१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘व्यवस्थित सहर बनाउन लागेका छौं’

परासर सापकोटा, वडा अध्यक्ष, चाँगुनारायण नगरपालिका–८

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहिन रह्यो। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताका धेरै आकांक्षा र चाहना धेरै छन्। अहिले हामी आएसँगै जनताका आकांक्षा र चाहनालाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौं। भर्खरै स्थापना भएको नगरपालिकासँग पर्याप्त स्रोतसाधन छैन। सीमित स्रोतसाधनबाट भ्याएसम्म जनताको मन जित्ने प्रयत्न गरिरहेका छौं। हामी आएसँगै जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सम्बोधन गरिराखेका छौं। जनप्रतिनिधि भएसँगै गत  आवमा हतारहतार बजेट ल्यायौं। बजेट तथा नीति कार्यक्रमबाट २४ योजना अघि सारेका थियौं। तीमध्ये २२ योजना सम्पन्न भइसकेका छन्। वडा कार्यालयले सडक स्तारोन्नति, खानेपानी र नाली बनाउन प्राथमिकता दिएको छ।

तपाईँको वडामा अधिकांश कच्ची सडक छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
मेरो वडा भिरालो भूभागमा छ। त्यसैले ५२ साना–ठूला सडक छन्। तीमध्ये करिव आधा दर्जन जति सडकको कालोपत्रेको काम भएको छ। वडाको अधिकांश सडक कच्ची तथा ग्राभेलिङ छ। चाहेर पनि वडाको धेरै सडक कालोपत्रे गर्न सकेका छैनौं। वडा कार्यालयसँग सीमित बजेट भएकाले पनि जनताको अपेक्षाकृत काम गर्न सकेका छैनौं। पर्यटकीय नगरी नगरकोट जाने वैकल्पिक सडक मेरै वडामा पर्छ। भत्केको पार्टी सुडान–कलममसी हुँदै नगरकोट जाने १२ किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक स्तारोन्नति गरेका छौं। ट्रिपल आर योजनाअन्तर्गत मुहान पोखरीदेखि तरेली सडक जाने सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ। त्यस्तै गरी बाल्मिकीदेखि बाँसबारीसम्म जाने चार किलोमिटर सडकको निर्माण भइराखेको छ। चालू आवमा फुयाँल गाउँदेखि दुलालगाउँ जाने एक किलोमिटर सडक कालोपत्रे गर्न एक करोड रूपैयाँ बजेट विनियोजन गरेका छौं। उक्त सडकको टेण्डर प्रक्रिया अघि बढिसकेको छ। अबको केही समयभित्रै कालोपत्रे सुरु गर्छाै। वडाको बजेटले मात्रै वडाका सम्पूर्ण सडक कालोपत्रे गर्न सम्भव छैन। त्यसैले प्रदेश तथा संघीय सरकार तथा विभिन्न दातृ निकायसँग समन्वय गरेर वडाका सडक भ्याएसम्म धेरै सडक कालोपत्रे गर्ने योजना अघि सारेका छौं।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
भूकम्प गएको साढे तीन वर्ष बितिसक्यो। तर, अधिकांश भूकम्पपीडित अझै टहरामा नै रहेका छन्। वडामा आपेक्षाकृत रूपमा भूकम्पपीडितले आफ्नो घर बनाउन सकिरहेका छैनन्। भूकम्पपीडितसँग पर्याप्त रकम नहुनु, लालपूर्जा नहुनु, जग्गा विवादलगायत कारणले घर बनाउन सकिरहेका छैनन्। पहिलो किस्ता वापतको रकम लिने तर घर नबनाउनेको संख्या पनि अत्यधिक छ। अर्काेसँग उनीहरूसँग प्रक्रियागत लम्बेतान र कानुनीगत जटिलताको कारणले गर्दा केही भूकम्पपीडितले राहत बापतको रकम लिन पाइरहेका छैनन्। २०७२ सालको भूकम्पले वडामा करिब १८ सय भूकम्पपीडितका घर पूर्ण क्षति भएका थिए। पहिलो किस्ता बापतको रकम बुझ्ने भूकम्पपीडितको संख्या १३ सय छन्। दोस्रो किस्ता वापतको रकम बुझ्ने पाँचको हाराहारीमा रहेका छन्। त्यस्तै गरी तेस्रो किस्ता वापतको रकम बुझ्ने चार सय जना छन्। एक सय ४७ जना भूकम्पपीडितले गुनासोको फारम भरेका छन्। उनीहरूको समस्या अझैसम्म समाधान हुन सकिरहेको छैन। नगरपालिकाले भूकम्पपीडितको लागि परामर्श र नक्सा पासमा निःशुल्क गरेसँगै भूकम्पपीडितले भवन निर्माणमा जुटेका छन्।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
