१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘पुरानै कार्यशैली र सोचले सहर बिग्रियो’

दीपक चुदाली, युवा नेता

तपाईँको बुझाईमा सहर भनेको के हो ?
सहर विकास, समृद्धि, सोच, सभ्यता र अवसरहरूको संगम स्थल हो, जहाँ मानिसहरू सुविधासम्पन्न जीवनयापन गर्न सक्छन्। सहरमा भौगोलिक, भाषिक तथा सांस्कृतिक विविधता अटेको हुन्छ। जनघनत्व बढी हुने भएकाले हरेक वस्तु तथा सेवाको पर्याप्त विकल्प सहरको प्रशासनले खोजेको हुनुपर्छ।

घुमेकामध्ये मनपर्ने सहर ?
पोखरा मलाई अत्यन्तै मनपर्ने सहर हो। प्राकृतिक जटाहरूले भरिपूर्ण पोखरा नेपालीलगायत अधिकांश विदेशी पर्यटकहरूको पनि रोजाइमा पर्छ। सायद यसको सुन्दरता र सरसफाइले पनि यसको आकर्षण बढेको मान्न सकिन्छ। ताल, हिमाल, गुफा तथा सेती नदी यसका मुख्य आकर्षण हुन्। व्यवस्थित सहरभित्र प्रकृतिसँगै आधुनिक सहरको माहोलमा रमाउनेहरूका निम्ति पोखरा उपयुक्त सहर हो। पोखरामा राम्रो आतिथ्यता मिल्छ। पोखराले पर्यटनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु-याएको छ।

काठमाडाैं कस्तो लाग्छ ?
काठमाडौं आफैमा विशिष्ट पहिचान बोकेको सहर हो। यहाँ अद्भूत कला कौशल छन्। हाम्रा पूर्खाले उपत्यकालाई कला नगरी बनाइदिएका छन्। यहाँको जस्तो महत्व अरु मुलुकका सहरमा पाइन्न। एक हिसाबले यो अवसरहरूको केन्द्र हो। काठमाडाैंको भुगोलमा एउटा साइकल चलाएर गुजारा गर्नेदेखि पजेरो चढ्ने मानिसहरूको सपना सजिएको छ। यहाँको कला, संस्कृति, सम्प्रदायले हाम्रो राष्ट्रलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। विडम्बना ! हाम्रो राज्यको अदूरदर्शिताले गर्दा यहाँको बसाई एकदमै अव्यवस्थित र भद्रगोल बन्दै गएको छ। धुवाँ, धुलो र फोहरले नागरिक आक्रान्त छन् नै विदेशमा पनि यसको गलत सन्देश गइरहेको छ। समृद्धिको महत्वपूर्ण सूचकको रूपमा रहेको सार्वजनिक यातायात व्यवस्थित छैन। सार्वजनिक शौचालय, उद्यान तथा पार्कहरूको अभाव छ यहाँ। काठमाडौंमा बस्ने नागरिक पनि आफ्नो कर्तव्यबाट चुकेका छन्। चालकहरू लेन अनुशासनको पालना गर्दैनन्। सबै पक्षलाई समीक्षा गर्दा काठमाडाैं सहर रहरलाग्दो छैन। यहाँका नागरिक सहरी सुविधाबाट वञ्चित छन्। यसको जवाफदेहिता सरकार नै हो।

नेपालबाहिर कुन–कुन ठाउँ घुम्नुभएको छ ?
युवा उद्यमशीलता सम्बन्धि कार्यक्रमहरूमा भाग लिने क्रममा मैले केही देशहरू घुम्ने अवसर पाएको छु। जापान, चीन, मलेसिया र सिंगापुरको विकासबाट म अत्यन्तै प्रभावित भएँ। प्रविधिको उच्चतम् सदुपयोगले त्यहाँको जीवन अत्यन्तै सहज बनाएको छ। योजनाबद्ध विकासका नमुना मोडलहरू हामी त्यहाँबाट सिक्न सक्छौं।

हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
मुख्य कारण त हामीले सहर विकासमा एकीकृत योजना ल्याउन सकेनौं। व्यवस्थित र योजनाबद्ध विकासका लागि राज्यले नीति नियम ल्याउन सकेन। हामीसँग भएका केही नीति नियमहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेन। विकासका कार्यक्रमहरू ल्याउँदा दिगो विकासलाई फाइदा पुग्ने भन्दा पनि शक्ति केन्द्रको आडमा केही निश्चित व्यक्तिहरूको हितलाई ध्यानमा राखेर ल्याइयो। हाम्रा सहरहरूको विकास हँुदै गर्दा त्यहाँको स्थानीय मौलिकता, कला संस्कृति संरक्षणमा कसैको ध्यान जान सकेन। हामीले आधुनिक संरचना निर्माणलाई मात्र सहर विकासको रूपमा लियौँ। त्यसैले सहरभित्र हाम्रा सम्भाव्यताहरू अटाउन सकेनन्। देशमा लामो राजनीतिक संक्रमणले गर्दा पनि यस्ता कुराहरूमा हाम्रो ध्यान जान सकेन जस्तो लाग्छ।

