१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टेन्ट पेगिङमा गोविन्दलाई सफलता

टुँडिखेलमा शनिबार आयोजना गरिएको पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : दिनेश गोले/नागरिक

काठमाडौं – हिमशिखा घोडासहित मैदानमा उत्रिएका नेपाल आर्मीका गोविन्द खड्का पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन च्याम्पियनसिपअन्तर्गत शनिबार टेन्ट पेगिङ विधातर्फ च्याम्पियन भएका छन्।

टुंडिखेलको सैनिक मञ्चमा भएको च्याम्पियनसिपमा आर्मीकै ध्रुवप्रसाद अर्याल (महाकाली घोडा) दोस्रो र जगदीश घिसिङ (अन्जान घोडा) तेस्रो भएका छन् । च्याम्पियन गोविन्दले नगद २५ हजार रुपियाँ नगद प्राप्त गर्दा ध्रुवले १५ हजार र जगदीशले १० हजार  परस्कार प्राप्त गरे।

नेपाली सेनाको संयोजनमा भएको प्रतियोगिताको हाइ जम्पतर्फ रामहरि खड्का (घोडा देवकी) पहिलो भए । उनले ६ फिटको वाल पार गरेका थिए । भैरवविक्रम खड्का (घोडा गोकर्ण) दोस्रो र राजेन्द्र थापा (घोडा आकांक्षा) तेस्रो भए । शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो।

जम्पिङ ‘सो’ मा जगीदश घिसिङ (घोडा सम्मोहन) पहिलो भए । दिनेश भण्डारी (घोडा गोकर्ण) दोस्रो हुँदा राजेन्द्र थापा (घोडा आकांक्षा) तेस्रो भएका थिए । उनीहरूले क्रमशः २५ हजार, १५ हजार, १० हजार नगद प्राप्त गरे।

सिक्स बार जम्प महिला राइडरअन्तर्गत हरिकुमारी गुरुङ, यामकुमारी राणा, सरिता श्रेष्ठ, कविता थापा र दिया ढकाल छानिएका थिए । उनीहरूलाई नगद पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । तालिमप्राप्त घोडाहरूबाट खेल खेलाइएको प्रतियोगिताको मुख्य विधा टेन्ट पेगिङ, हाइजम्प, सिक्स बार जम्प र जम्पिङ सो हो।

राइडरहरुको पेसा र क्षमतालाई अभिवृद्धि गर्ने र घोडचडी खेललाई लोकप्रिय बनाउने उद्देश्यका साथ टुँडिखेलमा उक्त खेल भएको थियो । इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले घोडचडी खेललाई सर्वसाधारणसम्म पुर्याएर लोकप्रिय बनाउनको लागि आयोजना गरिएको बताए । उनले भने, ‘नेपालमा यस्ता प्रतियोगिताहरु सञ्चालन गर्नुपर्छ । यो खेलले सबैलाई आकर्षीत पार्नुका साथै खेलाडीको मनोबल बढाउँदै लान्छ।’

खेलमा प्रधान सेनापती पूर्णचन्द्र थापा लगायत अन्य देशका उच्च पदाधिकारीहरुको सहभागिता थियो । २०६६ सालमा स्थापित नेपाल इक्वेस्ट्रियन संघले विभिन्न घोडचडी खेल प्रतियोगिता आयोजना गर्दै आएको छ । संघकै पहलमा श्रीलंकाको हम्बाटोटामा ८ देखी १४ अक्टोबर सन् २०११ सम्म सञ्चालित प्रथम दक्षिण एसियालीबीच खेलकुदमा नेपाली सेनाअन्तर्गतका नेपाल क्याभिलरीका राइडरहरु सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण, दुई रजत तथा दुई कांस्यसहित कुल पाँच पदक हासिल गर्न सफल भएका थिए।

प्रकाशित: १६ मंसिर २०७५ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App