१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतको स्मरणीय जित

कानपुर– स्पिनरद्वय रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाको बलिङप्रेरित भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा १ सय ९७ रनको जित निकालेको छ ।

जितसँगै भारतले आफ्नो ५०० औं टेस्ट स्मरणीय बनाएको छ । न्युजिल्यान्डले ९३–४ को स्थितिबाट पाँचौं दिनको सुरआत गरेको थियो । ग्रिनपार्क रंगशालामा अश्विनले ६ विकेट लिएपछि ४ सय ३४ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली २ सय ३६ मा समेटिएको थियो ।

अश्विनले टेस्टमा ५ विकेट लिएको १९औं हो । अश्विन र जडेजा मिलेर १६ विकेट लिएपछि न्युजिल्यान्डको ब्याटिङ लाइनअप धरापमा परेको थियो । न्युजिल्यान्डको अन्तिम विकेटका रूपमा अश्विनले नेल वाग्नरलाई एलबिडब्लु आउट गरेका थिए । अफ स्पिनर अश्विनले २ सय २५ रन दिएर १० विकेट लिए ।
म्यान अफ दी म्याच प्रदर्शन गरेका जडेजाले पहिलोमा ५ र दोस्रो इनिङमा १ विकेट लिए । उनले पहिलो इनिङमा अविजित ४२ र दोस्रोमा अविजित ५० रनको योगदान गरे ।

‘यो स्मरणीय टेस्ट बन्यो,’ ५ सय टेस्ट पूरा गर्ने चौथो राष्ट्र भारतका कप्तान विराट कोहलीले भने, ‘दोस्रो दिनमा न्युजिल्यान्डले राम्रो ब्याटिङ गरेपछि अश्विन र मैले कसरी रन रोक्ने भनेर सल्लाह ग¥यौं । त्यसपछि  जडेजा र अश्विनले खेल हाम्रो पक्षमा ल्याए ।’

ल्युक रोन्ची र मिचेल सन्टनरले पाँचौ विकेटमा १ सय २ रनको साझेदारी गर्दै न्युजिल्यान्डको आशा जीवित राखेका थिए । रोन्चीले १ सय २० बलमा ९ चौका र १ छक्कासहित ८० रन बनाए ।

रोन्ची भारतीय जडेजाको बलमा अश्विनको  हातबाट समातिएपछि न्युजिल्यान्डको विकेट खस्न थालेकोथियो । त्यसपछि ब्याटिङमा आएका विजे वाटलिङ १८ रन बनाएर पवेलियन फर्किए भने मार्क क्राएग १ रनमा आउट भए ।१ सय ७९ बलमा ७ चौका र २ छक्कासहित ७१ रन बनाएका सन्टनरलाई अश्विनले रोहित शर्माको हातबाट क्याच गरेका थिए । इश सोधीले १७ जोडे भने ट्रेन्ट बोल्ट २ रनमा अविजित रहे ।

‘सन्टनर र रोन्चीले उत्कृष्ट ब्याटिङ गर्दै टोलीमा आशा जगाए,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने, ‘तर भारतले दोस्रो इनिङ राम्रो ब्याटिङ र बलिङ गरे ।’

 


 

प्रकाशित: ११ आश्विन २०७३ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App