१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

कस्तो सुख, कस्तो समृद्धि?

अविकसित राष्ट्रका प्रायः सबै शासकहरूले निर्वाचनका बेला जनताको मन जित्नका निम्ति समृद्धि र सुखका कुरा गर्ने गरेका छन्। भलै चुनाव जितिसकेपछि आफ्नै प्रस्ताव तिनले किन नबिर्सिऊन्। यसपटकको निर्वाचनपछि सशक्त राष्ट्रवादी नेताका रूपमा चिनिएका नेता केपी ओलीले आफ्नो उमेरको उत्तरार्धमा आएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा घन्काएका छन्। उनको यो नारा निर्वाचन जित्ने सुनियोजित हत्कण्डा मात्र थियो कि साँच्चिकैको सुझबुझपूर्ण परिकल्पना थियो भन्ने कुरा राम्रोसँग बुझ्न जो कोहीलाई मुस्किल परिरहेको छ। उनले स्थानीयदेखि अन्तर्राष्ट्रिय मञ्चबाट समेत यो नारालाई अझ बढी दम दिएका त छन् तर विश्वसनीय कार्यक्रम दिन उनले सकेका चाहिँ छैनन्। मीठो बोल्न जान्ने व्यापारीले रत्नपार्कमा दश पैसामा ‘बाह्रमज्जा’को पुरीया बेचेझैँ सीधासाधा नेपालीलाई समृद्धि र सुखको त्यो सपनालाई सपनामा मात्र सीमित गरिन्छ वा साँच्चिकै कार्यरूपमा परिणत गरिने हो, हेर्न अझ केही वर्ष धैर्य गर्नैपर्ला।

समृद्धि र सुख भन्ने कुरा सापेक्षित कुरा हो। कोभन्दा समृद्ध र कोभन्दा सुखी ? विश्वमा रहेका तन्नम देशहरू भन्दा समृद्ध र सुखी मात्र बनाउने योजना हो भने हामीले धेरै मिहिनेत गरिरहनुपर्ने आवश्यकता छैन। सरकारले देशमा शान्ति सुव्यवस्था मात्र मिलाइदिए पुग्छ। होइन हाम्रा छिमेकीहरू भन्दा समृद्ध र सुखी हुने सोच हो भने उनले जेजे गरे तिनलाई नेपाली परिवेशमा सक्कल बमोजिम नक्कल गर्ने अक्कलको विकास गरे पुग्छ। तर, हेक्का रहोस् ! नक्कल गर्न पनि आफ्नो लक्ष्यप्रति नेताहरू कतिबद्ध हुनैपर्छ। अझ विकसित राष्ट्रहरूझैँ दिगो विकासको सपनालाई साकार पार्ने लक्ष्य लिने हो भने विकासका सिद्धान्तहरूको अक्षरशः अनुसरण गर्नैपर्छ। त्यतिले मात्र कहाँ पुग्छ र ? विकासको साँच्चिकै सपना देख्नेले आफ्नो नैतिक आचरणलाई संयमित बनाउनैपर्छ। ठालु वा नेता सत्चरित्रवान् भयो भने मात्र उनका कार्यकर्ता अनुशासित एवं संयमित हुने हुन्। भ्रष्टाचारी, अनाचारी, व्यभिचारी र अत्याचारीहरूलाई पार्टीको टिकट दिएर जिताएर ल्याउने अनि तिनीद्वारा समृद्धि र सुखको अपेक्षा गर्नु मृगमरीचिकाबाहेक केही हुनेछैन। आशा गरौँ, हाम्रा नेता एवं प्रधानमन्त्री ओलीले दिगो विकास, समृद्धि र सुखको कल्पना गरेका छन्।

भौतिकरूपले विपन्न व्यक्ति पनि आध्यात्मिक छ भने उसले एउटा सम्भ्रान्त भौतिकवादी भन्दा बढी सुखानुभूति गहिरहेको हुन्छ।