विदेशका सहर कसरी विकास भएको पाउनुभयो ?
त्यहाँ विकासका निश्चित योजना छन्। आउने सय वर्ष पछिसम्मको पुस्ताको भविष्य सोचेर विकासका कामहरू गरिएका हुन्छन्। विकास गर्दा आवश्यक सबै निकायसँग राम्रो समन्वय हुने रहेछ। विकासको निम्ति राज्यले पनि जिम्मेवारीपूर्वक नीति बनाएको हुन्छ। र, नागरिक पनि एकदमै इमान्दारीपूर्वक सरकारले बनाएका नीतिनियमहरूको पालना गरेका छन्। नागरिक स्वअनुशासनमा बाँधिएका छन्। राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक सबै आ–आफ्नो ठाउँमा इमानदार अनि जिम्मेवार हुँदा विकास र समृद्धि सम्भव छ भन्ने देखाउँछ।

विदेशीभन्दा हामी केमा फरक रहेछौ ?
स्रोत–साधन र सम्भावनामा हामी विदेशीहरू भन्दा कम छैनौँ। पाकृतिक स्रोतको रूपमा हामीलाई भाग्यमानी नै ठान्नुपर्छ। हाम्रो, कला संंस्कृति, इतिहास र रहनसहन अन्य देशको भन्दा धेरै विशिष्ट छ। विकास र समृद्धिको निम्ति प्रचुर सम्भावना पनि छ यहाँ। मात्र हामीमा इमानदारिता र अनुशासन कम भएको हो। हामीले राजनीतिक परिवर्तन ग¥यौं। तर, हाम्रो सोच परिवर्तन भएन। प्रविधि र आधुनिकतामा भने विदेशीहरू अगाडि छन्। सहरहरू व्यवस्थित र सफा छन्।

नेपालका सहर अन्य मुलुकका जस्तै बन्न सक्दैनन् ?
हामीले चासो दिएर विकास गर्ने हो भने यहाँको सहर संसारमै उत्कृष्ट बन्न सक्छन्। त्यसको लागि सबैमा विकासको चेत हुनुपर्छ। राजनीति गर्नेहरूमा निस्वार्थ भावना जाग्नुपर्छ। सहरमा लुकेका सम्भावना खोज्ने, युवा परिचालक गर्ने, नीतिनियमको परिपालना गराउने, सहरको सम्भावना खोज्नजस्ता काम गर्ने हो भने सहर राम्रो बन्न सक्छ।

उपत्यकाको मन पर्ने पक्ष के हो ?
उपत्यका पुरानो र मौलिक सहर हो। यहाँको ऐतिहासिक पक्ष निकै सुन्दर लाग्छ। काठमाडौं हरेक सुविधा भएको ठाउँ हो।

मननपर्ने पक्ष ?
यहाँको फोहर धुवाँधुलो र अस्तव्यस्त सार्वजनिक यातायात देख्दा दिक्क लाग्छ।

तपार्इँ युवाको प्रतिनिधित्व गर्नुहुन्छ, सहरमा युवा तथा विद्यार्थीको भविष्य र जागिरको सम्भावना के देख्नुहुन्छ ?
आम युवा विद्यार्थीहरूको लागि सहर सपना फुलाउने थलो हो। यहाँ सबैथोक छन्, मात्रै आँट र इच्छा हुनुपर्छ। तर, पछिल्लो समय सहरका हरेक घर भाडामा छन्। महँगी बढेको छ। एक हिसाबले सबैको निम्ति सहर खर्चिलो बनेको छ।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
एकीकृतरूपमा विकसित सहर होस्। सहरी सुविधाहरू नागरिकले सहजरूपमा उपभोग गर्न सकुन्। सरकारका हरेक निकाय चुस्त हौंन्, जसको जे जिम्मेवारी हो त्यो जिम्मेवारी सहजै निभाओस्। सहरमा कला र संस्कृतिको छनक भेटियोस्। सहरको शैली एकै किसिमको होस्। सहरको बनावट देखेर विदेशीले फरक ठान्न सकुन्।

सहरवासीको बानी–व्यवहार कस्तो लग्छ ?
सरकारी निकाय जिम्मेवार बन्न नसकेको कुरा आफ्नो ठाउँमा छ। तर, सहरवासीहरू पनि सहरको सरसफाइ र सुन्दरता बिगिएको प्रति त्यति जिम्मेवार छैनन्। जेब्राक्रसमा सवारीको गति कम गर्न आकाशे राखिएको छ। तर, त्यसको प्रयोगै हुन्न। आफूलाई जे सजिलो लाग्छ त्यही गर्छन् सहरवासी। आफ्नो सजिलोको लागि सहरको नियम मिचिन्छ। यस्तो प्रवृत्ति सहरवासी सबैमा छ। त्यसकारण मानिसको सोच पनि सुध्रन जरुरी छ, सहरको विकासको लागि।

पछिल्लो समय घुमेको सहर ?
पछिल्लो समय पोखरा पुगेको थिएँ। पोखरा नेपालभित्र विदेशीलाई देखाउन लायक सहर बनेको छ। यो सहरतर्फ सरकारले अझ ध्यान दिएर काम गर्न जरूरी छ।

सहरको मिठो लाग्ने खानेकुरा ?
मलाई नेपाली परिकारहरू नै मनपर्छ। नेपालबाहिर हुँदा पनि नेपाली खानेकुरा नै खोज्छु।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १४ मंसिर २०७५ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App