१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मेलम्चीको पानी ६० दिनमा’

काठमाडौं - मेलम्ची खानेपानी आयोजना समयमा सम्पन्न गर्न अझै चुनौती भए पनि ६० दिनभित्र मेलम्चीको पानी काठमाडाैं भित्र्याउने बताइएको छ। गत असोजमै उपत्यकामा मेलम्चीको पानी आउने तयारी भए पनि निर्माण कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको हो।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्ची आयोजनाको विषयमा आइतबार गरेको छलफलमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्रमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गरे। उनले ६० दिनभित्र मेलम्चीको भौतिक काम सम्पन्न हुने बताए। जेठ यता आफू खानेपानी मन्त्रालयमा आएपछि काम तीव्र गतिमा भएको बताउँदै उनले पाइपलाइन जडान अन्तिम चरणमा पुगेको बताए।

मेलम्चीको काम यथाशीघ्र सम्पन्न गर्न समितिले निर्देशन दिएको छ। समितिले आयोजनाको अवस्था बुझ्न स्थलगत भ्रमण गर्ने भएको छ।

समितिको आइतबारको बैठकमा खानेपानी मन्त्रालयका मन्त्री विना मगर, मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई बोलाइएको थियो। समितिमा मन्त्री मगरको भने उपस्थिति थिएन।

आयोजनाको काम मध्ये साढे आठ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको र साढे ८ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ। आयोजनाको सुरुङको काम सम्पन्न गर्न, भेन्टिलेसन निर्माण र सुन्दरीजल सप्लाई पाइप जडानको काम बाँकी छ। यी सब कामका लागि ३० दिन लाग्ने आयोजनाका कार्यकारी निर्देशक कँडेलले बताए।

काठमाडौं उपत्यकामा खानेपानीको दीर्घकालीन समाधानका लागि मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो। चरणबद्ध रुपमा मेलम्ची, याङ्गि र लार्के नदि डाइभर्सन गरी सुरुङका माध्यमबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने योजना छ। पहिलो चरणमा १७ करोड लिटर र दोस्रो चरणमा ३४ करोड लिटर पानी ल्याउने योजना छ।

पहिलो चरणको योजना २०७५/०७६ भित्रमा सम्पन्न गर्ने लक्ष राखिएको छ भने दोस्रो योजना २०७२/०७३ बाट सुरु गरिएको छ। यसलाई २०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाका चुनौतीहरु

आयोजना सम्पन्न गर्नकालागि केही चुनौतीहरु देखिएका छन्। जसको समयमा समाधान नहुने हो भने आयोजना सम्पन्न गर्ने कुरालाई केही पर धकेल्न सक्ने देखिएको छ। आयोजनाका कार्यकारी निर्देशक कँडेलले भने मुख्य ठेकेदार रहेको इटालीको सिएमसी कम्पनीले सहायक ठेकेदारहरुको ३६ करोड भुक्तानी नगरेका कारण पनि आयोजना निर्माणमा ढिलाई हुन सक्ने बताए।

उनले स्थानीयले लेविको माग गरेकाले काम रोकिन सक्ने हुँदा पनि यसबारे उच्च स्तरमा छलफल हुनुपर्ने बताए। त्यस्तै पानी प्रशोधन केन्द्र सञ्चालनको लागि च्लोराइन ग्याँस ल्याउन ६ महिना लाग्ने भएका कारण यसमा माथिल्लो तहबाट सहजीकरण गरी समस्या समाधान गर्न उनले समितिलाई आग्रह गरे।

यस्तै जग्गा प्राप्ती, मुअब्जा तथा क्षतिपूर्तीको लगत संकलन गरिए तापनि स्थानीयहरुको सडक कालोपत्रे गर्नुपर्ने समेतका विभिन्न मागका कारण जग्गा अधिग्रहण हुन नसकेको पनि काममा ढिलाई हुनसक्ने उनले बताए।

समिति सदस्य गणेश पहाडीले देखिएका चुनौतिहरुलाई बेलैमा सम्बोधन नगर्ने हो भने समस्या आउने हुँदा यसमा ध्यान दिनुपर्ने बताए।

समितिमा मन्त्री मगरको आलोचना
खानेपानी मन्त्री विना मगर विकास तथा प्रविधिसमितिको आइतबारको बैठकमा नआएपछि उनको आलोचना भएको छ। समितिमा मेलम्ची खानेपानीको विषयमा १० दिन अघि नै जानकारी गराइएको भए पनि मन्त्री मगरले समिति सभापति कल्याणी खड्कालाई बिरामी भएको जानकारी पठाएकी थिइन्। समिति सदस्य राजेन्द्र राईले समितिमा मन्त्रीको अनुपस्थितीले मेलम्ची आयोजना समयमा सम्पन्न गर्न आशंका उब्जिएको बताए।

समितिका सदस्य पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि मेलम्चि खानेपानी आयोजनाको विषयको छलफलमा मन्त्री अनुपस्थिती हुनुले बैठक खल्लो भएको बताए। उनले खानेपानी समस्या विश्वभरी नै चर्को हुँदै गएकाले यसबारे विशेष योजना बनाउनु पर्ने बताए। उनले राजनीतिक तहबाट गर्नुपर्ने काम राजनीतिक तहबाट हल गर्नुपर्ने र स्थानीय तहबाट हल गर्नुपर्ने काम स्थानीय सरकारबाट हल हुनुपर्ने बताए। उनले भने अब मेलम्ची खानेपानी आयोजनको काम छिटो सम्पन्न गर्नुपर्दछ।

प्रकाशित: १७ मंसिर २०७५ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App