समृद्धि भनेको भौतिक कुरा हो भने सुख चाहिँ भावनासँग तादात्म्य राख्ने विषय हो। अझ गहिराइमा जाने हो भने, भन्न सकिन्छ कि– सुख भनेको आध्यात्मिक विषयवस्तु हो। भौतिकरूपले विपन्न व्यक्ति पनि आध्यात्मिक छ भने उसले एउटा सम्भ्रान्त भौतिकवादी भन्दा बढी सुखानुभूति गहिरहेको हुन्छ। त्यसैले यहाँ गहिराइसम्म पुग्ने दर्शनको कुरा गर्नुभन्दा प्रधानमन्त्रीजीको सपना सार्थक पार्न आवश्यक तत्वहरू के–के हुन् र तिनको परिचालन सार्थकरूपले गर्ने अभ्यासको थालनी उनले गरेका छन् कि छैनन् भन्ने कुरामा केन्द्रित हुनु उपयुक्त होला।

भौतिक समृद्धिको प्राथमिक सम्बन्ध उत्पादन र त्यसको वितरणसँग रहन्छ। उत्पादन भन्नासाथ आफ्नो देशको भूगोल लगायतका विविध अवयवहरूसँग सम्बन्ध रहन्छ। यो भन्दा अझ सूक्ष्म अध्ययन गर्ने हो भने शासन व्यवस्था र शासकको मनोवृत्ति उत्पादन र वितरणका निम्ति कति सकारात्मक छ, त्यसमा सम्पूर्ण कुरा निर्भर रहन्छ। त्यसपछि कुरा आउँछ जनताको विश्वास सरकारप्रति कति छ। प्रधानमन्त्री ओलीले स्वयंले एक पटक भन्नुभएको छ, ‘निराश जनता अझ बढी खतरनाक हुन्छन्।’ ठीक भन्नुभयो उहाँले। यही मर्मसँग आत्मसात् गरेकै हुनाले २०१५ सालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले राजा महेन्द्रलाई आफ्नो देशको विकासको सपनाबारे भनेका थिए, ‘सरकार ! म यो देशको प्रधानमन्त्री ! मसँग विराटनगरमा एउटा बस्ने घर छ। २–४ बिगाहा जमिन छ। त्यो जमिनको आयस्ताले म वर्षभरको घर खर्च गर्छु। त्यसैको आम्दानीबाट प्राप्त रकमले छोराछोरीको शिक्षाको व्यवस्था मिलाउँछु अनि आवश्यक औषधोपचार पनि। बाँकी रहेको रकमले मेरो परिवारका लागि भइपरी आउने सबै जोहो मिलाउँछु। मसँग जति छ त्यसमा हामी खुसी र सुखी छौँ। हो, मेरै परिवारको जतिकै सुख नेपाली सबैले प्राप्त गरुन् भनेर म राजनीतिमा लागेको हुँ। १५ वर्षको अवधिमा नेपालीलाई मेरै आर्थिक हैसियत बराबरको बनाउने योजना छ मेरो।’

