछि अप्ठ्यारो हुने भएकाले अब हिउँद लागेपछि काम थाल्दैछौं,’ उनले भने।

प्रकाशित: १७ मंसिर २०७५ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App