१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुनील र रञ्जना अन्तिम आठमा

काठमाडौं – नेपालका पुरुष एकलमा चार र महिला एकलमा एक खेलाडी शुक्रबार दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ नवीन श्रेष्ठ, प्रिन्स दाहाल, सुनिल जोशी र प्रफुल्ल महर्जन अन्तिम आठमा प्रवेश गरेका हुन्। 

महिला एकलमा रञ्जना भट्टले पनि अन्तिम आठ स्थान बनाउँदा तीन खेलाडीको चुनौती भने समाप्त भएको थियो। पुरुष एकलमा नवीनले बंगलादेशका गौरव सिंहलाई २१–१७ र २१–१७ ले स्तब्ध बनाउँदा प्रिन्सले श्रीलङ्का भिरेन नेतासिघेंलाई २१–९ र २१–१६ ले पराजित गरे।

सुनीलले भने माल्दिभ्सका निबाल अहमदलाई २१–१२ र २१–१५ ले तथा प्रफुल्लले माल्दिभ्सका माहम्मद राफाहलाई २१–४ र २१–८  ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन्। महिला एकलतर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१–१९ र २१–१८ ले पाखा लगाइन्। महिला एकलतर्फ रञ्जना बाहेक नेपाली खेलाडीले आफुलाई अगाडि बढाउन असफल भए।

रसिला महर्जन भारतकी माल्भिका बान्सोदसँग २१–१० र २१–१२ तथा जेसिका गुरुङ श्रीलंकाकी दिल्मी दियाससँग २१–८ र २१–१५ ले तथा सुनैना मुखिया पनि श्रीलंकाली खेलाडीसँगै २१–८ र २१–९ ले पराजित भए।

अन्य खेलमा पुरुष एकल बंगलादेशका मंगल सिंहले माल्दिभ्सका अकिफ मोहम्मदलाई २१–५ र २१–१८ ले पराजित गर्दै क्वार्टरफाईनल यात्रा तय गरे। क्वाटरफाईनलमा प्रवेश गर्ने क्रममा भारतका प्रियान्सु रजावतले श्रीलङ्काका चिराथ इल्लेपेरुमाचीलाई २१–११ र २५–२३ ले, श्रीलङ्काका रन्थुस्का ससिन्दुले आफ्नै देशका चामाथ दियासलाई २१–१६ र २१–१९ ले तथा भारतका ध्रुब रावतले श्रीलङ्काका धुमिन्दु अभयविक्रमेलाई २१–११ र २१–१७ ले पाखा लगाए।

महिलातर्फ बंगलादेशकी फवरिन विन्ते इमदाद हृदिताले माल्दिभ्सकी माशा रसिदलाई १९–२१, २१–१७ र २१–१६ ले, श्रीलङ्काकी हसरा विजयरत्नेले माल्दिभ्सकी अमिनाथ नविहालाई २१–१० र २१–१९ ले तथा भारतकी पूर्वे बार्भेले बंगलादेशकी रश्मा अख्तरलाई २१–७ र २१–७ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्र तय गरे।

नेपाल ईन्टरनेशनल सिरिज मंगलबारदेखि
‘योनेक्स सनराइज इन्टरनेसनल सेरिज–२०१८’ मंगलबारदेखि काठामाडाैंमा आयोजना हुने भएको छ। यो नेपालमा आयोजना भएको लगातार तेस्रो अन्तराष्ट्रिय सिरिज हो। नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका खेलाडीले सहभागिता जनाउने संघका सह–महासचिव लवभक्त श्रेष्ठले जानकारी गराए।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल तथा युगल तथा मिश्रीत युगल गरि ५ विधामा पुरुषतर्फ १ सय ६ र महिलामा ७२ गरी १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघका सचिव नवीनविक्रम शाहले बताए।

विश्व ब्याडमिन्टन महासंघको र्याङकिङमा रहने प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, बंगलादेश र माल्दिभ्सलगायत मरिसस, भियतनाम, मलेसिया, ईरान, बहराइन, अस्ट्रेलिया, युएसए, जर्मनी, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फ्रान्स र सिंगापुरले सहभागिता जनाउने संघले जानकारी गराएको छ।

कुल १० हजार डलर पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुष र महिला एकलमा पहिलो हुनेले ७ सय ५० डलर, दोस्रोले ३ सय ८० डलर, सेमिफाईनलिस्ट दुईले १ सय ४५ डलर, क्वाटरफाइनलिस्टले ६० डलर तथा प्रिक्वार्टरफाइनलिस्टले ३५ डलर प्राप्त गर्नेछन्।

पुरुष युगल, महिला युगल र मिश्रीत युगलतर्पm प्रथम स्थान हात पार्नेले ७ सय ९० डलर, दोस्रोले ३ सय ८० डलर, तृतीय दुई जोडीले १ सय ४० डलर, क्वार्टरफाइनल प्रवेश गर्नेले ७२.५० डलर तथा प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेले ३७.५० डलर प्राप्त गर्ने छन्। प्रतियोगताको लागि खेलाडी तथा अफिसियल नेपाल आउने क्रम सुरु भइकेको संघले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७५ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App