यसैगरी जन-आन्दोलन : २०४६ का सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहले आफ्नै पार्टीको सरकारलाई सुझाव दिने क्रममा भन्नुभयो– ‘हामीले राजनीतिक क्रान्ति सम्पन्न ग¥यौँ। तर जबसम्म हामीले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन सक्दैनौँ तबसम्म हजारौँ हजार नेपालीको बलिदानले अर्जित यो प्रजातान्त्रिक व्यवस्थाको संवद्र्धन गर्न हामी सक्नेछैनौँ। त्यसकारण प्रजातन्त्रको संवद्र्धनका निम्ति पनि देशमा आर्थिक क्रान्ति आवश्यक छ। फेरि आर्थिक क्रान्तिलाई सफल तुल्याउने अनिर्वाय तत्व भनेको जनता नै हो। सरकार भनेको जनताको विश्वासको भरमा जीवित रहने तत्व हो। जनताको मन जित्न नसक्ने सरकारले एक पाइला पनि अघि बढ्न सक्दैन। त्यसकारण विकासका लामालामा योजना तर्जुमा गर्नुपूर्व जनताको सुख दुःखको विचार गर्नुपर्छ। जनताको मन जित्नका लागि सरकारले पहिले राहत प्रदान गर्ने घोषणा गरोस् अनि बल्ल जनताले सरकारलाई सहयोग गर्नेछ। राहतका अतिरिक्त विभिन्न जातजाति, धर्म, भाषा क्षेत्रमा विभक्त नेपालीहरू आफू सदीयौँदेखि शासकद्वारा उपेक्षित रहेको भन्ने हीनभावनाले ग्रस्त छन्। तिनको हिनताबोधको औषधी भनेकै उचित अवसरको उपलब्धता हो। त्यसकारण प्रजातान्त्रिक व्यवस्थाको संवर्धनका निम्ति सबै नेपालीलाई एक ढिक्का बनाई देश निर्माणको महायज्ञमा समाहित गर्ने हो भने पिछडिएका र अवसरबाट वञ्चित जनतालाई उचित अवसर उपलब्ध गराउनैपर्छ। यसो गर्न सकिएको अवस्थामा अन्यत्रका देशहरूले २५ वर्ष लगाएर सफल तुलाएको आर्थिक क्रान्तिलाई नेपालीहरूले १०–१५ वर्षमै सफल पार्ने हैसियत राख्छन् भन्ने मेरो विश्वास छ।’ गणेशमान सिंहको यो सुझाव उहाँकै पार्टीको सरकारले ग्रहण गर्ने आवश्यकता महसुस गरेन। त्यसैले त तीन वर्ष पुग्दा नपुग्दै कांग्रेसको सरकार विस्थापित भयो। कांग्रेसको त्यही गल्तीका कारण मुलुक आज २०४६ सालपूर्वको अवस्थाभन्दा पनि खराब अवस्थाबाट गुज्रन बाध्य छ। यो पीडाबोधबाट ग्रस्त सर्वमान्य नेता गणेशमान सिंहले आफ्नो पार्टीको सरकारको असफलतापछि लगत्तै २०५१ मा स्थापित एमालेको नौ महिने सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीलाई कमलपोखरीस्थित आफ्नै निजी कार्यालयमा भेटेर भन्नुभयो, ‘प्रधानमन्त्रीजी ! मेरो सुझावले मेरै पार्टीका प्रधानमन्त्रीको कानमा बतास लगाउन सकेन, तपाईं सक्नुहुन्छ भने गर्नुहोस्। होइन मेरा यी सबै सुझाव कार्यान्वयन गर्न सक्नुहुन्न भने मेरो करजोड आग्रह छ– कृपया यहाँका वृद्धवृद्धाहरूलाई कमसेकम मासिक दुई सय रुपियाँ मात्र भए पनि ‘राहत’स्वरूप दिने व्यवस्था मिलाइदिनु होला।’ गणेशमान सिंहको आग्रह सुनेपछि प्रधानमन्त्री अधिकारीले भन्नुभयो, ‘गणेशमानजी ! मैले कुरा बुझेँ। धेरै नसके पनि एक सय मात्र भए पनि म व्यवस्था गर्नेछु, ढुक्क हुनुहोस्।’ मनमोहन अधिकारीजी सही अर्थको जनताको प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यसकारण उहाँले गणेशमानजीको सुझावको मर्म तत्क्षण बुझ्नुभयो र तद्अनुरूप बजेटमा व्यवस्था गर्नुभएकै कारण आज २५ वर्षपछि पनि नेकपा उनकै कर्मको उपलब्धिका कारण प्रशंसित छ। राजा महेन्द्रले बिपी कोइरालालाई बुझ्न नसक्नु र गिरिजाप्रसादले गणेशमान सिंहको सुझावसँग आत्मसात् गर्न नसक्नुले प्रकारान्तरमा उनीहरू नेपाली जनताको प्रशंसा प्राप्त गर्ने अवसरबाट विमुख हुन पुगे।

मीठो बोल्न जान्ने व्यापारीले रत्नपार्कमा दश पैसामा ‘बाह्रमज्जा’को पुरीया बेचेझैँ सीधासाधा नेपालीलाई समृद्धि र सुखको त्यो सपनालाई सपनामा मात्र सीमित गरिन्छ वा साँच्चिकै कार्यरूपमा परिणत गरिने हो, हेर्न अझ केही वर्ष धैर्य गर्नैपर्ला।

