१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको मासिक डाटा आय ११३ करोड

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कुल आयमध्ये डाटा खपतबाट मात्रै मासिक एक अर्ब १३ करोड आम्दानी पुर्याएको छ। डाटा खपत उलेख्य वृद्धि हुँदै यसबाट हुने कुल आम्दानी २४ प्रतिशत पुर्याएको छ।

कम्पनीको मुख्य लगानीकर्ता आजियाटाले निकालेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो गत वर्षको सोही अवधिको भन्दा चार प्रतिशतले धेरै हो। गत वर्ष २०१८ को त्रैमासिक वित्तीय विवरणअनुसार कुल आम्दानीको डाटा खपतको प्रतिशत २० प्रतिशत रहेको थियो।

पछिल्लो तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एनसेलको आम्दानी १४ अर्ब १२ करोड १० लाख रुपैयाँ छ। यस आम्दानीमा २४ प्रतिशत डाटा खपतको योगदानलाई हिसाब गर्दा कुल तीन अर्ब ३८ करोड ९० लाखभन्दा धेरै हुन आउँछ।

हाल एनसेलका कुल ग्राहकमध्ये ४६.७ प्रतिशत ग्राहकले डाटा सेवा प्रयोग गर्छन्। वित्तीय विवरणअनुसार हाल एनसेलको ग्राहक एक करोड ६५ लाख चा हजार रहेका छन्। यी ग्राहकको ४६.७ प्रतिशतले हिसाब गर्दा कुल ७७ लाख २१ हजारभन्दा धेरै ग्राहकले डाटा सेवा लिइरहेका छन्। 

कुल आम्दानीमा २४ प्रतिशत योगदान रहेको डाटा खपत यो वर्षको तेस्रो त्रैमासिकमा एक करोड ८६ लाख जिबी

प्रतिग्राहक डाटा खपत दोब्बरभन्दा धेरैले वृद्धि भएको छ। तथ्यांक अनुसार प्रतिमहिना प्रतिग्राहक डाटा खपत आठ सय १८ एमबी पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो खपत तीन सय ६१ एमबी थियो।

शुल्कमा गिरावट, मागमा वृद्घि, स्मार्टफोन प्रयोगकर्ता र ग्राहक संख्यामा वृद्घि लगायत कारणले एनसेल नेटवर्कबाट भएको कुल डाटा खपत बढेको हो। त्यसैगरी, स्मार्टफोनको प्रयोगकर्ता उलेख्य बढेका छन्। तथ्यांक अनुसार एनसेलका ग्राहकमध्ये कुल ५८ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन्। यो गत वर्षको सोही अवधिको भन्दा नौ प्रतिशतले धेरै हो।

एनसेलको कुल डाटा खपत यो वर्षको तेस्रो त्रैमासिकमा एक करोड ८६ लाख लाख जिबी पुगेको छ जुन गत वर्ष सोही अवधिको दोब्बरभन्दा बढी हो। गत वर्ष तेस्रो त्रैमासिकमा कुल खपत ७७ लाख जिबी थियो। इन्टरनेट खपतमा भएको वृद्घिसँगै एनसेलको डाटाबाट हुने आम्दानी र कुल आयमा डाटाको योगदान बढेको आजियाटा प्रतिवेदनले देखाएको छ।

गत वर्षमा एनसेलका ग्राहकले कुल दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका थिए। उसको वित्तीय विवरण अनुसार २०१६ मा कुल डाटा खपत एक करोड २० लाख जिबी थियो। त्यसैगरी, एनसेलको २०१५ को डाटा खपत ५३ लाख जिबी रहेको उल्लेख छ।  

एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सेवा सुरु गरेसँगै डाटा खपत बढेको बताएको छ। एनसेलले २०१७ जुनमा फोरजी सेवा सुरु गरेको थियो। हालसम्ममा देशका विभिन्न २१ सहरहरुमा फोरजी सेवा पुर्याइसकेको छ भने थ्रिजीको विस्तार पनि मुलुकभर गरिरहेको छ। 

गत वर्षको सोही अवधिको तुलनामा एनसेलको कुल आम्दानी भने घटेको छ। गत वर्ष सोही अवधिमा एनसेलको कुल आम्दानी १४ अर्ब ५७ करोड पुगेको थियो। एनसेलको मात्र होइन पछिल्लो समय नेपाल टेलिकम लगायत सेवा प्रदायकको वृद्धिदरमा ह्रास आएको छ।

मुलुकमा ओभर द टक (ओटिटी) सेवाको प्रभाव बढ्दै जाँदा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आम्दानी वृद्धिदरमा कमी आएको हो। ओटिटी सेवाहरु––भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, इमो, स्काइप –– प्रयोग गरेर अन्तर्राष्ट्रिय कल बढेपछि मुलुकमा सञ्चालनमा रहेका सेवा प्रदायकको आम्दानीलाई असर गरेको सेवा प्रदायकहरुको भनाइ छ। आजियाटाका अनुसार, फोरजी सञ्चालन र डाटा आयमा वृद्घिले एनसेलको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा आएको गिरावटलाई केही राहत दिएको छ।

प्रकाशित: १३ मंसिर २०७५ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App