वडामा नयाँ बस्ती थपिएसँगै खानेपानीको हाहाकार देखिएको छ। एकातर्फ वर्षेनी बस्ती बढ्दै गइरहेको छ। अर्काेतर्फ खानेपानीका मुहान सुक्दै गएकाले पनि खानेपानीको समस्या देखिएको हो। पछिल्लो समय सुडाल, जीतपुर, फुयाँलगाउँ लगायतका विभिन्न स्थानमा खानेपानीको समस्या देखिएको छ। भिरालो क्षेत्र र पर्याप्त मुहान नहुँदा खानेपानीको समस्या देखिएको हो। यहाँ भूमिगत पानी निकालेर नै वितरण गर्नुपर्ने अवस्था रहेको छ। गत आवमा वडा कार्यालयले सुडालमा एउटा ड्रिप बोरिङ खनेका छौं। चालू आवमा २० लाख रूपैयाँ खानेपानीको लागि विनियोजन गरेका छौं। त्यति रकम खानेपानीको लागि पर्याप्त छैन। तापनि संघीय र प्रदेश सरकारसँग समन्वय गरेर साढे तीन वर्षमा एक घर एक धारासहितको खानेपानी उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेका छौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडामा करिव तीन हजार रोपनी जंगल रहेको छ। जंगलबाहेक तीन सय रोपनी सार्वजनिक पर्ति जग्गा छ। वडामा रहेका अधिकांश सार्वजनिक जग्गाको उपयोग हुन सकिरहेको छैन। वडामा रहेका करिव ६० रोपनी जग्गा अतिक्रमणमा परेको छ। सार्वजनिक जग्गाको रेखांकन गरेर संरक्षण गर्ने योजना भए पनि अहिलेसम्म काम गर्न सकेका छैनौं। डेढ वर्षमा वडामा रहेका सम्पूर्ण सार्वजनिक जग्गाको रेखांकन गरेर छुट्टाउने योजना बनाएका छौं। सार्वजनिक जग्गा संरक्षण गरेर विपद् व्यवस्थापन केन्द्र बनाउने योजना अघि सारेका छौं। त्यसमा सम्पूर्ण वडावासीको साथ र समर्थनको आवश्यक जरुरत छ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट चालू आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। विनियोजित बजेटबाट २४ वटा जति योजना अघि सारेका थियौं। तीमध्ये २२ योजनाको निर्माण सम्पन्न भइसकेको छ। दुई योजना प्राविधिक कारणले निर्माण सम्पन्न गर्न सकेनौं। चालू आर्थिक वर्षमा एक करोड ६५ लाखको बजेट विनियोजन गरेका छौै। गत आवमा खुद्रे योजना अघि सार्दा धेरै विकास हुन सकेन। त्यसैले चालू आवदेखि एक करोड रूपैयाँको फुयाँल गाउँदेखि दुलाल गाउँसम्मको एक किलोमिटर सडक कालोपत्रे गर्न छुट्टाएका छौं। तीबाहेक अन्य १४ सडक र खानेपानीका योजना अघि सारेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
नगरकोटसँगै जोडिएको वडा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको भित्र्याउने लक्ष्य राखेका छौं। मेरै वडाबाट वैकल्पिक बाटो भएर नगरकोट पुग्न पनि सकिन्छ। अहिले वडामा पर्यटकको लागि धमाधम नयाँ होटल निर्माण हुने क्रममा छन्। वडामा पर्यटकलाई आकर्षण गरेर पर्यटकीय हब बनाउने लक्ष्यसहित काम गरिरहेका छौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ सहर योजनाअन्र्तगत मेरो वडा पनि पर्छ। वडाको करिव २५ प्रतिशत भूभागमा व्यवस्थित किसिमले नयाँ सहर बनाउन लागेका छौं। त्यसको लागि डिपिआर बनाउने काम भइराखेको छ। मेरो कार्यकालसम्म ‘एक घर एक धारो’ अभियानलाई मूर्तरूप दिनेछु। खानेपानी, स्वास्थ्य, शिक्षा र सडक लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजना बनाएको छु।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १७ मंसिर २०७५ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App