माथि उल्लेख गरिएका नेपाली राजनीतिका दुई महापुरुषहरूको प्रसंग वर्तमान प्रधानमन्त्रीको अभियानसँग जोड्नुको तात्पर्य यस देशका तृणमूलका जनताको दैनिक समस्यासँग परिचित हुन वर्तमान प्रधानमन्त्री सक्षम हुनुहोस् र तदनुरूप पाइला चाल्नुहोस् भन्ने सदीक्षा प्रकट गर्न मात्र खोजिएको हो। अर्काको विकासको अन्धानुकरण नेपाली परिवेशमा असान्दर्भिक हुन सक्छ जसले अन्ततः प्रधानमन्त्रीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ जस्तो पवित्र अभियान कहीँ असफल नभइदियोस्। हाम्रो आग्रह छ, प्रधानमन्त्रीजी ! आफ्नो धरातल नभुल्नुहोस्। एक गाग्री पिउने पानीको व्यवस्था गर्न जुन देशका पहाडी जनतालाई दिनभरि लाग्छ, जुन मधेसका जनताले आर्सिनिक रसायनविहीन शुद्ध पिउने पानी पाएका छैनन्, जुन देशको राजधानीका जनताको घरमा १५ दिनमा एकपटक त्यो पनि आधा घन्टा पनि पानी आउँदैन त्यस्ता जनतालाई मोनोरेल,  प्रशान्त महासागरमा पानी जहाज, मेट्रो एवं बडेबडे रेल र फास्ट ट्रयाकको कुरा गर्नुको के अर्थ ? तराईको वन र चुरेको जंगल मासेर पहिले नै भारतबाट आयात गरिएको प्रदूषित वायुबाट यहाँका जनता आक्रान्त छन्, पुनः मधेसको सम्पदाका रूपमा रहेको नेपाली सालको जंगल सखाप पारेर एयरपोर्ट र रेलमार्ग बनाउनुको के प्रयोजन ? पञ्चायती राजले विनाश गरेको जंगलका कारण प्रदूषणमा बाँच्न बाध्य नेपालीलाई पुनः गणतन्त्रको उपहारस्वरूप वनविनाशलाई नै समृद्धिका आधार बनाउने हो भने त्यस्तो समृद्धि नेपालीलाई आवश्यक छ कि छैन, एक पटक जनमत–संग्रह गर्ने कि ?

एकीकृत नेपालका पहिलो राजा पृथ्वीनारायण शाहले भनेका थिए रे, ‘उत्तर र दक्षिणका शासकहरू धूर्त छन्। तिनबाट आफ्नो राज्य र जनतालाई जोगाउनु।’ नभन्दै हेर्नु हवस् त ! सहयोगको नाममा अनेकौँ परियोजनाहरू बनाइदिन्छु भन्ने यिनै उत्तरी र दक्षिणी शासकहरूले उनकै स्वार्थबिनाका कुनै योजना आजपर्यन्त सम्पन्न गरेका छन् ? त्यसकारण उत्तर र दक्षिणको सिमानाबाट काठमाडौँ जोड्ने रेलमार्गले नेपालको समृद्धि र सुखका निम्ति सिन्को पनि भाँच्ने छैनन् बरु ती रेलमार्गहरू कालान्तरमा कतै हतियार बोक्ने साधन त बन्ने होइनन् ? सावधान हौँ है !

‘अर्काले हात्ती चढ्यो भने आफूले धूरी चढ्ने गल्ती गर्नुहुन्न’ भन्ने हाम्रा पुर्खाका अर्ति उपदेशलाई शिरोधार्य गरी हाम्रो वर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओलीले पनि नेपालीको समृद्धि र सुखको अभियानलाई उनका अग्रज बिपी र गणेशमानले गरेझैँ नेपाली धरातललाई नजरअन्दाज नगर्नु नै ठीक हो कि ?

प्रकाशित: १६ मंसिर २०७५ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App